पारा टेबल टेनिसमा विराटनगरका नामसान बने ‘च्याम्पियन अफ दि च्याम्पियन्स’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालामा आयोजित प्रथम राष्ट्रिय पारा टेबल टेनिसमा च्याम्पियन अफ च्याम्पियन्स विराटनगरका नामसान राई बनेका छन् । उनले पोखराका रुक गुरुङलाई ११–७, ११–९, ७–११ र ११–६ को सेटमा पराजित गर्दै च्याम्पियन्स बने । च्याम्पियन्स तर्फको प्रतिस्पर्धा भने खुला थियो । काठमाडौंका अजय विक, विराटनगरका अभिषेक झा भने तेस्रो स्थानमा रहे ।

शारीरिक अपांग टेवल टेनिस संघ नेपालको आयोजना तथा कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा आयोजित प्रतियोगिताको आईतबार भएको फाईनल अन्तर्गत ह्वील चियर महिला इभेण्टको ट्रफी भने काठमाडौंकी लाली तामाङले जितिन् । उनले काठमाडौं कै सोनिका ढकाललाई ११–४, ११–५ र ११–६ को सेटमा पराजित गर्दै नगद २ हजार ५ सय सहितको ट्रफी आफनो नाममा लेखाईन् ।

महिला तर्फ नै स्ट्याण्डिङ प्रतिस्पर्धामा दाङकी अस्मिता बुढामगरले काठमाडौंकी विनिता मगरलाई ११–३,, ६–११, ११–४ र ११–३ को सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाईन् । पुरुष तर्फ स्ट्याण्डिङ प्रतिस्पर्धामा विराटनगरका विवेक राईले बेष्ट अफ फाईभ खेल्दै उपाधि आफनो नाममा राखे । उनले रोल्पाका लोकबहादुर केसीलाई ११–८, ११–८, ७–११, ८–११ र ११–८ को सेटमा पराजित गरे ।

पुरुष ह्वील चियर तर्फको प्रतिस्पर्धामा काठमाडौंका केशब थापाले पनि उपाधि उचाले । काठमाडौंका दिगम चेम्जोङलाई १२–१०, ६–११, ९–११, ११–८ र ११–५ को सेटमा पराजित गरेका थिए । प्रतिस्पर्धामा ६ जिल्लाका ९० खेलाडी सहभागि थिए छन् । दुईदिनसम्म चल्ने प्रतियोगितामा विभिन्न पाँच इभेण्ट मा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा कास्की, दाङ, रोल्पा, विराटनगर, धनगढी र काठमाडौंका खेलाडीहरुको सहभागिता रहेको थियो ।

विजेता खेलाडीहरुलाई एसओएसका निर्देशक भरतकुमार श्रेष्ठ, शारीरिक अपांग टेबल टेनिस संघ नेपालकी महासचिव अमृता ज्ञवाली तथा कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी लगायतले ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । विजेताले नगद २ हजार ५ सय, उपविजेताले १५ सय र तेस्रो स्थानमा रहने खेलाडीले ८ सय ५० रुपैयामा प्राप्त गरेका छन् ।