गण्डकी प्रदेशले एमएमकपमा मलेसियनसँग प्रतिस्पर्धा गर्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्नु पूर्व नै मलेसियन टोलीको भेट गण्डकी प्रदेश क्रिकेट टिमसँग हुने छ । गण्डकी प्रदेश क्रिकेट टिमले मलेसियासँग आगामी २९ गते इनरुवामा प्रतिस्पर्धा गर्ने छ । आगामी माघको दोस्रो सातामा मलेसियन टोलीसँग नेपाली घरेलु राष्ट्रिय टोलीले तीन दिन एकदिवसीय प्रतिस्पर्धा गर्ने कार्यक्रम तय गरिएको छ ।

गण्डकी प्रदेश क्रिकेट टोलीले इनरुवामा आयोजित मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताको लागि शुक्रबार प्रस्थान गरेको छ । टोलीले मंगलबार मलेसियन टोलीसँग दोस्रो खेल खेल्ने छ । पहिलो खेल भने सुदुरपश्चिम प्रदेशसँग खेल्दै एमएम कपको शुरुवात गर्ने छ ।

गण्डकी प्रदेश टिमको नेतृत्व गोविन्द प्रधानले गर्ने छन् । उपकप्तान विधान श्रेष्ठ छन् । खेलाडीहरुमा दिपेश खत्री, विपिन खत्री, मुस्कान थापा, अमृत गुरुङ, किशोर महतो, दिपेश श्रेष्ठ, विशाल पौडेल, प्रविन ढकाल, चन्द्रकान्त पौडेल, रमेश बस्नेत र सुबास भण्डारी रहेका छन् । प्रशिक्षकमा रिजन प्रजु रहेका छन् । गण्डकी प्रदेशको यो दोस्रो सहभागिता हो । टिम व्यवस्थापकमा कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुंग रहेका छन् ।

दोस्रो पटक एक दिवसीय क्रिकेट खेल्न इनरुवा प्रस्थान गरेको प्रदेश टोलीका सहभागित खेलाडी आफैंले खर्च जुटाएका छन् । आफनै खर्चमा टोलीका खेलाडीहरु गतवर्ष झैं प्रस्थान गरेका हुन् । गत वर्ष जिल्ला क्रिकेट संघ कास्कीले एक तर्फी भाडा भने उपलब्ध गराएको थियो । प्रदेश क्रिकेट संघ गण्डकी गठन भएपनि खेल्न जाने टोलीलाई संघको सहयोग भने छैन् ।

‘जर्सी आयोजकले दिने छन् । तर भाडा भने खेलाडी आफैंले उठाएर खेल्न जाँदै छौं ।’ कप्तान गोविन्द प्रधानको भनाई थियो । उनका अनुसार विभिन्न जिल्लामा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिताको लागि खेलाडी आफैंले खर्च जुटाउँदै खेल्नजानुपर्ने बाध्यता एवं पीडा छ । आतेजाते भाडा खेलाडी आफैंले हाल्नुपर्ने परिस्थितिले समस्या थपिएको उनको गुनासो थियो ।

यसैबची मनमोहन स्मृति एकदिवसीय क्रिकेटको लागि इनरुवा प्रस्थान गरेको गण्डकी प्रदेश टोलीलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रयाक हस्तान्तरण गरेका छन् । १४ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहित १७ थान ट्रयाक शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा आयोजित कार्यक्रममा क्रिकेट कप्तान प्रधानलाई मुख्यमन्त्री गुरुङले हस्तान्तरण गरिएको थिए । मुख्यमन्त्री गुरुङले जितको शुभकामना समेत व्यक्त गरे । जर्सी वाईन किंगले प्रायोजन गरेको हो ।