तयार भयो हेमजाको गौरीशंकर खेल मैदान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-साग अघि नै तयार गर्ने लक्ष्य राखिएको पोखराको दुई वटा फुटबल मैदान निर्माणको अन्तिम चरणमा छन् । आगामी असार मसान्तसम्म तयार गरेर फुटबल प्रतियोगिता शुरु गर्ने योजना छ । गोस्ते र गौरीशंकर खेल मैदान तयार भएपछि पोखरामा फुटबलको लागि मैदान अभावको समस्या भने रहने छैन् ।

मंसिरमै पुरा गरेर प्रशिक्षण गराउने तय गरिएको पोखरा–२५ हेमजास्थित गौरीशंकर फुटबल मैदान र पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदान अझै तयार भएको छैन् । राष्ट्रिय खेलकुद परिषदले गत वर्ष आर्थिक वर्षमा दुवै मैदानलाई एकैसाथ ५०–५० रुपैयाँ विनियोजन गरेको थियो । विनियोजन रकमसँगै शुरु भएको मैदान मर्मत सम्भार मंसिरभित्रैमा पुरा गर्ने योजना थियो । मंसिरभित्रै पुरा गर्ने गरी थप १–१ करोड रुपैयाँ विनियोजन गरियो ।

‘असार मसान्तसम्म तयार गर्ने लक्ष्यसहित काम अन्तिम चरणमा पुर्याएका छौं’ गौरीशंकर खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुँवरले भने–‘प्यारापिट र चेन्जिङ रुमलाई फिनिसिङ दिदैं छौं ।’ मैदान स्तरोन्नति गर्न गत वर्ष मंसिर १ गते शिलान्यास गरिएको थियो ।

मैदान स्तरोन्नति गर्न चरणबद्ध रकम निकासा हुदैं आएको छ । पहिलो चरणमा उपभोक्ता समितिलाई ३० लाख रुपैया उपलब्ध गराईएको थियो । उपलब्ध रकमबाट समितिले वरीपरी तारजाली तथा ड्रेन(नाली) निर्माण गर्यो । ‘मैदान लेभलिङ गरेपछि तारजाली लगाएपछि मैदानको संरक्षण गरियो’ समितिका अध्यक्ष कुवँरले भने–‘त्यसपछि मैदानको वरीपरी नाली बनाइएको छ ।’ उनका अनुसार अहिले प्यारापिट र चेन्जिङ रुम तयारको चरणमा छ । मैदानका लागि ६० लाख रुपैयाँ खर्च भईसकेको समितिले जनाएको छ । परिषदबाट तीन चरणमा बजेट निकासा भएको थियो ।

मैदान १०२ मिटरको लम्बाई र ६४ मिटरको चौडाईको छ । वर्षेनी फुटबल प्रतियोगिता आयोजना गर्दै आएपनि मैदान भने पूर्णरुपमा लेभलमा थिएन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक ई. प्रनिस ताम्राकार अनुसार मैदान उत्तर दक्षिणको लेभर हेर्दा ७ फिट फरक थियो । दक्षिण तर्फको जमिन निकै आरोलो भएपनि अहिले भने सम्याई स्तरोन्नति गरिसकिएको समितिका अध्यक्ष कुवँर सुनाउँछन् । तारजालीको लागि परिषदले शिलान्यास अघि नै पठाएको १० लाख रुपैयाँको बजेटले तारजाली लगाइएको थियो । अध्यक्ष कुँवरका अनुसार दुवो मैदानमा अझै फैलिसकेको छैन् ।

‘योजना १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अघि नै थियो । तर सम्भव भएन् । ढिला गरी बजेट आउँदा काम पनि । ढिलै शुरु गर्यौं’ उनले भने–‘अब असारमसान्तभित्रमा पूर्णरुपमा तयार पारेर उदघाटन गर्ने छौं ।’ मैदानको पश्चिम तर्फ १०२ मिटर लामो दुई खण्डमा प्यारापिट बनाइएको छ । प्यारापिटमा झण्डै १५ सय दर्शक अटाउँछन् । दुवै तर्फ चेन्जिङ रुम बनाइएको छ । चेन्जिङ रुम तथा शौचालय तयार भएपछि अन्तराष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने विश्वास पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले सुनाए ।

आगामी वर्षको फागुनमा तेस्रो साता पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला फुटबल प्रतियोगिता आयोजना गर्न सकिने विश्वास खेलकुदकर्मीको छ । ‘मैदान तयार भएपछि राष्ट्रिय प्रतियोगितासँगै क्लबस्तरीय फुटबल प्रतियोगिता समेत आयोजना गर्न सकिने छ ।’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

हेमजा युनाईटेड क्लबले संरक्षण गर्दै आएको मैदानमा क्लबले वर्षेनी नयाँ वर्षको अवसरमा शुभकामना कप गर्दै आएको छ । आगामी नयाँ वर्षमा शुभकामना कप गर्ने तयारी छ । यद्यपी विश्वव्यापी फैलिएको कोरोना भईरसको संक्रमणकै कारण राष्ट्रिय खेलकुद परिषदले कुनै पनि भीडभाड हुने खेलकुदका कार्यक्रम नगर्न निर्देशन गरेको छ । क्लबले आगामी संस्करणको शुभकामनालाई भने प्रदेशस्तरीय बनाउने योजना छ । तस्बिर सौजन्य कृष्ण कुँवर