प्याराग्लाईडिङमा नेपाली सेनाको प्रवेश

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २१ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-गत चैत–बैशाखमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरियो । पोखरामा प्याराग्लाईडिङको आयोजना गरियो । आठौं राष्ट्रिय प्रतियोगितामा प्याराग्लाईडिङमा नेपाली सेनाले पहिलो पटक आफनो उपस्थिति जनायो । त्यसभन्दा अघि प्याराग्लाईडिङमा आर्मीको उपस्थिति थिएन् । आठौंमै प्याराग्लाईडिङलाई समावेश गरिएको थियो । आर्मीले नेपाली खेलकुदमा हरेक क्षेत्रमा आफनो दरिलो उपस्थिति जनाईरहेको छ । त्यसको पछिल्लो उदाहरण बनेको छ प्याराग्लाईडिङ । नेपाली खेलुकदमा महत्वपूर्ण योगदान दिदैं आएको आर्मीको प्याराग्लाईडिङप्रतिको चासो भने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राप्त सफलता पछि नै हो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि आर्मीको प्याराग्लाईडिङमा उपस्थिति अन्तराष्ट्रिय प्रतिस्पर्धासम्म पुगेको छ । आठौंमा स्वर्ण पदक जितेका आर्मी(अनुबन्धन गरिएका) सागर जलारी अहिले अन्तराष्ट्रिय प्रतिस्पर्धाको तयारीमा छन् । अन्तराष्ट्रिय प्रतिस्पर्धाको तयारीमा रहेका जलारी अहिले नेपाली सेनामै प्याराग्लाईडिङ सिकाउने प्रशिक्षक समेत हुन् । उनै जलारीको प्रशिक्षणमा अहिले २३ जना विभिन्न दर्जाका सेनाले प्याराग्लाईडिङ प्रशिक्षण गरिरहेका छन् । जलारी आगामी फागुन ११ गते पोखरामै आयोजना हुने ‘प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुर २०२०’मा उपस्थिति जनाउँदै छन् । अन्य विभागीय टोलीको चासो भने कम छ । नेपाली सेना भन्दा अघि पोखरामै आयोजना हुने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतिस्पर्धामा विभिन्न प्याराग्लाईडिङ कम्पनीको पाईलटको उपस्थिति हुदैं आएको छ ।

अहिले २० पुरुष र ३ महिला गरी २३ जना प्याराग्लाईडिङ प्रशिक्षण लिईरहेका छन् । ‘गत भदौदेखि मात्रै हामीले प्याराग्लाईडिङको प्रशिक्षण शुरु गरेका हौं ।’ पश्चिम पृतना तालिम शिक्षालयका शिक्षाकृत अर्जुन बस्नेतले भने–‘नेपाली सेनाका सबै गण तथा बाहिनी एवं पृतनाबाट छनोट गरिएकोहरुलाई प्याराग्लाईडिङ प्रशिक्षण शुरु गरिएको हो ।’ प्रशिक्षण गर्न पाईटलले कास्कीकोटको तोरीपानीदेखि उडान भर्दै फेवाताल किनार चंखपुरमा अवतरण गर्दै आएका छन् । प्रशिक्षक जलारीले अहिले उडान र अवतरण मात्रै प्रशिक्षण गराईराखिएको बताए । ‘अब एडभान्स प्रशिक्षण गर्नुपर्ने छ ।’ उनले भने ।

अबको केही महिनाभित्रैमा प्याराग्लाईडिङका २३ पाईलट आर्मीका हुने छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिस्पर्धामा उनीहरुको दरिलो उपस्थिति देखिने छ । अन्य खेलकुदका इभेण्टमा आर्मीको दरिलो उपस्थिति अब प्याराग्लाईडिङमा देखिने सम्भावना छ । शिक्षाकृत बस्नेतका अनुसार अब प्याराग्लाईडिङको विशेष तालिम लिने तयारी छ । ‘प्याराग्लाईडिङको अन्तराष्ट्रिय प्रतिस्पर्धा बढ्दै गएपछि नेपाली सेनाले पनि उपस्थिति जनाउने योजनासहित प्रशिक्षण शुरु गरिएको हो ।’ उनको भनाई थियो । उनले नेपाली सेनाका प्यारासुट भएपनि प्याराग्लाईडिङको आवश्यक उपकरणको अभाव रहेको उल्लेख गर्दै अब भने आर्मीले प्याराग्लाईडिङका आवश्यक उपकरण समेत व्यवस्था गरिसकेको स्पष्ट पारे ।

प्याराग्लाईडिङको प्रारम्भिक प्रशिक्षण(आधारभूत तालिम) भने पोखराकै एशियन प्याराग्लाईडिङ एकेडेमीबाट शुरु गरिएको थियो । विभिन्न ठाँउमा सामान्य उड्ने र अवतरण गर्ने आधारभूत तालिम लिईसकिएको उनले बताए । ‘म पनि प्याराग्लाईडिङ प्रशिक्षार्थी हुँ ।’ उनले भने–‘हिजो सागरलाई हामीले अनुबन्धन गरेका थियौं । अहिले नेपाली सेनामै कार्यरत रहँदै प्रशिक्षण दिईरहेका छन् ।’ पूर्वको धरानदेखि लमजुङको राईनासकोट, गोरखाको लिगलिग कोटमा समेत प्रशिक्षणको क्रममा प्याराग्लाईडिङ उडान गरिएको उनले बताए । ‘१३० घण्टा फ्लाईट गरिसकिएको छ ।’ उनले थपे–‘ १८० घण्टा उडान गरेपछि परिपक्क पाईलट बनिने छ ।’

प्याराग्लाईडिङमा विशेष गरी एक्युरेसी, क्रसकन्ट्री विधामा एकल र टिम इभेण्टमा प्रतिस्पर्धा हुने गरेको छ । आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामै आयोजना हुने छ । २०७७ साल फागुन २० गतेदेखि २७ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भईसकेको छ । मिति तयसँगै नेपाली सेनाले प्याराग्लाईडिङको लागि आफनो बर्चस्व कायम गर्ने तर्फ ध्यान दिईसकेको छ । विधागत रुपमै प्रशिक्षणरत नेपाली सेनाका प्यारा पाईलटलाई त्यही अनुसार प्रशिक्षण गराउने योजना नेपाली सेनाको रहेको शिक्षाकृत बस्नेतले सुनाए । उनका अनुसार कम समय उडान भर्ने पाईलटलाई एक्युरेसी तर्फ जोड दिईने छ । लामो समय र उचाईमा पुग्न पाईलटलाई क्रसकन्ट्री विधामा अगाडि सारिने नेपाली सेनाको योजना छ । file pic