महानगर अल्टिच्युड मैदान-बन्यो डिपिआर, बजेट नहुदाँ बढे्न अगाडि काम

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा महानगरपालिकाले बजेट विनियोजन नगर्दा महानगरकै सबैभन्दा उचाईमा निर्माणाधिन फुटबल मैदानको काम अघि बढ्न सकेको छैन् । महानगरपालिकाकै सक्रियतामा गत वर्ष शुरु गरिएको पोखरा–२० आँटीघर मौजाको फुटबल मैदान यो वर्ष कामै हुन सकेन् । मैदानको लागि पोखरा महानगरपालिकाले अल्टिच्युड फुटबल मैदान निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरिसकेको छ । गत कार्तिकमै डिपिआर तयार गरेपनि मैदानको लागि बजेट निकासा नहुदाँ काम भने शुरु गर्न नसकिएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिए । ‘डिपिआर तयार पारेर राखिएको छ । तर बजेट छैन् ’ उनले भने–‘बजेट नहुदाँ काम अघि बढाइएको छैन् ।’

गतवर्ष महानगरपालिकाको ७ लाख र वडास्तरीय बजेट १ लाख गरी ८ लाख रुपैया मैदानको लागि खर्च गरिएको छ । आठलाख रुपैयाँले मैदानको लागि आवश्यक पर्ने जमिन कटान गरेर सम्याउने प्रयास गरिएको थियो । त्यसपछि महानगरपालिकाले उचाईको खेल मैदान बनाउने प्रस्ताव गर्दै डिपिआर बनाउन केन्द्रीत भएको हो । डिपिआर बनाएपछि यो आर्थिक वर्षको लागि बजेट भने महानगरपालिकाले छुट्टाएको छैन् । ‘महानगरपालिकाले यो आर्थिक वर्षमा बजेट निकासा गरेको छैन् । सायद गर्दैन् होला’ वडाध्यक्ष गुरुङले भने–‘अर्को आर्थिक वर्षमा बजेट दिने तयारी गरेको छ । अर्को आर्थिक वर्षदेखि नै काम शुरु गर्ने योजनामा छौं ।’ उनले महानगरपालिकासँगै आगामी आर्थिक वर्ष प्रदेश तथा संघीय सरकारसँग डिपिआर देखाएरै बजेट माग गर्ने बताए । ‘डिपिआर अनुसार फुटबल मैदान बनाउने हो भने यो महानगरकै सबैभन्दा उचाईमा सुविधायुक्त मैदान बन्ने छ ।’ उनको भनाई थियो ।

महानगरपालिकाले यो वर्ष पोखराकै अन्य विभिन्न खेलकुद पुर्वाधारको लागि बजेट बिनियोजन गरेको छ । भण्डारढीक खेलमैदानमै ५३ लाख रुपैयाँ लागतमा खुल्ला व्यायामशाला निर्माण गरेको छ । लेखनाथकै भवानी कालिका माध्यमिक विद्यालयको खेल मैदान स्तरोन्नति गर्न २० लाख रुपैयाँ उपलब्ध गराएको छ । विष्णु पादुका क्लब हेमजाको खेल मैदानको लागि महानगरपालिकाले ३० लाख रुपैयाँ निकासा गरिदिएको छ । लेखनाथस्थित जनता पार्कमा खुल्ला व्यायामशालाको लागि ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । पोखरा–१३ मा खेलकुदको पुर्वाधार बनाउन १ करोड रुपैयाँ उपलब्ध गराईसकेको छ । उपलब्ध गराईएको बजेटबाट डाडाँ खारेर जमिन सम्याउने काम अघि बढाइएको छ । पोखरा–३ नदीपुरस्थित नारायणथान खेल मैदानको लागि समेत महानगरपालिकाले १० लाख रुपैयाँ छुट्टाएको छ । अन्य विभिन्न १६ वटा ठाँउमा व्यायामशालाका सामान जाडन गर्न ५० लाख रुपैयाँ छुट्टाइएको छ ।

विभिन्न ठाँउमा निर्माणाधिन खेलकुद पुर्वाधारकै कारण महानगरपालिकाले यो आर्थिक वर्षमा मौजाको फुटबल मैदानलाई बजेट नछुट्टाएको अनुमान गरिएको छ । डिपिआर तयार गरेसँगै महानगरले मौजालाई खेलकुद गन्तव्यको रुपमा विकास गर्ने योजना आगामी वर्ष कार्यान्वयनमा लैजाने विश्वास छ । महानगरपालिका वडा नं २० मौजास्थित १७ सय मिटर उचाईमा फुटबल मैदानसहित खेलकुदका अन्य पुर्वाधार तयार पार्न डिपिआर तयार गरिएको हो । ५ वर्षभित्रमा पुरा गर्ने दीर्घकालिन योजनासहित खेलकुद पुर्वाधार बनाउने लक्ष्य राखिएको छ । ‘फुटबल मैदानसहित प्यारापिट निर्माण हुन्छ ’ उनले भने–‘त्यसबाहेक बास्केटबल र भलिबल कोर्ट समेत बनाईने छ ।’ भिरालो जमिनकै कारण ल्याण्डस्केप गरी निर्माण गरिने छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ । पार्किङको समेत व्यवस्था हुने छ । १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।