पोखरा(खेलाडी न्युज)-अन्तिम दिन बिहीबार नेपाल भ्रमणमा रहेको मलेसिया ११ लाई पाँच विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय श्रृखंला क्लिन स्वीप गरेको छ । त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले पाँच विकेटले पराजित गर्दै क्लिन स्वीप गर्दा रोहितकुमार पौडेलको उत्कृष्ट लय फेरी एक पटक पोखराको क्रिकेट मैदानमा देखियो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भईरहेको एक दिवसीय खेलको अन्तिम दिन रोहितले ८१ रनको इनिङ्स खेल्दै मलेसियाँले दिएको १५९ रनको लक्ष्यलाई पाँच विकेट गुमाउँदै घरेलु टोलीले पुरा गर्यो । उनले ७० बलको सामना गर्दै अन्वार रहमानको बलमा एलबीडब्लुको धरापमा पर्नु अघि ८ चौका र ४ छक्का हिर्काए । दिपेन्द्र सिंह ऐरीले कप्तानी सम्हालेको खेलमा व्यक्तिगत २८ स्कोर बनाए । उनले २४ बल खेल्ने क्रममा ५ चौकार १ छक्का हिर्काएका थिए । लोकेश बमको पनि प्रदर्शन सम्मानयोग्य नै रह्यो । उनले २६ रन बनाए । २७ बल खेल्दै दुई चौका र दुई छक्का हिर्काए । ओपनर सुनिल धमला ५ रनमा आउट हुँदा अर्का ओपनर कुशल भुर्तेलले खाता खोल्नबाट चुक्न पुगे । मलेसिया ११ का विजय उन्नीले २, देबेन्द्र मोगन, मोहम्मद हफिज र अनवार रहमानले १/१ विकेट लिए ।
अघिल्ला दुई खेलमा टस जितेर फिल्डिङ रोजेको मलेसियाले बिहीबरा भने टस जित्दै व्याटिङ गर्न मैदान उत्रिएको थियो । मलेसियाले अघिल्लो दुई खेलमा भने अन्तिम खेलमा स्कोर भने बढी बनाउन पुग्यो । ४३.५ ओभरमा अल आउट हुदाँ स्कोर १ सय ५७ रन थियो ।
मलेसिया–११ का ओपनर भुषण सेभले सर्वाधिक ३० रनको योगदान दिने क्रममा ३८ खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । शार्विन मुनियन्डी २२, कप्तान अहमद फैज शून्य, विरनदीप सिंह ९, ऐनूल हकीम ५, सैद अजिज १५, मोहम्मद आरिफ १७ र देवेन्द्र मोगनले २८ रनको योगदान दिए । देबेन्द्र मोगनले ४० बलमा समान २ चौका र छक्का प्रहार गरे ।
क्यान ११ का लागि तीब्र गतिका बलर अभिनाष बोहराले ९ ओभर बलिङ गरे । ३० रन खर्चिए । ३ विकेट आफनो नाममा लेखाए । स्पीनर ललितनारायण राजवंशीले ९ ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट लिए । बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ९.४ ओभरमा ३० रन खर्चिदै २ विकेट लिए । किशोर महतो र कमल सिंह ऐरीको नाममा भने ले १÷१ विकेट लेखियो ।
नेपाली राष्ट्रिय टोलीले यही माघ २२ गतदेखि २९ गतेसम्म त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्रिकेट मैदानमा ओमान र अमेरिकासँग एक दिवसीय त्रिकोणात्मक सिरिज खेल्ने छ । एक दिवसिय त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा रहेका २४ नेपाली खेलाडीसँग तीन एक दिवसिय अभ्यास खेलको ब्यवस्था मिलाएको हो । मलेसिया ११ टोली मनमोहन मेमोरियल एक दिवसिय क्रिकेट प्रतियोगिता खेल्न पुसको अन्तिम साता नेपाल आएको थियो । शुक्रबार मलेसियन टोली काठमाडौं फर्किदैं मलेसिया प्रस्थान गर्ने छ । मलेसियन टोलीले कास्की–११ सित एक दिवसीय खेल खेलेको थियो । तीन खेलको श्रृखंलामा क्लिन स्वीप गरेको नेपाली टोलीलाई गण्डकी प्रदेश सदस्य मोहन रेग्मीले कप्तान ज्ञानेन्द्रलाई ट्रफी प्रदान गरेका थिए ।