एन्फाले नियमन नगर्दा कास्कीमाा आर्थिक पारदर्शितामा मनोमानी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ बैकिङ कसुर आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेपछि अखिल नेपाल फुटबल संघ(एन्फा) ध्यानाकर्षण हुदैं विचाराधिन निर्णयमा छ । अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेका गुरुङको आरोप पुष्टि भएपछि मात्रै एन्फाले निर्णय गर्ने जनाएको छ ।

‘अनुसन्धानको लागि पक्राउ पर्दैमा आरोप पुष्टि हुन्छ भन्ने होईन् । आरोप पुष्टि हुनु मुख्य कुरा हो ।’ अखिल नेपाल फुटबल संघ(एन्फा)का प्रवक्ता किरण राईले भने–‘आरोप मात्रै लाग्दा निर्णय गरिहाल्ने अवस्था हुदैन् ।’ प्रवक्ता राईले जिल्ला अध्यक्ष गुरुङ पक्राउ परेको बारेमा भने एन्फाको ध्यानाकर्षण भएको सुनाए ।

आर्थिक पारदर्शिता र सुशासन अखिल नेपाल फुटबल संघ(एन्फा)को मुख्य मर्म हो । जिल्ला संघ र संघमा आवद्ध क्लबहरुको वार्षिक साधारण सभाको प्रतिवेदन, प्रतियोगिताहरुका आयव्यय प्रतिवेदन सबै पेश गर्नुपर्छ । एन्फाले कास्कीलाई क बर्गमा सूचीकृत संघमा राखेको छ । क बर्गमा सूचीकृत फुटबल संघले भने केही वर्षयता वार्षिक पारदर्शिता केवल व्यक्तिको खातामा मात्रै देखिएको छ । अनुगमन र नियमन गर्ने निकाय अखिल नेपाल फुटबल संघ पनि कास्की जिल्ला फुटबल संघको गतिविधि प्रति पछिल्लो केहीवर्ष यता आखाँ चिम्लियो । एन्फाले नियमन नगर्दा कास्की जिल्ला फुटबल संघ ऋणको भूमरीमा फस्यो ।

आर्थिक पारदर्शिता एकातिर छ, अर्कोतिर कास्की जिल्ला फुटबल संघको वार्षिक साधारण सभा हुन सकेको छैन् । उनै अध्यक्ष मिलन गुरुङ सर्वेसर्वा हुन् । कास्की जिल्ला फुटबल संघका उनी वान मेन आर्मी हुन् । वान मेन आर्मी झैं उनले संघले आयोजना गर्ने फुटबलमा सबै जिम्मेवारी आफनै काँधमा लिदैं आएका छन् । अरुको विश्वास कमै गर्थे । अरुलाई सुम्पिएको जिम्मेवारी पनि विश्वास नलागेर आफैंले सम्हाल्थे । हरेक जिम्मेवारी आफनो काँधमा लिदाँ वान मेन आर्मीसँगै हिटलर जस्तै व्यहार उनको छ । हरेक निर्णयसँगै विधि विधान उनको अनुसार चल्ने गरेको छ । आफनो कुरा नसुन्ने र नमान्नेलाई झपार्न कुनै कसर बाँकी राख्दैनन् । कास्की जिल्ला फुटबल संघका पदाधिकारी उनको अगाडि गरुढको छायाँ परे झैं छन् । पदाधिकारी तथा सदस्यहरु उनको अगाडि पर्न समेत चाहदैनन् ।

संघको जिम्मेवारी दुई वर्ष अघि उनको नेतृत्वमा आयो । बहुमतले निर्वाचित भए । उनको हैकम अझै बढ्यो । संघको बैठक र छलफल हुदैन् । भएपनि अध्यक्षले बोलेपछि प्रतिप्रश्न कसैको हुदैन् । उनले गरेको निर्णय नै सर्वोपरी हुदैं आएको छ । बैठकपछि माईन्युट गर्ने प्रचलन भने कास्की जिल्ला फुटबल संघमा छैन् । अध्यक्षले बोलेको नै अन्तिम निर्णय हुदैं आएको छ । प्रतियोगिताहरु आयोजना गरी टुग्याए । तर आर्थिक पारदर्शिता गर्नुपर्ने दायित्व र जिम्मेवारी पुरा भने कास्की जिल्ला फुटबल संघले गरेन् ।

आर्थिकतामा समेत उनले वान मेन आर्मी नै बनेर उभ्भिने गरेका छन् । आफैं पैसा उठाउने, आफैंले खर्च गर्ने । खर्च व्यक्तिगतमा रह्यो । टिम व्यवस्थापनदेखि आवासमा समेत उनले आर्थिक पारदर्शिता गर्नबाट अध्यक्ष आफु पनि चुके र सिंगो कास्की जिल्ला फुटबल संघलाई पनि घानमा हाले । पाईलैपिच्छे उधारोले कास्की जिल्ला फुटबल संघको गरिमामाथि धब्बा लगाईदिएका छन् ।

विजेताले पुरस्कार नपाउन अर्को गुनासो छ । त्यसको जिम्मेवारी स्वयं अध्यक्ष मात्रै नभई कास्की जिल्ला फुटबल संघ कार्यसमिति नै मुछिएका छन् । प्रतियोगितामा पुरस्कार नपाएको गुनासोको विषयमा धेरै चर्चा हुदैं आएपनि त्यस विषयमा केन्द्रीय संघले पनि कास्की जिल्ला फुटबल संघलाई दबाव दिने तर्फ सन्देह राख्यो । त्यसले पनि कास्की जिल्ला फुटबलको गरिमालाई घटाउन प्रेरित गर्यो ।

जिल्ला लिग विजेताले पुरस्कार रकम नपाएको गुनासो छ । विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना भयो । त्यसको विजेताले पनि पुरस्कार वापतको रकम पाएका छैनन् । रेफ्री तथा अन्य कास्की जिल्ला फुटबल संघका पदाधिकारी एवं सदस्य र सहयोगीले भात खाए । भात खाएको विल पनि धेरै नै निक्कियो । भात खाएको पैसा माग्दा भात खुवाउनेलाई अल्झाई राख्ने कास्की जिल्ला फुटबल संघको नियति नै बन्यो ।

पोखरामा मंसिरमा दक्षिण एशियाली खेलकुद प्रतियोगिता समेत आयोजना गरियो । पोखरा रंगशालामा महिला फुटबल प्रतियोगिताको लागि राष्ट्रिय टोली पोखरा तयारी गर्न आएको थियो । उनै अध्यक्ष गुरुङले आफैं होटल व्यवस्थापन गरे । होटलले पनि चार दिन राखेपछि पेश्की माग्यो । पेश्की मागेपछि उस्तै गरी झर्किए । उनको झकाई र थकाईले होटल सञ्चालकले राष्ट्रिय महिला टोलीलाई निकाल्न बाध्य भए । यी केही महत्वपूर्ण आर्थिक पारदर्शिता नभएका घटनामा जोडिएका दृष्य हुन् । सागकै तयारीको क्रममा उनको झकाई र थकाई गण्डकी प्रदेश सदस्य मोहन रेग्मीले पनि व्यहोर्न पुगे । फुटबल प्रतियोगिता आयोजना गर्दा तिर्नुपर्ने रकम बक्यौता छ । बक्यौता रकम माग्दा उल्टै कुटपिटसँगै ढुंगाले हान्ने तयारीको हर्कत समेत गरे । हरेक ठाँउमा गरेको उधारो कारोबारले उनलाई अन्तत प्रहरी नियन्त्रणसम्म पुर्यायो ।

‘एन्फाले नियमन गर्ने हो । तर आर्थिक पारदर्शिता र वार्षिक साधारणको बारेमा जानकारी छैन् ।’ अखिल नेपाल फुटबल संघ(एन्फा)का प्रवक्ता किरण राईले भने–‘प्रचलित कानून अनुसार जिल्ला प्रशासन कार्यालयमा संघको विधान दर्ता, क्लब दर्ता गर्नुपर्ने निर्देशन गरिसकेका छौं । केही जिल्लाले कार्यान्वयन गरेका छन् ।’ उनका अनुसार हिजोको अवस्था भन्दा पनि नयाँ निर्वाचित एन्फाले विधान संशोधन गर्दै नियमन गर्नको लागि कार्यविधि तयार गरेको उल्लेख गरे । प्रदेश लिग मुख्यमन्त्री कप आयोजक प्रदेश लिग कमिटिले भने आफनो कोषाध्यक्षको विरुद्ध हातपात गरेको सन्दर्भमा विरोधको विज्ञप्ति समेत निकाल्न सकेन् । लिग आयोजक कमिटिका कोषाध्यक्ष मिलन गुरुङलाई गण्डकी प्रदेश सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङेले हातपात गरेका थिए । pic source by-afna.com