कानूनी उपचार गर्न उजुरी दिन्छु–एन्फा कास्की अध्यक्ष गुरुङ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-मंगलबार गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दिपक मनाङे) बाट कुटिएका कास्की जिल्ला फुटबल संघका कास्कीका अध्यक्ष मिलन गुरुङले कानूनी उपचार खोज्ने बताएका छन् । लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उदघाटन समारोहमै सदस्य गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए ।

हातपात गरेको भोलिपल्टै बुधबार विहान सञ्चारकर्मीसँग कुरा गर्दै फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफुमाथि भएको हातपातको कानूनी उपचार खोज्ने स्पष्ट पारे । ‘हातपातको कानूनी उपचारको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिदैं छु ।’ उनको भनाई थियो । ।’ उनले भने–‘सार्वजनिक ठाँउमा गाली गलौज गरे । मुक्का प्रहार गर्यो । मैले मेरो जिउज्यानको सुरक्षाको लागि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिदैं छु ।’

‘दुख गरेर काम गरेको छु । कहिलो राम्रो भयो होला कहिले कमजोर रह्यो होला ।’ उनको भनाई थियो–‘सम्झाउनुपर्ने ठाँउमा उल्टै मुक्का प्रहार गर्नुभयो ।’ पोखरामा पहिलो पटक मुख्यमन्त्री कप आयोजना गरिएको बताउँदै उनले सार्वजनिक ठाउँमा गाली गलौज गर्दै मुक्का हान्दा आफुले भने संयमता अपनाएको दावी गरे । ‘मैले संयमता अपनाए । प्रदेश सदस्यको हैसियतलाई मर्यादा गरे ।’ उनले भने । उनले गण्डकी प्रदेशको इज्जत जोगाउन आफु संयम बनेको जिकिर गरे ।

‘मंगलबार दिउँसो १ बजे फुटबलको ओपनिङ थियो । कार्यक्रम केही ढिलो भएको थियो । उहाँ (राजीव) केही तनावमा हुनुहुन्थ्यो । मनाङबाट आएको टोलीलाई होटल,ग्राउण्ड नमिलाईदिने भन्दै कराउनुभयो । फुटबलमा डे आफ्टर÷बिफोर हुन्छ । मैले त्यो बारे बुझाउन खोजे । तर पैसा नतिर्ने भन्दै कराए । मैले सहदैं गएँ । उहाँले मुक्का हान्नुभयो ।’ गुरुङले बेलिविस्तार लगाए ।