कोरोना त्रास, गोल्डकपमा दर्शकको ह्रास

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-भीड भाडमा नजानु । अनिवार्य मास्क प्रयोग गर्नु । आईसोलेसनमा बस्नु । अहिले यतिबेला धेरै प्रयोग हुने शब्द हुन । विश्वव्यापी कोरोना भाइरसको संक्रमण देखिएको छ । तिब्र गतिमा फैलिएको भाइरसको संक्रमणले विश्व जगत नै त्राहिमाम भएको छ । त्यसको प्रत्यक्ष असर विभिन्न क्षेत्रमा परेको छ ।

नेपालमा कोरोना संक्रमण खासै देखिएको छैन् । यद्यपी सुरक्षित भने हुनुपर्ने छ । सबैभन्दा संवेदनशिल क्षेत्र नेपाल भन्दै विश्व स्वास्थ्य संगठनले सार्वजनिक अभिव्यक्ति दिएपछि कोरोनाप्रतिको सचेतना ह्वात्तै बढेको छ । भीडभाडमा नजान र नबस्न जिल्ला प्रशासन कार्यालय कास्कीले समेत सूचना जारी गरेको छ । सर्वसाधारण भीडभाडमा जान छाडेका छन् । भीडभाडमा जान छोडेकै कारण फुटबल पनि त्यसबाट प्रत्यक्ष प्रभावित हुन पुगेको छ । राष्ट्रिय खेलकुद परिषदले पनि कोरोना भाइरसकै कारण खेल गतिविधि सञ्चालन नगर्न एकसाता अघि नै निर्देशन गरिसकेको थियो ।

मोफसलकै प्रतिष्ठित गोल्डकप आहा राराको १८ औं संस्करण दर्शकको संख्या अत्यन्तै न्यून छ । प्रत्यक्ष असर कोरोना भाइरसकै हो । प्रिक्र्वाटरफाईनल, क्वाईटरफाईनल हुदैं सेमिफाईनलसम्म आइपुग्दा दर्शकको संख्या दैनिकजसो बढ्दै जान्थे । तर अहिले दैनिकजसो दर्शकको चाप घट्ने क्रममा छ । उत्कृष्ट क्लबहरुको प्रतिस्पर्धा भएपनि दर्शकको ध्यान फुटबलमा गएको छैन् । आफनो स्वास्थ्य प्रति सचेत बन्दै भीडभाडमा उपस्थित भएका छैनन् ।

‘स्वास्थ्यप्रति सचेतता हो या कोरोना भाइरसको त्रासले हो, दर्शकको उपस्थिति भने विगतको तुलनामा निकै कम भएको अनुभव छ’–सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले भने–‘संक्रमण नदेखिएपनि त्रासले दर्शक रंगशाला आउन सकेका छैनन् ।’ उनका अनुसार संक्रमणको त्रास भन्दा पनि हल्ला बढी गर्नाले समस्या देखिएको हो । ‘स्वास्थ्यप्रति सचेत र सम्वेदनशिल बन्नुपर्छ ’ उनले थपे–‘तर संक्रमण भन्दा पनि हल्ला बढी गरिनाले सर्वसाधारण बढी सशंकित बनेका छन् ।’ कोरोनाको त्रास एकातिर रहदाँ अर्कोतिर फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारणले पनि दर्शकको उपस्थितिमा कमी आएको दावी सहारा क्लबका अध्यक्ष थापाको थियो ।

फुटबलमा दर्शकको उपस्थितिलाई नियाल्दा विगतका वर्षहरुमा टिकट काटेर हेर्नेको भीड हुन्थ्यो । गत वर्ष नै प्यारापिट भत्काइएको थियो । यद्यपी जोखिम मोलेरै भएपनि फुटबल क्रेजीहरु आधा भत्काईएको प्यारापिटमा बसेर फुटबल हेरेको सहारा क्लबले जनाएको छ । ‘गतवर्ष प्यारापिट भत्काउँदाको अवस्था भन्दा पनि कम दर्शक छन् ।’ उनको भनाई थियो । नयाँ बनाइएको ग्राण्ड स्ट्याण्ड प्यारापिटले दर्शकलाई लोभ्याउने गरेपनि कोरोनाकै त्रासले दर्शकको आगमनमा उत्साह देखिएको छैन् । फुटबलका क्रेजी फ्यानहरु भने मास्क लगाएर पोखरा रंगशालामा उपस्थित हुदैं फुटबलको मज्जा भने लिईरहेका छन् ।

आहा रारा गोल्डकपमा एकै संस्करणमा ५० हजार भन्दा बढी दर्शकले फुटबल हेरेको तथ्यांक पनि छ । तर अहिले त्यो संख्या आधा भन्दा बढीले कमि आउने प्रष्ट छ । ‘कोरोनाकै त्रासले दर्शकको उपस्थिति घटेको पक्कै हो । त्यो सँगै क्लबहरुको प्रदर्शनले दर्शकलाई तान्न नसकेको भान भईरहेको छ । त्यसैले दर्शकको चाप विगतको जस्तो पोखरा रंगशालामा देखिएको छैन्’ जिल्ला खेलकुद विका समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘पछिल्लो समय नेपाली फुटबल क्लबहरुको प्रदर्शनले दर्शक रंगशालासम्म तान्न सकिरहेको छैन् ।’ उनले ए डिभिजन लिगमा समेत दर्शको उपस्थितिमा देखिएको खडेरी पोखरामा पनि उस्तै गरी उपस्थिति न्यून भएको दावी गरे ।

‘नामै चलेका क्लबहरुको प्रदर्शनले फुटबल फ्यानहरुको मन जित्न सकेको जस्तो देखिएन् ।’ उनको भनाई थियो । विगतमा पनि उही टिम फाईनल पुग्दा दर्शकको उपस्थिति हुन्थ्यो भन्ने प्रश्नमा उनले अहिले विगतका चर्चामा रहेका खेलाडीहरु मैदानमा नदेखिदाँ त्यसको असर परेको प्रष्ट्याउँछन् । उनको बुझाईमा क्लबहरुको खेलस्तर खस्किएको छ ।