प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुर, पहिलो दिनको टास्क रद्द

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १२ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-मौसममा आएको एकाएक परिवर्तनले प्याराग्लाईडिङका कुनैपनि पाईलटले सोमबारको टास्क भने पुरा गर्न सकेनन् । टास्क पुरा गर्न नसक्दा प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुरको पहिलो दिन रद्द हुन पुगेको छ । विहानी मौसम चिसो र मध्य दिनमा मौसममा आएको परिवर्तनले ४० किलोमिटरको टास्क पुरा भने हुन सकेनन् । यद्यपी सबै सहभागि पाईलट भने आकाशमा उडिसकेका थिए ।

नेपाल हवाई खेलकुद संस्था नाको आयोजनामा पोखरामा आयोजित प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुरमा सहभागि १९ देशका पाईलटले विहान १० बजेपछि सराङकोट उडान शुरु गरेका थिए । क्रमिक रुपमा उडान भर्दै टास्क पुरा गर्ने तर्फ अगाडि बढेका पाईलटलाई मौसमले रोकिदियो । सराङकोटदेखि उत्तर तर्फ र पश्चिम दक्षिण तर्फ मौसम परिवर्तन हुदैं चिस्यानसँगै बादल लागेपछि टास्क रद्द हुन पुग्यो । क्रसकन्ट्री प्रतिस्पर्धामा प्रत्येक पाईलटले दिइएको टास्क पुरा गर्नुपर्ने हुन्छ ।

८९ जना पाईलट आकाशमै थिए । टास्क पुरा गर्दै वल्र्डकप च्याम्पियन बन्ने पहिलो दिनमै पाईलटलाई मौसमले धोका दियो । अझै पाँच दिनको टास्क भने बाँकी नै छ । ‘सबै पाईलट आकाशमै थिए । मौसम खराब भएपछि अवतरण गर्न सूचित गर्यौं ।’ नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले भने–‘पाईलटलाई दिईएको टास्क पुरा गर्ने सम्भावना नभएपछि पहिलो दिन रद्द गर्यौं ।’ झण्डै १३ सय मिटरको उचाईको सराङकोटको उडान भर्दै ४० किलोमिटर दुरीको टास्क पुरा गर्दै अवतरण गर्नुपर्ने प्रावधान छ । टास्क पुरा गर्ने खेलाडीले अंक प्राप्त गर्ने छन् । अंककै आधारमा वल्र्डकप र्याङकिङ हुने छ । ‘४० किलोमिटरको टास्क थियो । विहान मौसम सफा थियो । दिउँसो बिग्रियो ।’ प्रतियोगिताका संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले भने–‘मौसमकै कारण टास्क पुरा हुने स्थिति नै देखिएन् ।’

पहाडी क्षेत्रमा बाक्लो कुहिरो लागेपछि टास्क पुरा हुने अवस्था नहरेको उनको भनाई थियो । सराङकोटबाट उडान भर्दै कास्कीको नागडाडाँ–अर्मलाकोटको ढिकी डाडाँ तथा पञ्चासे डाडाँमा टास्कमा विन्दु राखिएको थियो । पञ्चासे डाँडा दुरीको हिसाबले अन्य भन्दा अझ बढी र उचाईको ठाँउ पनि हो । पञ्चासे डाडाँ २५ सय मिटर उचाई भन्दा माथि पर्छ । मौसम चिसो हुदाँ पाईलटले उचाई लिन नसक्दा टास्क पुरा हुन सक्ने सम्भावना देखिदैन् ।

विश्वकपमा नेपाली १२ जना पाईलट सहभागि छन् । क्रसकन्ट्रीमा भने आयोजकले तोकेको टास्क पुरा गर्ने खेलाडीले बढी अंक प्राप्त गर्ने छन् । तीनदिनसम्मको टास्कलाई जोडेर खेलाडीको विजेता घोषणा गरिने छ । प्याराग्लाईडिङमा हुने सम्भावित जोखिम न्युनिकरण गर्न नेपाली सेनाको टोलीले रेस्क्युको जिम्मेवारी लिएको छ । वल्र्डकप टुरमा अमेरिका, कोरिया, फ्रान्स, जापान, कोरिया, बेलायत, भारत, इरान, चेकोस्लोभाकिया, स्वीस, अष्ट्रिया लगायतका देशका पाईलटको सहभागिता रहेको छ । वल्र्डकपलाई फेडेरेशन अफ एरोनोटिक इन्टरनेशनल(एफएआई)बाट मान्यता प्राप्त पाईलटले मात्रै सहभागिता जनाउदैं छन् । एफएआईले अन्तराष्ट्रिय प्याराग्लाईडिङ पाईलटको नियमन गर्ने गरेको छ ।