गण्डकी प्रदेश मुख्यमन्त्री कप ,आदर्श युवा क्लवको विजयी शुरुवात, एन्फा कास्की अध्यक्ष माथि हातपात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशस्तरीय लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा घरेलु टिम आदर्श युवा क्लव कास्कीले बिजयी शुरुवात गरेको छ । प्रदेश लिग कमिटिको आयोजनामा कास्की जिल्ला फुटबल संघको स्थानीय ब्यबस्थापनमा मंगलबारदेखि पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा शुरु भएको प्रतियोगितामा घरेलु टिम आदर्श युवा क्लवले गोरखको बौद्ध हिमाल क्लवलाई ३ १ को फराकिलो अन्तरले हराउँदै बिजयी शुरुवात गरेको हो ।

उद्घाटन खेलमा आदर्श क्लवले पहिलो हाफमा १ गोल गरेको थियो । दोश्रो हाफमा भने आदर्शले थप २ गोल थप्यो । आदर्श युवा क्लवले खेलको २७ औं मिनेटमा गोलको खाता खोलेको थियो । कास्कीका समीर कार्कीले गोल गर्दै अग्रता दिलाएका हुन् । एकतर्फी दवाब दिएको खेलमा आदर्शका लागि सुमित श्रेष्ठले ५१ औं र ५२ औं मिनेटमा अजय श्रेष्ठले गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

बौद्ध हिमाल क्लवका लागि सन्दिप श्रेष्ठले सान्त्वना गोल गरेका थिए । उनले खेलको ६५ औ मिनेटमा गोल फर्काएका थिए । प्रतियोगिता अन्तर्गत बुधबार ३ खेल हुने प्रतियोगिता संयोजक कृष्णबहादुर थापाले जानकारी दिए । उनका अनुसार बुधबार होराइजन क्लव स्याङ्जा र गैंडाकोट खेलकुद विकास समिति नवलपुर, त्रिवेणी क्लव लमजुङ र डाँफे युवा क्लव मनाङ तथा भीमाद क्लव तनहुँ र बागलुङ जिल्ला फुटबल संघ आमनेसामने हुनेछन् ।

प्रतियोगिताको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए । प्रतियोगितामा बिजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागि हुने टिमलाई टिम तयारी स्वरुप नगद ५० हजार समेत प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ ।

एन्फा कास्की अध्यक्ष माथि हातपा
गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन् । गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई हातपात गरेका थिए ।

दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै हातपात गरेका हुन् । मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा सहभागि हुन भनेर सांसद मनाङे कार्यक्रममा पुगेका थिए । आयोजकले उनलाई आसनग्रहणका लागि बोलायो । आसनग्रहणका लागि मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्का भेट भयो । त्यहिबेला सांसद मनाङेले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाएको भनेर प्रश्न गरे । जवाफमा एन्फा अध्यक्ष मिलनले अध्यासका लागि प्र्रदेश प्रहरीको खेल मैदान भनिसकेको बताए । मनाङेले आफ्ना खेलाडीले अझै अभ्यास गर्न नपाएको भन्दै आक्रोस पोखे । त्यो बिचमा दुई जनाबीच केहीबेर भनाभन भयो । करीब ५÷७ मिनेट भनाभन भएपछि मनाङेले एन्फा अध्यक्ष मिलनमाथि हातपात गरेको प्रत्यक्षदर्शीले बताए । मनाङेले मिलनको गालामा प्रहार गरेका थिए ।

एन्फा अध्यक्ष मिलन गुरुङले सांसद मनाङेले आफूलाई ३ पटक प्रहार गरेको बताए । अभ्यास मैदान मिलाउँदा मिलाउँदैपनि आफूलाई पिटेको उनको भनाई छ । हामीले अभ्यास मैदानका लागि प्रहरीलाई भन्दिइसकेका छौं,‘उनले भने,‘तर एकहप्ता अघिदेखि आएको टिमलाई हामीले बस्ने र खाने ब्यबस्था गर्न सक्दैनौं, त्यसकै रिस उसले ममाथि पोखेको हो ।’ प्रतियोगितामा बिफोर डे र आफ्टर डे हुन्छ,‘उनले भने,‘त्योबाहेक हामीले टिमलाई ब्यबस्था गर्न सक्दैनौं, जबरजस्ती गर भनेरमात्र हुँदैन ।’  सांसद मनाङेले भने एन्फा अध्यक्ष मिलन गुरुङले झुक्याउने काम गरेकाले झापड हानेको बताए ।