दोश्रो वेगनास कप सुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-महाशिवरात्रीको अवसरमा पोखरा ३१ वेगनासताल किनारमा शनिवार देखि दोश्रो बेगनास खुला सेभेन ए साईड फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा वेगनास समूह बि ले टाईब्रेकरमा ओसियन जिमलाई ४–३ गोलले पराजित गर्यो । त्यस्तै अर्को खेलमा ईन्द्रेणी एफ सि समूह बि ले शान्तिदिप बि लाई २–१ का गोलले हरायो ।

बेगनास युवाक्लवको आयोजना तथा स्थानिय विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा सुरु भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद एवम् अर्थ तथाविकास समितिका सभापति दिपक कोइरालाले खेल क्षेत्रको विकासले समग्र देशको आर्थिक क्षेत्रको विकास हुने भन्दै खेलकुदले भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए । खेल क्षेत्रले सम्बन्धित स्थानको पर्यटन प्रवद्र्धनको विकास गर्नुका साथै स्थानको पनि पहिचान हुने बताए ।

पोखरा महानगरपालिका वडा नं.३१ का वडा अध्यक्ष कमलबहादुर थापा, ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रांगत बराल, लेखनाथउद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा, बेगनासताल पोखरा यातायात प्रालिका संस्थापक अध्यक्ष एवम् वेगनास युवाक्लबका पूर्व अध्यक्ष कृष्णप्रसाद ढुंगाना लगायतले मानिसको जीवनमा खेलको महत्वकावारेमा बोलेका थिए । वेगनास युवाक्लबका अध्यक्ष रामबहादुर रानाभाटले स्वागत गर्दै वेगनास युवाक्लबले गरेका सामाजिक कार्यका वारेमा जानकारी गराउँदै कार्यक्रम माथि प्रकाश पारेका थिए ।

प्रतियोगितामाआईतवार ६ वटा खेल हुने टिम संयोजक सुरेन्द्र पुनले जानकारी दिए।३२ समुहको सहभागीता रहेको प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ५५ हजार ५सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्नेछ।