पोखरा रंगशालामा बैकल्पिक फुटबल मैदान तयार गरिदैं

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ६ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गरिएको छ । आगामी फागुन २०–२७ गते (२०७७ साल) आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशालाभित्र बैकल्पिक फुटबल मैदान निर्माण कार्य फेरी शुरु गरिएको छ । १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिताको पुर्वसन्ध्यामा शुरु गरिएको मैदान रोकिएको थियो ।

मैदानको चारैतिर रिटेनिङ वाल निर्माण गरिएको छ । उत्तर र दक्षिणी भाग सम्याउने क्रममा छ । अहिले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले माटो हालेर सम्याउँने काम गरिरहेको छ । माटो भरेर सम्याईसकेपछि मात्रै दुबो रोप्ने योजना खेलकुद विकास समितिको छ । गत कार्तिकदेखि शुरु गरिएको काम झण्डै चार महिना रोकिएको थियो ।

फुटबल मैदान निर्माणको जिम्मेवारी कास्की जिल्ला फुटबल संघलाई दिइएको थियो । समितिले संघका अध्यक्ष मिलन गुरुङलाई उपभोक्ता समिति मार्फत काम गर्ने जिम्मेवारी दिइएको थियो । उनै गुरुङको नेतृत्वमा झण्डै ३० लाख रुपैयाँ खर्च गरेर मैदान निर्माण काम गरिएको थियो । उक्त बजेटले मैदानको चारैतिर रिटेनिङ वाल(पर्खाल) लगाइएको छ । १३ औं दक्षिण एशियाली खेलकुदको समापनसँगै फुटबल मैदानको काम भने रोकिन पुगेको थियो ।
‘माटो फिलिङ गर्ने काम शुरु गरिएको छ । एकसातालाई अन्य खेलकुदको गतिविधिमा पूर्ण रोक लगाइएको छ’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘माटो निशुल्क उपलब्ध हो । ढुवानी खर्च मात्रै समितिले व्यहोर्छ ।’ दक्षिण एशियाली खेलुकद प्रतियोगिताकै पुर्व सन्ध्यामा बैकल्पिक मैदानको लागि निर्माण शुरु गरिएपनि बजेट भने आउन नसक्दा रोकिन पुगेको थियो ।

तत्कालिन समयमा बैकल्पिक मैदानको लागि ९० लाख रुपैयाँको अनुमानित बजेट पेश गरिएको थियो । तर अहिले केवल सम्याउने खर्च मात्रै आउने सम्भावना छ । ‘भरिएको माटो फिलिङ गर्ने र सम्याउने खर्च मात्रै आउनेस्थिति छ’ उनले भने–‘हिजो अनुमान गरिएको लागत आउने सम्भावना छैन् ।’ उनका अनुसार १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै समयको बजेट आईसकेको छैन् ।

समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार मैदानमा ३२ सय देखि ३५ सय घटमिटर माटो फिलिङ गरिने छ । बिहीबारदेखि माटो भर्ने काम शुरु गरिएको उनले बताए । ‘१०५ मिटर लम्बाई र ६८ मिटर चौडाईको अन्तराष्ट्रिय मापदण्ड अनुसारको बैकल्पिक मैदान तयार हुने छ ।’ उनको भनाई थियो । समितिका कार्यालय प्रमुख योगीले मैदान सम्याईसकेपछि दुबो रोप्नको लागि ५ लाख रुपैयाँ बजेट अनुमान गरिएको सुनाए ।

बैकल्पिक फुटबल मैदान तयार भएपछि पोखरा रंगशालामा अन्तराष्ट्रिय फ्रेण्डली म्याच आयोजना गर्न सकिने छ । नेपाल र इरानबीचको खेल भुटानमा आयोजना गरिएको थियो । दशरथ रंगशाला मर्मत सम्भारको स्थितिमा रहदाँ अन्तराष्ट्रियस्तरको मैदानकै अभावमा नेपाल र इरान बीचको फिफा वल्र्डकप क्वालिफाईङ खेल भुटानमा आयोजना गरिएको थियो । अब त्यो मैदान तयार भएपछि सहज हुने विश्वास छ ।

आगामी असार मसान्तसम्म पोखरा रंगशाला फुटबल मैदानसहितको प्यारापिट युक्त पुर्वाधार तयार हुने छ । उक्त मैदानमा अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धा, प्रतिष्ठित गोल्डकप जस्ता प्रतियोगिता आयोजना गर्न स्वीकृति दिईने छ । बैकल्पिक मैदान नहुदाँ पोखरामा आयोजना हुने क्लबस्तरीय फुटबल, स्कुलस्तरीय प्रतियोगिता लगायत अन्य गतिविधि अन्यत्र आयोजना गर्नुपर्ने बाध्यता थियो । बैकल्पिक मैदानमा क्लबस्तरीय, स्कुलस्तरीय लगायतका प्रतियोगिता आयोजना गर्न दिईने छ ।

समितिका अनुसार मैदान निर्माण तिब्र गतिमा हुने छ । पोखरा रंगशाला एक साताको लागि पूर्णरुपमा बन्द गरिएको छ । खेलकुद गतिविधि नगर्न खेलकुद विकास समितिको सूचनासँगै ठप्प बनेको रंगशालाको बैकल्पिक मैदान बनाउन सहज हुन पुगेको छ । १ अर्ब २८ करोडको लागतमा निर्माणाधिन फुटबल मैदानको पश्चिम तर्फको भीआईपी र चेन्जिङ रुम निर्माणकै चरणमा छ । रंगशालामा गरिएको बन्दले काम गर्न भने सहज भएको छ । अनावश्यक व्यक्तिको प्रवेशले पनि काममा असहजता पैदा हुदैं आएको ठम्याई खेलकुद विकास समितिको छ ।
तस्बिर सौजन्य प्रनिस ताम्रकार