फुटबलर गुरुङको बेलायतमा कोरोनाबाट निधन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखराले उत्कृष्ट फुटबल गुमाएको छ । विश्वव्यापी कोरोनाको महामारीको चपेटामा फुटबल मेखबहादुर गुरुङ(मेखु)को निधनसँगै पोखरेली फुटबलप्रेमी स्तब्ध बनेका छन् ।

बेलायतमा रहँदै आएका उनको बुधबार राती उपचारको क्रममा निधन भएको हो । केही दिन अघि कोरोनबाट संक्रमित भएका उनको आईसियुमा उपचार गरिएको थियो । ५६ वर्षको उमेरमा निधन भएको हो । बेलायतमा कोरोनाबाट निधन हुनेको संख्या पाँच पुगेको छ । उनको निधनले वडा नं १० पोखरा रामबजार क्षेत्र स्तब्ध बनेको छ ।

मेख गण्डकी अञ्चलस्तरीय खेलाडी थिए । पोखरामा २०४० सालमा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी अञ्चलबाट फुटबल खेलेका थिए । एसएलसीको परीक्षाको तयारीमा रहदाँ भर्ती भई बेलायत हानिएका मेख छुट्टीमा आउँदा आफनो फुटबलको प्यासन मेट्थे । भर्ती भएर गएकै कारण उनले नेपाली फुटबलको राष्ट्रिय जर्सी भने लगाउन पाएनन् ।

२०३८ सालमा सम्भवत उनी भर्ती भईसकेको सहकर्मीहरु बताउँछन् । पोखरा १० रामबजार(ढासा टोल)मा बसोबास गर्ने उनको परिवार पछि पोखरा १४ छिनेडाडाँमा बसाई सरेका थिए । भर्ती भएपछि नियमित रुपमा फुटबल प्रतियोगिता खेल्नबाट टाढिएका उनी पोखरा फर्किएदाँ फुटबल खेलेर समय विताउने फुटबलका सहकर्मी राजु गुरुङ बताउँछन् । ‘छुट्टीमा आउँदा फुटबल प्रतियोगिता भएको ठाँउहरुमा जाने गर्थे–उनले भने–‘विशेष गरी पाल्पामा आयोजना हुने करुवा कप, बुटवलमा हुने तिलोत्तमा कप लगायतका प्रतियोगिता अञ्चलबाटै खेलेर फर्किन्थे ।’
पोखरामै आयोजना हुने वडास्तरीय फुटबल प्रतियोगितामा उनी वडा नं १० का हस्ती नै रहेको पुर्व फुटबलहरु बताउँछन् । निकै राम्रा खेलाडी थिए । सानैमा भर्ती भएर बेलायत गएपछि फुटबलबाट टाढा रहेपनि छुट्टीमा फर्किदा खेलेर फर्किन्थे । त्यतिबेला वर्षमा दुई पटक छुट्टीमा आउन पाइन्थ्यो । निधन भएका गुरुङ बेलायको न्युनिटनमा बस्दै आएका थिए । उनी २ जीआरमा सेवागरी १ जीआरबाट अवकाश प्राप्त भएका थिए ।

गुरुङ पोखराकै अमरसिंह माविमा अध्ययनरत गरेका हुन् । स्कुलका सहपाठी बरिष्ठ फोटो पत्रकार सुदर्शन रन्जितले आफुँसगै स्कुले साथी गुमाएका छन् । ‘म र मेख अमरसिंह मावि(तत्कालिन सोल्जरबोर्ड हाईस्कुल) कक्षा ४ देखि १० कक्षासम्म सँगै पढेका थियौं’–फोटो पत्रकार रन्जितले भने–‘हामी स्कुल सकेर कलेज भर्ना भयौं । उ(मेख) भने भर्ती भएर बेलायत गयो ।’ pic-goalnepal.com