बुटवलसंग आयोजक पहेलों पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखराको प्रतिष्ठित सामाजिक संस्था बगर भाईखलकको आयोजनामा “तेश्रो रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को दोश्रो दिन आयोजक बगर भाइखलक ‘पहेलो’ पाहुना टिम बुटबलसँग पेनाल्टी सुटआउटमा पराजित हुन पुगेको छ ।

निर्धारित समय १–१ गोलको बराबरी खेले पनि निर्णायक पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित भएको हो । आयोजक बगर भाइ खलकका लागि दक्ष गुरुङले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिए पनि ४८ औं मिनेटमा बुटवलका लागि विश्वास थापाले बराबरी गोल फर्काएका थिए ।

टि वर्गर ललितपुरले सिमरा भेट्रानलाई ९–१ को जित दर्ता गरेको छ । ललितपुरका लागि खेलका म्यान अफ दि म्याच समेत रहेका शुक्र तामाङले ह्याट्रिक गरे । उनले एक्लैले ४ गोल गरेका थिए । ललितपुरकै अर्को टिम भनिमञ्डलले विरगञ्ज यूथ एकेडेमीलाई ४–० ले पाखा लगाएको छ । खेलमा भनिमञ्डलका लागि तेज बहादुर कलामी मगरले ह्याट्रिक गरेका थिए ।

दिप युनाइटेड पोखरा हेटौडा रातोसँग ४–० गोल अन्तरले पराजित भएको छ भने पोखराकै अर्को एक भेट्रान टिम एक्स पोखराले पाहुना टोली चितवन निलोमाथी ५–२ गोलले जित दर्ता गरेको छ । खेलमा एक्स पोखराका लागि कुमार शेरचनले ह्याट्रिक गरेका थिए । यसै गरि एक अर्को खेलमा हेटौडा भेट्रान निलोले ऋखंला भलामलाई २–१ ले पाखा लगाएको छ । लेकसाइड पोखरा चावहिल काठमाडौलाई पेनाल्टी सुटआउटमा मा ३–२ ले विजयी भएको छ ।