तेस्रो‘अमन स्मृति कप’, गोदामे ह्याट्रिकमा आयोजक सेतोको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-भ्याली स्पोर्ट्स क्लब रामबजारको आयोजनामा सञ्चालित तेस्रो ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता’ मा आयोजक पहेंलोले चाउथे एफसीलाई ३–२ गोल अन्तरले हराउदै अन्तिम आठ पक्का बनायो । भ्यालीको जितमा समीर कार्कीले २ तथा अनिल गुरुङले १ गोल गरे । अनिलले खेलको १२ औ मिनेटमा गोल गरेका थिए भने कार्कीले खेलको ३६ औ र ३९ औ मिनेटमा गोल गर्दै भ्याली पहेँलोलाई जित निकाल्न नायकत्व भूमिका खेले ।

पोखरा महानगरपालिका –१५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा भएको प्रतिस्पर्धामा अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा चाउथेले खेल शुरु भएको ३ मिनेटमा गोल गर्दै अग्रता लिए पनि खेलमा सम्हालिन नसक्दा हार व्यहोर्न पुग्यो । चाउथेको लागी जीवन रायमाझीले खेलको ३ र ४१ औँ मिनेटमा गोल फर्काए ।

दोस्रो खेलमा संगम एफसीले लेकसाइडलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वारफाईनलमा प्रबेश गर्याे । संगमको जितमा बेलप्रसाद गुरुङले खेलको १९ औ मिनेटमा गोल गरे । त्यस्तै सुमित श्रेष्ठले २९ औ मिनेटमा अर्जुन रानामगरले ३६ औ र टंक गुरुङले खेलको ४२ औ मिनेटमा गोल गर्दै सहज जित निकाले ।

यस अघि खेलको १२ औ मिनेटमा लेकसाइडका लागी संजय बुढाथोकीले गोल गर्दै अग्रता लिए पनि खेलमा सम्हालिन नसक्दा हार व्यहोर्यो । तेस्रो खेलमा भ्याली सेतोले एसएन ब्रदर्स माथी ७–२ को गोलको इज्जतिलो नतिजासहित अन्तिम आठमा पुग्यो । भ्याली सेतोको जितमा सुनिल गोदामेले सवार्धिक ५ गोल गरे । उनले खेलको ७ औ मिनेटमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरे उनले खेल शुरु भएको ५ औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाए । उनले एक मिनेट भित्र दुई गोल गरेका थिए । त्यस्तै खेलको ३० र ३६ औ मिनेटमा थप एक एक गोल गरे । भ्यालीका लागी अजय श्रेष्ठले खेलको ६ र २८ औ मिनेटमा १÷१ गोल गरे ।

एस एन ब्रदर्सको लागी बुद्ध गुरुङले दुई सान्त्वना गोल फर्काए । उनले खेलको ३० र ३७ औ मिनेटमा गोल गरेका थिए । प्रतियोगिताको अन्तिम प्री–क्वाटरफाइनल खेलमा तारा एफसीले एम–१२ लाई २–० गोलले पराजित गर्याे । ताराको जितमा शिव सुवेदी र हरि गुरुङले समान एक एक गोल गरे । सुवेदीले खेलको १९ औ मिनेट र गुरुङले २२ औ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।