पोखरा फुटबल मैदान निर्माण–‘छ महिना लम्बिने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-विश्वव्यापी कोरोनाको त्रास छ । नियन्त्रणको लागि लकडाउनमा छ । सबै घरभित्रै बसेका छन् । शहरदेखि गाँउ फर्किएका छन् । सम्पूर्ण कामकाज ठप्प छ । कोरोनाको भयले शहरबाट सर्वसाधारण आफनै गाँउघर फर्किएका छन् । कोरोनाको त्रास कहिले हट्छ यकिन छैन् । त्रासकै बीचमा काम गर्न सर्वसाधारण फिल्डमा आउने अवस्था समेत छैन् ।

पूर्वाधार निर्माण रोकिएका छन् । समयमै पुरा गर्ने दायित्व र जिम्मेवारी भएपनि विषम परिस्थितिले समय लम्ब्याईदिएको छ । पोखरा रंगशाला फुटबल मैदान निर्माणको चरणमै छ । अन्तिम चरण तर्फ लम्किदाँ कोरोना त्रासले कामको म्याद थपिने निश्चित छ । निर्माण टुग्याउने चरणमा आईपुग्दा पटक पटक म्याद थपियो । अन्तिम म्याद यही मार्चको अन्तिमसम्म छ । चार महिनामै सक्ने गरी गत वर्षको फागुन अन्तिममा शिलान्यास गरिएको थियो । लक्ष्य १३ औं दक्षिण एशियाली महिला फटुबल प्रतियोगिता खेलाउने थियो । फुटबल खेलाईयो । तर मैदान तयारसहितको अन्य पूर्वाधार तयार भएको थिएन् ।

पूर्वाधार तयार नहुदै प्रतियोगिता आयोजना गरियो । त्यसले काममा असर पुर्यायो । पटक पटक खेलकुदजन्य गतविधिले निर्माणलाई अवरोध पुर्याएको थियो । काममै भएको अवरोधले निर्माणकर्ता समयभार फेरी थपिनुपर्ने औंल्याउँदै आएका छन् । काम पुरा गर्न समय थप्नुको विकल्प राष्ट्रिय खेलकुद परिषदसँग छैन् । समय थपिदाँ आर्थिक भार समेत थपिने सम्भावना छ । निर्माणकर्ता कम्पनीको अनुसार सामान्यत झण्डै ६ महिनाको म्याद थपिनुपर्ने सम्भावना रहने आशय जनाईसकेका छन् ।

‘बीच बीचमा काम रोकियो । स्पीडमा काम गर्न पाईएन् । अहिले कोरोनाले काम ठप्पै भएको छ । कोरोना त्रास हटेपछि मात्रै काम गर्छौ’–निर्माणकर्ता भारतीय ग्रेट स्पोर्टस इन्फ्रा तथा एम.ए कन्ट्रक्सन ललितपुर(संयुक्त)का स्थानीय प्रोजेक्ट म्यानेजर दिपक बरालले भने–‘अफिसियल भवन र बाँकी सिट जडान गर्न ६ महिना लाग्छ ।’ उनले मैदानको पूर्व तर्फ अफिसियल भवनको लागि डिजाईन पेश गरिसकिएको छ । पेश गरिएको डिजाईनलाई परिषदले समेत स्वीकृत गर्दै कन्सल्टेन्सीलाई पठाएका छन् । डिजाईन अनुसारको भौतिक सामान ल्याउन कोरोनाको कारण तत्काल सम्भावना नहरेको उनको भनाई थियो ।

ग्राण्ड स्ट्याण्डका सामान फ्रान्समा रोकिएर बसेको छ । ल्याउने अवस्था छैन् । थप ३ हजार ५ सय सिट र सिटको लागि ग्राण्ड स्ट्याण्ड आउनुपर्ने उनको भनाई थियो । ‘भवनको माथि ग्राण्ड स्ट्याण्ड जडान गरेर सिट राख्ने हो ।’ उनको भनाई थियो –‘सिट थपिदाँ आर्थिक भार पनि थपिएको छ ।’ उनका अनुसार १ अर्ब २८ करोड लागतमा सम्झौता गरिएपनि सिट क्षमता थपिदाँ आर्थिक भार १ अर्ब ५० करोडसम्म पुग्ने अनुमान छ । १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट लगभग तयारी भईसकेको छ । ३ हजार ५ सय सिट थप्दै २० हजार पुर्याउने योजना छ । थप सिट ल्याउन तत्काल सम्भव छैन् ।

पोखरामा आगामी फागुन २०–२७ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी छ । नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नवौं आयोजना गर्ने जिम्मेवारीसहित झण्डा ल्याइएको हो । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारीमा रहँदा फुटबल मैदानसहित अन्य केही पूर्वाधार बनाउनुपर्ने छ । ‘पटक पटक म्याद थपिसकिएको छ । अब फेरी थपेर राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा तीन महिना अघि नै पूर्वाधार तयार भईसक्नुपर्छ–’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘तीन महिना अघि नै तयार भए थप समस्या केही छन् कि भनेर हेर्न सकिन्छ ।’ उनका अनुसार अन्तिम समयमा मात्रै पूर्वाधार तयार भए समस्या देखिएका ठाँउमा समाधान गर्न ढिलाई हुने छ । pic by sudarshan Ranjit