सहारा-एकेडेमी चलाउन गोल्डकपकै भर 

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आफनै एकेडेमी छ । एकेडेमीमा २४ जना अब खेलाडी बन्ने तयारीमा छन् । ८ देखि ११ कक्षामामा अध्ययनरत छन् । सहारा क्लबले पोखरा–१७ दोविल्लामा २४ जनालाई खेलाडी बनाउने ध्येय छ । तेस्रो चरणको यो एकेडेमीको लागि क्लबले वर्षेनी लाखौं रुपैयाँ लगानी गर्दै आएको छ । २०५९ सालदेखि क्लबले एकेडेमी शुरु गर्यो । २०६१ सालमा आएर दोस्रो चरणको शुरुवात गर्यो । पहिलो आवासविहीन एकेडेमी थियो । दोस्रोमा केही आवास र केही बाहिरी युवाहरु एकेडेमी भई फुटबल खेल्ने गर्थे । तेस्रो एकेडेमी भने पूर्ण रुपमै आवासिय छ । विभिन्न जिल्लाका २४ जना अध्ययनसँगै फुटबल प्रशिक्षणमा व्यस्त हुदैं फुटबलमै भविष्य कोर्न उद्दत छन् । फुटबलमा भविष्य नखोज्नेलाई भने स्वरोजगारको तालिम दिई आत्मनिर्भर बनाउने लक्ष्यमा सहारा क्लब छ ।

एकेडेमीको लागि क्लबले वार्षिक २८ देखि ३० लाख रुपैयाँसम्म खर्च गर्छ । एकेडेमीमा रहेको बाल खेलाडी तथा कार्यरत चार कर्मचारीको पारिश्रमिक सहितको खर्च हो । २४ जनाको उचित शिक्षादिक्षा, फुटबल प्रशिक्षणसँगै डाईटको प्रबन्ध लगायत कलम, किताब कापी र ड्रेससहितको खर्च जोडिएको छ । ‘हिजो सानो हुदाँ खर्च कम थियो । विस्तारै कक्षा उकालिएसँगै खर्च बढेको छ’ सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले भने–‘आम्दानीको स्रोत वर्षेनी आयोजना गरिएको आहा रारा गोल्डकपबाट बचत रकम नै हो ।’ गोल्डकपबाट बचत रकम बढेको अवस्थामा एकेडेमीको खर्च धान्न सहज हुदैं आएको छ । बचत रकम भएको अवस्थामा खर्च धान्नलाई गाह्रो हुने गरेको उनको भनाई थियो । उनका अनुसार गतवर्ष फुटबलबाट केवल डेढलाख रुपैयाँ मात्रै बचत हुन पुग्यो । त्यसले एकेडेमीको खर्च धान्न कठिनाई भयो । ‘विभिन्न संघसंस्थाको सहयोग र गोल्डकपबाट बचत रकम नै एकेडेमी सञ्चालनको मुल आधार हो ।’ उनले स्पष्ट पारे ।

वर्षेनी क्लबले सहयोगको लागि देउसी भैलो कार्यक्रम गर्दै आएको छ । गतवर्ष भैलोबाट ४ लाख रुपैयाँ संकलन गर्यो । लुम्बिनी विकास बैंकले २ लाख रुपैयाँ सहयोग दिएको थियो । ७ लाख रुपैयाँ सहारा क्लब हङकङबाट सहयोग प्राप्त भयो । ‘विदेशमा रहेको नेपालीहरुको सहयोगबाट एकेडेमीको खर्च धानिदैं आएको छ’ सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले भने–‘अक्षयकोषबाट प्राप्त व्याजले सहज हुदैं गएको छ ।’ सहारा क्लबले विदेशीमा पनि शाखा विस्तार गरेको छ । हङकङ, बेलायत र अष्ट्रेलियामा सहारा क्लबका शाखा छन् । ती शाखाबाट वर्षेनी एकेडेमीको लागि सहयोग जुटाउँदै आएको उनको भनाई थियो । ‘खर्चको लागि नपुगेको अवस्थामा स्रोत जुटाउँदै आएका छौं’ अध्यक्ष थापाले भने–‘सबैको सहयोगबाट एकेडेमी चलाउन अप्ठ्यारो भएको छैन् ।’ उनका अनुसार अक्षयकोषको ब्याजबाट वार्षिक ७ लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।

क्लबले एकेडेमीको दिगो आम्दानीको स्रोत बनाउने उद्देश्यसहित अक्षयकोषको अभियान शुरु गरेको हो । अक्षयकोषमा अहिले दुई करोड रुपैयाँ जुटाइएको छ । १७ औं संस्करणको आहा गोल्डकपमा गेटटिकटबाट मात्रै १५ लाख रुपैयाँ संकलन हुदाँ बचत केवल डेढ लाख रुपैयाँ हुन पुगेको थियो । यो वर्ष भने गेटटिकटबाट झण्डै २५ लाख रुपैयाँ संकलन गरिएको अनुमान छ । फाईनलमा मात्रै १४ लाख रुपैयाँ जति संकलन गरिएको छ । यसले बचतमा केही राहत हुने भन्दै एकेडेमी सञ्चालन गर्न कठिनाई नहुने जिकिर क्लबको छ ।

एकेडेमीमा रहेका २४ जना मध्ये ७ जना अहिले कक्षा ११ मा अध्ययनरत छन् । १२ कक्षासम्मको अध्ययन क्लबले एकेडेमीमै राखेर गराउने छ । त्यसपछि खेलाडीहरुले आफनो भविष्य आफैं तय गर्ने छन् ।  पोखरा–३३ स्थित शिशुकल्याण माविमा अध्ययनरत उनीहरु पढाईसँगै एकेडेमीकै मैदानमा नियमित रुपमा फुटबल प्रशिक्षण गर्दै आएका छन् । उनीहरुलाई विभिन्न चरणमा पोखराका प्रशिक्षकहरुले प्रशिक्षण दिदैं आएका छन् । १८ औं संस्करणमा एकेडेमीकै केही खेलाडीहरुलाई मैदानमा उतार्दै गोल्डकपको अनुभव सँगाल्ने अवसर दिइएको थियो । क्लबले अखिल नेपाल फुटबल संघले फुटबल विकासको लागि नीतिगत रुपमा अघि बढे खेलाडीलाई मासिक पारिश्रमिकसहित अनुबन्धन गरेर राख्ने योजना समेत रहेको अध्यक्ष थापाले सुनाए ।