प्रधानमन्त्री कप छैटौं संस्करण फागनु १८ देखि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ८ गते २०७६ मा प्रकाशित


??

नेपालगन्ज(खेलाडी न्युज)-प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण
फागुन १८ देखि २२ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र मालदिभ्सका शीर्ष क्लबहरुलाई सहभागिताको लागि आमन्त्रण गरिएको छ ।

प्रतियोगिताका विजेतालाई रु. दुई लाख, उपविजेतालाई रु. एक लाख र तृतीय स्थान हासिल गर्नेलाई ५० हजार नगद, ट्रफी र पदकले पुरस्कृत गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी गराए । बिभिन्न विधामा उत्कृष्टलाई पनि नगदले पुरस्कृत गरिनेछ ।

प्रधानमन्त्री कपलाई छैटौं संस्करणदेखि प्रदेश सरकारले अपनत्व लिन लागेको प्रदेश सांसद कृष्णा केसी नमुनाले जानकारी गराइन् । ‘यो प्रदेशकै नम्बर एक प्रतियोगिता भएको हुँदा प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’ सांसद नमुनाले भनिन्–‘आयोजकले सोचेजस्तै साँच्चिकै अन्तर्राष्ट्रिय स्तरमो प्रतियोगिताका रुपमा स्थापित गर्न कुनै कसर बाँकी राखिने छैन ।’ सांसद नमुना मुल आयोजक समितिको संयोजक समेत हुन् । आयोजक बाँके जिल्ला भलिबल संघले दक्षिण एशियामै नम्बर एक प्रतियोगिताका रुपमा स्थापित गर्न उद्देश्यले यसबर्षदेखि जनप्रतिनिधिको संयोजकत्वमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मुल आयोजक समिति तयार गरेको छ ।

मुल समितिमा जिल्लाका उद्योगपति, व्यापारी, चिकित्सक, अधिवक्ता, पत्रकार, शिक्षाकर्मी लगायत नागरिक अगुवा रहेका छन् । यसअघि संघले आयोजना गरेको अन्तरक्रियामा सबैले सघाउने र अपनत्व लिने प्रतिवद्धता जाहेर गरिसकेका छन् । ‘म आफैं भलिबलको खेलाडी, त्यसमा यो राष्ट्रिय खेल, महिला सशक्तिकरणसँग जोडिएको इभेन्ट, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता र आधा दशकदेखि निरन्तर हुँदै आएको प्रतियोगिता भएको हुँदा आयोजकको प्रस्ताव सहर्ष स्वीकार गरेको हुँ ।’ सांसद नमुनाले भनिन्–‘प्रदेश सरकारले अपनत्व ग्रहण गरिसकेको छ, जिल्लास्थित सबै स्थानीय तहले अपनत्व लिन जरुरी छ, र नेपालगन्ज तथा बाँकेजिल्ला निवासी सबैको जिम्मेवारी हो यो प्रतियोगिता सफल पार्न ।’ सांसद नमुना २०५२ सालमा जिल्ला स्तरीय प्रतियोगितामा सहभागि भएर क्षेत्रीय प्रतियोगिताका लागि छनोट भएकी खेलाडी हुन् ।

पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका सचिव भिम ओलीले प्रधानमन्त्री कपलाई केन्द्रिय संघले उच्च प्राथमिकतामा राखेको बताए । ‘यसको स्तरोन्नतिसँगै एशियाली भलिबल महासंघको क्यालेन्डरमा समावेश गर्न संघले पहल गरिरहेको छ ।’ मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष ओलीले भने–‘समग्र बाँके जिल्लाका लागि यो अवसर हो, तसर्थ सबैलाई साझेदारी गर्न आग्रह गर्दछु ।’भलिबल नेपालको राष्ट्रिय खेल भएको हुँदा राष्ट्रिय खेलको प्रवद्र्धन गर्नु सबैको दायित्व र कर्तव्य हुने सचिव ओलीको भनाइ थियो ।

प्रधानमन्त्री कपमा दक्षिण एशियाली खेलकुद(साग)मा रजत पदक जित्ने नेपाली राष्ट्रिय टिमका सम्पुर्ण खेलाडीहरु नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, नेपाली सेना, न्यु डायमन्डबाट सहभागिता जनाउँदै आएका छन् ।
नेपाली तथा विदेशी टिमका सम्पुर्ण खेलाडी तथा अफिसियललाई एक साता चल्ने प्रतियोगितामा आवास, भोजन र यातायातको सुविधा आयोजकले नै व्यवस्थापन गर्नुपर्ने भएको हुँदा यसको आयोजनामा नगद पुरस्कारसहित झण्डै तीस लाख खर्च हुने आयोजक संघका अध्यक्ष ठकुरीले जानकारी दिए । प्रधानमन्त्री कपको विगतका संस्करणहरुमा नेपाल, भारत र बंगलादेशको शीर्ष टिमले सहभागिता जनाइसकेको छन् । पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ क्लब, तेस्रो र चौथोमा भारतीय रेलवे टिम तथा पाँचौंमा नेपाल एपीएफ क्लब च्याम्पियन बनेका थिए ।