बैशाखभित्र स्वीमिङ पुलको टेण्डर गर्छौं –सदस्य सचिव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले आगामी वर्ष (२०७७ फागुन २०–२७) आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशालामा सुटिङ रेन्ज र स्वीमिङ पुल निर्माणको टेण्डर प्रक्रियाको तयारी गरिएको बताएका छन् । ‘माटो परीक्षणको रिपोर्ट आईसकेको छ । हेभी स्ट्रक्चर नबनाउन सुझाव सहित नयाँ बनाउन सुझाव दिएका छौं ।’ उनले खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने–‘बैशाख भित्रमा टेण्डर प्रक्रिया टुग्याउने छौं ।’

स्वीमिङको लागि पोखरा रंगशालाभित्र जग्गा छुट्टाइएको छ । छुट्टाइएको जग्गामा पौडी पोखरी निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले परिषदसँग ४० करोडको बजेटको प्रस्ताव गरेको छ । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी अन्तराष्ट्रिय मापदण्ड अनुसारको स्वीमिङ पुल( पौडी पोखरी) निर्माण गर्न टेण्डर प्रक्रियामा लैजादै छौं । बैशाख महिना नकाट्ला’– उनले भने ।

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीको महिला तथा पुरुष दुवै इभेण्ट पोखरामै आयोजना गरिने छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार पौडी पोखरी २५मिटर चौडाई र ५० मिटर लम्बाईको बनाउनुपर्छ । यद्यपी २५ मिटर लम्बाई र २५ मिटरकै चौडाई समेत अन्तराष्ट्रिय मान्यता प्राप्त हुने इन्जिनियरले बताउँदै आएका छन् । हिटिङको व्यवस्थासहितको स्वीमिङ पुल बनाउने या हिटिङ व्यवस्था नभएको बनाउने भन्ने टुंगो भने लागिसकेको छैन् ।

सदस्य सचिव सिलवालले पौडी पोखरी माथिको छानो हेभी स्ट्रक्चर नबनाउने सुझाव पेश गरिएको बताए । दुर्घटना न्युनिकरण गर्न हेभी स्ट्रक्चर नबनाउन सल्लाह गरिएको उनको भनाई थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुटिङ रेन्ज यसै हप्ताभित्र टेण्डर प्रक्रियामा जाने स्पष्ट पारे । पोखरा रंगशालाभित्रको दक्षिण पश्चिममा निर्माण गर्ने योजना छ । सुटिङ रेन्जको लागि तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको समयमा ५० लाख रुपैयाँको प्रस्ताव पेश गरिएको थियो ।

सरकारी विद्यालयको खाली जग्गा उपयोग गरिने

सदस्य सचिव सिलवालले पोखरामा रहेको सरकारी विद्यालयको जग्गालाई खेलकुदको लागि उपयोग गर्ने सोंच बनाइएको दावी गरे । पोखराको पृथ्वीनारायण क्याम्पस भित्रको मैदानलाई उपयोग गर्ने विषयमा अध्ययन र छलफल गरिने स्पष्ट पारे । ‘पृथ्वीनारायण क्याम्पस र पोखराको अमरसिंह माविको खेल मैदानलाई उपयोग गर्ने तर्फ ध्यान दिएका छौं ।’ उनको भनाई थियो । पोखराकै पशुपति घाटमा क्रिकेट मैदानको लागि उपयुक्त भएको उल्लेख गर्दै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई व्यवस्थित बनाउन टेण्डर प्रक्रियामा लैजाने तयारी गरिएको बताए । परिषदले पोखरा रंगशाला क्रिकेट मैदानको लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । क्रिकेट मैदानको लागि गण्डकी प्रदेश सरकारले पनि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेशका १० जिल्लालाई एउटा न एउटा खेल 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झण्डै एक वर्ष बाँकी छ । एक वर्षको समयावधिमा पूर्वाधार तयार गर्नुपर्ने अवस्था छ । नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कति खेल समावेश गर्ने भन्ने टुंगो छैन् । यद्यपी ३५ खेल नै आयोजना हुने सम्भावना छ । कास्की बाहेक अन्य दश जिल्लालाई एउटा न एउटा खेल आयोजनाको जिम्मेवारी दिईने सदस्य सचिव रमेशकुमार सिलवालले सुनाए ।

‘मनाङ बाहेक सबै जिल्ला घुमे । सबैले एउटा खेल आयोजना गर्ने दिनोस भन्ने आग्रह गरेका छन्’ उनले भने–‘जिल्लालाई एउटा न एउटा खेलको जिम्मेवारी दिने छौं । भव्य रुपमा सम्पन्न गर्ने छन् भन्ने विश्वास छ ।’ कुन कुन खेल जिल्लाले माग गर्छन् त्यो बारेमा यकिन निर्णय भएको छैन् । जिल्लाले मागेको भन्दा बाहेक अन्य खेल भने पोखरामै केन्द्रीत रहेर आयोजना हुने छन् ।

१० औं राष्ट्रिय खेलुकद कर्णाली प्रदेशमा 

एकवर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता टुग्याएपछि दशौं सस्करणको प्रतियोगिता आयोजना कर्णाली प्रदेशमा आयोजना गरिने सदस्य सचिव सिलवालले बताए । ‘पूर्वाधार नभएको ठाँउमा बनाएर खेलुकद सम्पन्न गर्ने योजना छ’ उनले भने–‘पूर्वाधार नभएको ठाँउमा आयोजना गर्नु चूनौति हो । तर भईरहेको ठाँउमा भन्दा नभएको ठाँउमा आयोजना गर्दा पूर्वाधार तयार हुन्छन् । सञ्चार माध्यमले पनि समाचार बनाउँछन् ।’

उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समयमै पूर्वाधार बनाउन प्रदेश तथा स्थानीय तह एवं सरोकारसँग छलफल भएको सुनाए । उनले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता पनि खेलकुदको गतिविधि बढ्दै गएको भन्दै सरकारले खेलकुद क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । ‘नभएको ठाँउमा पूर्वाधार बनाउनुपर्छ । पूर्वाधारको लागि लगानी गर्नुपर्छ’ उनले भने–‘ लगानी अनुसारको प्रतिफल आउँदो रैछ भन्ने भएको छ ।’ विविध विधाका खेलकुद गतिवधि भईरहेको उल्लेख गरे ।