आहा रारा गोल्डकप फाईनल, पुलिस र मनाङको किर्तिमान उपाधि लक्ष्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लब नेपाली फुटबलमा पुरानै प्रतिस्पर्धी हुन् । ए डिभिजन लिगदेखि मोफसलका नकाउट फुटबल प्रतियोगितामा यी दुवैको प्रतिस्पर्धा रोचक र रोमाञ्चक हुने गर्छ । दुवै टोली उपाधिका भोका छन् । त्यही उपाधि भोक मेटाउन शनिबार पोखरा रंगशालामा उत्रिने छन् । आहा रारा गोल्डकपको १८ औं सस्करणको फाईनलमा यी दुवै टोलीको खेल फेरी एक पटक पोखरेली दर्शकले हेर्ने छन् ।

धरानको बुढासुब्बा गोल्डकपमा दुवैले फाईनल खेलेर पोखरा आईपुगे । मनाङ मस्र्याङ्दीले उपाधि उचाल्यो । नेपाल पुलिस उपविजेता बन्यो । पोखरामा दुवैको शाख सम्झन योग्य छ । गर्विलो छ । दुवैले पोखरामा आहा राराको उपाधि समान ५–५ पटक उपाधि जितिसकेका छन् । दुवैको लक्ष्य भने किर्तिमानी उपाधिको लागि खेल्ने छन् । छैटौं पल्टको उपाधि जितेर किर्तिमान कायम गर्ने लय दुवैले क्र्वाटरफाईनल र सेमिफाईनलका खेलहरुमा देखाईसकेका छन् । दुवै अब्बल छन् । किर्तिमानी पाईला कसको अगाडि बढ्छ त्यो भने शनिबारको फाईनलको नतिजाले देखाउने छ । सहारा क्लबकै आयोजनालाई हेर्ने हो भने क्याराभान गोल्डकलाई पनि गणना गर्ने हो भने नेपाल पुलिसको उपाधि छैटौं हो । सातौंको लागि प्रतिस्पर्धा हुने छ ।

सहाराले २०५९ सालदेखि आहाको संस्करण शुरु गर्यो । दशवर्ष आहाको संस्करण टुग्याएपछि आहा रारामा परिणत हुन पुग्यो । हिमश्री फुड्सले सहारा क्लबलाई बीस वर्षसम्मको लागि प्रायोजनको जिम्मा लिएको छ । अझै दुई सस्करण बाँकी छन् । आहा राराको संस्करणमा नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टारले समान ५ पटक उपाधि जितेका छन् । अफ्रिकन युनाईटेड र आयोजक सहारा क्लबले पनि गोल्डकपको उपाधि एक–एक पटक जितेर इतिहास लेखाएका छन् ।

यी दुईको फाईनल भेट ठ्याक्कै १५ वर्षपछि हुदैं छ । दोस्रो र तेस्रो आहा गोल्डकपमा यी दुई बीच उपाधि प्रतिस्पर्धा भएको थियो । बाजी भने दुवैमा मनाङ मारेको थियो । विश्वव्यापी कोरोना भाइरसको संक्रमण छ । त्यसको असर नेपाली फुटबलमा पनि देखिएको छ । दर्शकको सहभागिता कमै मात्रामा भएपनि उपाधिको टुंगो लगाउँदै सहारा क्लबले एक वर्षको लागि विश्राम लिने छ । प्रतियोगितालाई विट मार्ने संघारमा रहेको अवस्थामा सबैको अनुमान उपाधि कसले जित्छ भन्ने छ । दुवै टिम सन्तुलित छ ।

पोखराको मैदानमा दुवैले आफुलाई भाग्यमानी ठान्छन् । घरेलु मैदानकै रुपमा उभ्याउँदै आएका छन् । घरेलु मैदानमा उपाधि उचाल्न दुवैले सहज मान्छन् । दुवै टोलीमा घरेलु खेलाडी छन् । नेपाल पुलिसका रक्षक अजित भण्डारी छन् । मनाङ मस्र्याङ्दीमा भने मिडफिल्डर शुशिल लामा छन् । कुनै बेला उनीहरु एकै टिम सहाराबाटै खेल्थे । मनाङमा विदेशी खेलाडीले अगाडि र पछाडीको जिम्मेवारी सम्हाल्दा पुलिसलाई भने केही सकस पर्ने देखिन्छ । यद्यपी लयमा रहेको पुलिस भोला सिलवालको अनुभवी कप्तानीले अझ खारिएको खेल प्रदर्शन गर्ने विश्वास दर्शकले गरेका छन् ।

नेपाल पुलिसले विङ्गर अन्जन विष्ट र मनाङले रवि पासवानको रफ्तारलाई रोक्नुपर्ने मुख्य चुनौति हुने छ । विदेशी खेलाडीद्वय फ्लोरेन्ट र डेविड भिडालको उपस्थितिले मनाङलाई बलियो बनाएको छ । मनाङको बलियो रक्षापंक्तिलाई तोड्ने ल्याकत राख्नेमा पुलिस आफैंमा विश्वस्त छ । ‘जित्नकै लागि खेल्ने हो । उपाधि जित्छौं ।’ नेपाल पुलिसका प्रशिक्षक अनन्त थापा र मनाङ मस्र्याङ्दीका प्रशिक्षक टोपे फुजाको दावी थियो । प्रशिक्षक दुवैले विपक्षीको रणनीति अनुसार खेल खेल्ने स्पष्ट पारे । ‘विपक्षीको रणनीतिलाई चिर्ने गरी योजना तय गर्छौं ।’ प्रशिक्षकद्वयको एउटै भनाई थियो । फाईनल खेल्नु अघिको पत्रकार भेटघाटमा उनीहरुले उपाधि उचालेर किर्तिमान रच्ने लक्ष्य रहेको सुनाए । ‘गेम निकै भाईटल हुन्छ । टफ गेम हुन्छ । त्यही अनुसारको रणनीति तय गर्छौ ।’ उनीहरुको भनाई थियो ।

विजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले भने ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ष्ठ खेलाडी प्रायोजन अप्रिला स्कुटर प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ, गरिदैं आएको छ । बेष्ट फाईभलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने छ । हिमश्री फुड्सको मुख्य प्रायोजन तथा विभिन्न संघसंस्थाको प्रायोजन, सहप्रायोजन तथा उपप्रायोजनमा आयोजित प्रतियोगिताको फाईनल दिउँसो दुई बजेट पोखरा रंगशालामा हुने छ ।