आईटिएफ विश्व बरियता जुनियर टेनिस, नेपाली खेलाडीको कमजोर प्रदर्शन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-यु–१८ नेपालका शीर्ष बरियताका आर्यन गिरी पोखरामा आयोजित आईटिएफ(अन्तराष्ट्रिय टेनिस फेडेरेशन) यु–१८ सर्किट–२ मा प्रतिस्पर्धामा मंगलबार भारतीय खेलाडी आर्यन लक्ष्मणसँग सोझो सेटमा पराजित भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित प्रतियोगताको दोस्रो दिन गिरी भारतीय खेलाडी लक्ष्मणसँग ६–०, ६–१ को सेटमा पराजित हुन पुगे ।

पुरुष एकल तर्फको अर्को प्रतिस्पर्धामा फ्रान्सका एल.फिन्थलाले भारतीय खेलाडी दक्ष प्रसादलाई ६–३, ६–०को सेटमा पराजित गरेका छन् । नेपाली अर्का खेलाडी नेहाल जंगबहादुर थापा जापानका रिहोय मिकाईसँग ६–१, ६–० को सेटमा पराजित हुन पुगे । भारतीय खेलाडी युवान मण्डल मलेसियन खेलाडी एम.के मेननसँग ४–६, ६–२ र ६–१ को सेटमा पराजित भएका छन् । चिनिया खेलाडी क्विङ लिहाओ भारतीय खेलाडी एस. सिधानासँग ६–१, ६–३ को सेटमा पराजित भए ।

महिला तर्फको प्रतिस्पर्धामा जापानीज खेलाडी ओका नागासावाले नेपाली खेलाडी प्रेक्षा श्रेष्ठलाई ६–४, ६–३ को सेटमा पराजित गरेकी छन् । भारतीय खेलाडी राजभी पाञ्चालले नेपाली खेलाडी श्रेया भट्टराईलाई ६–१, ६–०को सोझो सेटमा पराजित गरिन् । नेपालकी शीर्ष बरियताका अभिलाषा विष्टले भारतीय खेलाडी सृष्टी धिरलाई ६–३, ५–७ र ६–२ को कठिन जित निकाल्न सफल भईन् । नेपाली खेलाडी ए.गुरुङलाई मिले चुगले ६–०, ७–६(४)को सेटमा पराजित गरेकी थिईन् । चिनिया खेलाडी हुवाई झाङले नेपाली खेलाडी अजा रेग्मीलाई ६–१, ६–० को सेटले पन्छाईन् ।

एक खेल जितेसँगै खेलाडीले २ अंक प्राप्त गर्ने छन् । प्रत्येक जितको अंक महत्वपूर्ण हुने भन्दै कास्की जिल्ला टेनिस संघका सल्लाहार एवं संयोजक सुर्य भुजेलले अंकले नै उनीहरुको बरियता प्राप्त हुने प्रष्टयाए । फाईनल जित्ने खेलाडीले ३० अंक प्राप्त गर्ने छन् । दोस्रो हुनेले १८ अंक पाउँने छ । सेमिफाईनल पुग्ने खेलाडीको हकमा भने ९ अंक र क्र्वाटरफाईनल प्रवेश गर्ने खेलाडीले ५ अंक पाँउछ । प्रतिस्पर्धामा नेपालका १८ जना खेलाडीको सहभागिता रहेको छ । महिला तर्फ १३ र पुरुष तर्फ ५ खेलाडीले बरियताको लागि अंक जोड्न प्रतिस्पर्धामा छन् । प्रतियोगितामा नेपाल, भारत, जर्मन अमेरिका, कोरिया, फ्रान्स, जापान, चीन, मलेसिया, केन्या, सिंगापुर, हङकङ लगायतका देशका ८४ जना खेलाडीले सिंगल र डबल्स तर्फको प्रतिस्पर्धामा छन् । file pic