विराटनगर फाईनलमा, चितवनसँग उपाधि प्रतिस्पर्धा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-बुटवल ब्लाष्टर्सलाई व्याक टु ब्याक पराजित गर्र्दै विराटनगर टाईटान्स नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल)को दोस्रो संस्करणको फाईनल प्रवेश गरेको छ । लिगचरणका खेलमा कमजोर देखिएको विराटनगरले प्ले अफमा पुग्न बुटवललाई नै पराजित गरेको थियो । नेट रनरेटमा काठमाडौंलाई पछि पार्दै माथि उक्लिएको विराटनगरले बुटवलमाथि जित निकाल्दै फाईनल प्रवेश गर्यो ।

लिग चरणमा विराटनगर कमजोर देखिएको थियो । लिगचरणको अन्तिम खेल अघि केवल २ अंकमा रहेको विराटनगरले बुटवलाई पराजित दोस्रो जित निकाल्यो । प्ले अफमा सम्भावना बनायो । बुटवल ब्लाष्टर्सलाई पोखरा क्रिकेट मैदानमा बिहीबार २१ रनले पराजित गर्दै विराटनगर टाईटान्सले उपाधि निकट पुग्ने भाग्यमानी टोली बन्यो । उपाधिको लागि चितवन राईनोजले नयाँ प्रतिस्पर्धी पाएको हो । चितवन दोस्रोपटक फाईनल खेल्ने छ । पहिलो संस्करणमा पोखरा पल्टनसँग फाईनलमा पराजित चितवन उपविजेतामा चित्त बुझाएको थियो ।

बुटवलले जितको लागि अन्तिम दुई ओभरमा २६ रनको खाँचो थियो । १९ औं ओभरमा जितेन्द्र मुखियाले मेडन ओभर फाले । क्रिजमा थिए अविनाश बोहोरा । बोहोराले मुखियाको बल खेल्नै सकेनन् । ६ बल नै डट खेलेपछि सम्भावित जितबाट बुटवल टाढिसकेको थियो । अन्तिम ओभरमा पुनित मेहराले बुटवल ब्लाष्टर्सका कप्तान सोमपाल कामीको विकेट लिएपछि विराटनगरले २१ रनले जित निकाल्दै फाईनलको ढोका खोल्यो । अघिल्लो दिन बुटवलाई नै पराजित गरेर प्ले अफको सम्भावना बनाएको विराटनगरले बुटवलमाथि पराजित गरेरै उपाधि निकट पुग्यो ।

१६६ रनको लक्ष्य पछेयाएको बुटवललाई अफ्ताबुद्धिन अहमदले उत्कृष्ट शुरुवात गरे । उनको विकेट गुमेसँगै बुटवलले थप ५ रन जोड्ने क्रममा ३ विकेट गुमाउन पुग्यो । अहमद ४३(२२) मा गुमाएको बुटवलले त्यसपछि शंकर राना ४ र हर्ष टंकलाई २ रनमै पवेलियन फर्किएपछि बुटवलले सम्भावित जितको लागि संघर्ष गर्नुपर्ने परिस्थिति देखियो । अहमदले २२ बल खेल्दै ६ चौका र २ छक्का हिर्काए ।

यद्यपी मध्यक्रमका व्याट्सम्यान भीम सार्कीले लोभलाग्दो प्रदर्शन गर्दै जितको आधार तयार पार्ने सम्भावनालाई जिवितै राखे । ४४ रन बनाउँदा किशोर महतोको बलमा आउट हुन पुगे । उनको पतनसँगै बुटबलका व्याट्सम्यानले आशालाग्दो प्रदर्शन गर्न सकेनन् । उनले पनि ३४ बलको सामना गर्दै ३ चौका र २ छक्का हिर्काए । शिव्म सिंहले १४, पुरन विकले १५ रन बनाए । पुनित मेहेरा र सहबाव आलमले ३–३ विकेट लिएपछि बुटवल प्लाष्टर्स २० ओभर टुंगिदाँ १४४ रनमा समेटिन पुग्यो ।

टस हारेर व्याटिङ शुरु गरेको विराटनगरले ओपनर सुनिल धमलाले उत्कृष्ठ व्याटिङ गर्दै ६१ रनको अर्धशतकीय पारीमा १६५ रन बनाएको थियो । नमस्ते पोखरा प्रिमियर लिगमा बुटबल विरुद्धको प्ले अफमा उनको यो उत्कृष्ट प्रदर्शन हो । यसअघि उनको व्याटबाट खासै रन भने निस्किएको थिएन् ।

टस हारेर क्रिजमा उत्रिएको विराटनगर टाईटान्सले पहिलो विकेटको रुपमा मोहम्मद जैद आलमलाई गुमाउन पुग्यो । ३९ रनको साझेदारी निभाईरहदाँ आलम व्यक्तिगत २० रनमै आउट भए । अर्का ओपनर सुनिल धमलालाई साथ दिन लोकेश बम मैदान छिरे । उनीसँग २८ रनको साझेदारी बन्यो । तेस्रो विकेटको लागि धमलाले पुनित मेहरासँग ४७ रनको साझेदारी गरे । धमलाले ६१ रन बनाउने क्रममा ५४ बल खेले । ६ चौका र २ छक्का हिर्काए । बलमे १९ (१६), पुनित मेहरा १९(२१) रन बनाए । कप्तान प्रदीप ऐरी अविजित रहने क्रममा ३३ रन बनाए । उनले १३ बल खेल्दै १ चौका र ४ छक्का हिर्काए । विराटगरका बलर आलम म्यान अफ दि म्याच घोषित भए ।