पोखरा म्याराथनमा आर्मीका बस्नेतले बनाएको रेकर्ड अझै तोडिएन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा म्याराथनको १४ औं सस्करण आज हुदैं छ । झण्डै वर्षदिनको प्रतिक्षापछि आज म्याराथनले च्याम्पियन पाउँदै टुंगिने छ । पोखरा म्याराथनमा विगाभीय क्लबको बर्चस्व रहँदै आएको छ । धावकहरु म्याराथन च्याम्पियन बन्ने सम्भावनाको खोजीसँगै उत्साह र उमंग छन् ।

१४ औं सस्ंकरणसम्म आइपुग्दा नेपाली सेनाका धावक अर्जुनकुमार बस्नेतको बनाएको रेकर्ड तोडिएको छैन् । बस्नेतले छैटौं म्याराथन(२०६३)को च्याम्पियन बन्दा तेस्रो सस्करणमा नेपाली सेनाकै धावक आनन्दमान श्रेष्ठको समयलाई तोडेका थिए । श्रेष्ठले म्याराथन पुरा गर्न २ घण्टा २५ मिनेट ५ सेकेण्डको समय लगाउँदै बनाएको पोखरा म्याराथनको रेकर्डलाई बस्नेतले तोडेका हुन् । बस्नेतले २ घण्टा २५ मिनेट ०१ सेकेण्डको समयमा पुरा गर्दै रेकर्डसहित च्याम्पियन बनेका थिए ।

पोखरा म्याराथनमा दुई सस्करण नेपाल पुलिसका भूमिराज राई र शसस्त्र प्रहरीका अक्कलबहादुर बोहोरा तथा नारायण थापाको नाममा उपाधि लेखिएको छ । बाँकी सँस्करण भने नेपाली सेनाको धावकको नाममा छ । १४ औं सस्करण काठमाडौंमा नेपाली सेनाले आफनो दिवसको अवसर पारेर आयोजित आर्मी म्याराथनसँग जुधेकोले आर्मीका म्याराथन धावक पोखरा आउने सम्भावना कम छ । यद्यपी पोखरामै रहेको फुलबारी व्यारेक तथा पश्चिम पृतनाका धावकको सहभागिता रहने अपेक्षा गरिएको छ।

म्याराथनको रुटले पोखरा महानगरपालिकाका धेरै वडालाई छुन्छ । तालकिनारदेखि मठमन्दिर, पुल पुलेसीलाई साक्षी राख्दै धावकले ४२.१९५ किलोमिटरको दौडलाई पोखरा रंगशालाभित्र पुगेर टुंग्याउने छन् । विभागीय क्लबका धावकहरुसँगै प्रतिस्पर्धाको लागि विभिन्न जिल्लाबाट म्याराथनको लागि सहभागिता जनाउन पोखरा आईपुगेका छन् । म्याराथनसँगै १०किलोमिटर महिला तथा पुरुष दौड समेत आयोजना हुन्छ । त्यसपछि विद्यार्थीलाई लक्षित गरी ५ किलोमिटर छात्रा तथा छात्र दौड हुने छ । ह्वील चियर दौड, दृष्टिविहीन दौड लगायतका प्रतिस्पर्धा समेत आयोजना गरिने छ।

पोखरा म्याराथन विजेताले २ लाख रुपैयाँ नगद प्राप्त गर्ने छ । दोस्रो हुने धावकले १ लाख रुपैयाँ, तेस्रोमा आउने धावकले भने ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सान्त्वना रुवरुप १५ हजार रुपैयाँ पाउने छन् । १० किलोमिटर महिला तथा पुरुष दौडका विजेताले नगद १५, १०, ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विद्यार्थीको ५ किलोमिटर दौडका विजेता छात्रा तथा छात्रले क्रमश १०, ७ र ४ हजार रुपैयाँ प्राप्त गर्ने छन् । ह्वीलचियर महिला तथा पुरुष दौडका विजेताको हकमा ५, ३ र २ हजार पाउँने छन् । दृष्टिविहीन महिला तथा पुरुष दौडका विजेताले पनि समान ५, ३ र २ हजार नगद पुरस्कार थाप्ने छन् ।

नेपाल भुतपुर्व खेलाडी मञ्चले २०५८ सालदेखि पोखरामा सिटी म्याराथनको अवधारणासँगै ‘पोखरा म्याराथन’को शुरुवात गरेको १९ वर्ष पुग्यो । झण्डै दुई दशक पुग्नै लाग्दा ५ वर्षभने प्रतियोगिता आयोजना हुनै सकेन् । २०६८ सालदेखि ०७१ सालसम्म पोखरा म्याराथनको संस्करण आयोजना हुने सकेन् । २०६५ र २०६६ सालमा समेत म्याराथन स्थगित हुन पुग्यो । २०६७ सालमा नवौं पोखरा म्याराथनको आयोजना भने गैर आवासिय नेपाली(एनआरएन)संघले गरेका थिए । file pic