पोखरामा आईटिएफ जुनियर टेनिस प्रतियोगिता हुदैं

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-अन्तराष्ट्रिय टेनिस फेडेरेशन(आईटिएफ)को जुनियर यु–१८ सर्किट–१ टेनिस प्रतियोगिता पोखरामा शनिबारदेखि शुरु हुदैं छ । औपचारिक खेल भने सोमबारदेखि शुरु हुने छ । कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट महिला तर्फ ६ र पुरुष तर्फ ६ गरी १२ खेलाडीले सहभागिता जनाउने छन् ।

गत वर्ष आईटिएफ जुनियर र्याङकिङ टेनिस सर्किट १ र २ पोखरामै आयोजना गरिएको थियो । गतवर्ष भन्दा यो वर्ष सहभागि देशको संख्या भने कम छ । यो वर्षको प्रतिस्पर्धामा विभिन्न १९ देशका खेलाडी सहभागि हुने प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सुर्य भुजेलले बताए । ‘टेनिसले पोखराको पर्यटन प्रवद्र्धन नयाँ आयाम थपिएको छ ।’ उनको भनाई थियो ।

नेपाल सहित भारत, सर्विया, अमेरिका,अष्ट्रेलिया, जापान, मलेसिया, कोरिया, सिंगापुर, जर्मन, क्यानडा लगायत १९ देशका ६४ खेलाडीले अन्तिम प्रतिस्पर्धा गर्ने पाउने छन् । महिला तर्फ ३२ र पुरुष तर्फ ३२ जना खेलाडीले अंक प्राप्त गर्नको लागि एकापसमा भिड्ने छन् । ‘टेनिसको व्यवसायिक खेलाडी बन्ने पहिलो खुडकिलो नै यो प्रतियोगिता हो । जहाँबाट खेलाडीले अंक प्राप्त गर्ने छन् । प्राप्त अंककै आधारमा ग्राण्डस्लाम खेल्ने अवसर सृजना हुनेछ ।’ संयोजक भुजेलले बिहीबार पत्रकार भेटघाटमा सुनाए ।

शनिबारदेखि ६४ भित्र पर्नको लागि क्वालिफाईङ प्रतिस्पर्धा हुने छ । दुईदिनको प्रतिस्पर्धाबाट छनोट भएका खेलाडीले र्याङकिङको लागि प्रतिस्पर्धामा उत्रिने संयोजक भुजेलले बताए । पोखराबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यु–१६ का नेहाल जंगबहादुर थापा, श्रेया भट्टराई र सौगात विक छन् । file pic