एट ए साईडमा अब सेमीफाईनलका खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) –पोखराको प्रतिष्ठित सामाजिक संस्था बगर भाईखलकको आयोजनामा भएको तेश्रो रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बिहीबार प्रिक्वाटर समीकरण पुरा भएको छ ।

बिहीबार सम्पन्न भएको पहिलो खेलमा आयोजक सेतोले हेटौडा भेट्रान निलोलाई ४–२ ले पाखा लगाएको छ । आयोजकको जितका लागि गंगा तामाङले २, मनोज गुरुङ र किरण श्रेष्ठले १÷१ गोल गर्दै ४ गोल गरे । हेटौडाको तर्फबाट भरत तितुङ र नवराज बज्राचार्यले १–१ गोल गरेका थिए । त्यस्तै दोश्रो खेलमा भनि मण्डल ललितपुरले अभिषेक चर्च नवलपुरलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितका लागि भनि मण्डलका तर्फबाट पाण्डव खाती र सुजित केसीले १÷१ गोल गरे ।
एक्स पोखरा भेट्रानले लेकसाइड भेट्रानलाई ४–० फराकिलो गोल अन्तरले पराजित गरेको छ । एक्स पोखराका लागि किसन गौचन र सुरज मल्लले १/१ गोल गरे भने कुमार शेरचनले २ गोल गरे । हेटौडा भेट्रान रातोलाई नाईट किङ सानो गौचरनले २–३ गोलले पराजित ग¥यो । नाईट किङका लागि राकेश श्रेष्ठले २ र जगत लामाले १ गोल गरे । हेटौडा रातोबाट बल बहादुर गुरुङ र विजयलाल श्रेष्ठले १/१ गोल फर्काए ।

बिहीबारको अन्तिम खेलमा मिया सान मियाले जोरपाटी भेट्रानलाई ३–२ ले पाखा लगायो । जितका लागि नविन पाण्डेले २ गोल र कल्याण खड्गीले १ गोल गरे । जोरपाटीको तर्फबाट उमेश लामाले २ गोल फर्काए ।बिहीबार इङ्गल्याण्डका फुटबल कोचतर्फबाट नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स् जोन्स्लाई आयोजकले स्वागत समेत गरेको छ । स्वागत पछि बोल्दै जोन्सले पोखरामा फुटबलको क्रेज देखेर खुशी भएको कुरा व्यक्त गरे । आपसी सम्वन्धलाई सुमधुर बनाउन आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहको भेट्रान फुटवल प्रतियोगीता आयोजना हुँदै आएको छ ।