२०७६ साल- पोखरामा खेलकुद 

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ३० गते २०७६ मा प्रकाशित


पोखरा,(खेलाडी न्युज)२०७६ साललाई आईतबारबाट बिदाई गरियो । नयाँ वर्ष नयाँ सोच र उमंगसँगै शुरु भएको छ । गत वर्षलाई फर्केर हेर्दा गण्डकी प्रदेशको खेलकुद गतिविधि महत्वपूर्ण रह्यो । खेलकुदको शहर पोखराले स्वदेशी र विदेशी आतिथ्यलाई स्वागत र सत्कार गर्ने अवसर जुर्यो । महत्वपूर्ण खेलकुद गतिविधि आयोजना भएपनि गण्डकी प्रदेशले पदकबाट भने चित्त बुझाउने बाटो भने नभएपनि सामान्य सन्तोष लिन सकिने ठाँउ रह्यो

थपियो पूर्वाधार–पूर्वाधार निर्माणले नयाँ स्वरुप दियो । प्रतियोगिताले ऐतिहासिकता थप्यो । पोखरा रंगशालाभित्र फुटबल मैदानसहित प्यारापिटको पूर्वाधार तयार भयो । यद्यपी अहिले पूर्णता भने पाईसकेको छैन् । व्याडमिन्टन कभर्ड हल तयार भयो । लन टेनिसको आवश्यक भौतिक संरचनासहित हार्ड र क्ले कोर्ट तयार भयो । केही पूर्वाधारको स्तरोन्नति गरियो । फेवाताल किनारमा विच भलिबल कोर्ट तयार गरियो । जुन ऐतिहासिक हो ।

राष्ट्रिय खेलकुद परिषदले पनि खेलकुदको पूर्वाधार तयार पार्न अर्र्बाै रुपैयाँ पोखराको लागि छुट्टायो । एक अर्ब २८ करोडको फुटबल मैदान तयार भयो । पोखरा–१९ घार्मीमा ज्येष्ठ नागरिक खेलकुद मैदान निर्माण गरियो । विद्यालय एवं अधिकांश स्थानीय तहमा ठूला तथा साना खेलकुदका पूर्वाधार तयार भए । केही मैदानलाई संरक्षण गरियो । पोखरा–१ पुरानो टुडिंखेल मैदान र मालेपाटन मैदानलाई तारबार लगाई संरक्षण गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले सुनाए ।

राष्ट्रिय/अन्तराष्ट्रिय प्रतिस्पर्धा

१३ औं दक्षिण एशियाली खेलुकद–गतवर्ष गण्डकी प्रदेशको खेलकुद ऐतिहासिक बन्यो । १३ औं दक्षिण एशियाली खेलकुदका ८ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना गरियो । जुसले पोखराको खेलकुदमा नयाँ आयामसँगै इतिहास कोर्यो । भर्खरै बनाईको फुटबल मैदानमा महिला फुटबल, क्रिकेट मैदानमा महिला क्रिकेट, एसआर केसी बैंक्युटमा भारोत्तोलन, लेकसाईड फेवातालकिनारमा विच भलिबल, फेवा किनारमै ट्रायथोलन, व्याडमिन्टन कभर्ड हलमा व्याडमिन्टन, बहुउद्देश्यीय कभर्ड हलमा ह्याण्डबल र आर्चरी मैदानमा आर्चरी खेलकुद प्रतियोगिता आयोजना गरियो । पोखराकै खेलकुद इतिहासमा यो पहिलो पटक आयोजना गरिएको थियो , जुन ऐतिहासिक थियो ।

ट्रायथोलन–पोखरामा २०७६ को बैशाख महिनामै अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धाबाट शुरु भएको थियो । बैशाख १४ गते एशियन कप तथा साउथ एशियन च्याम्पियनसिप शुरु गरिएको थियो । ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराएको थियो । स्प्रिन्ट अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड थियो । त्यसभन्दा अघि नै फेवाकिनारमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको ट्रायथोलन आयोजना गरिएको थियो ।

प्याराग्लाईडिङ–‘स्पोर्टस टुरिज्म’ प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा फागुन ११ गते प्याराग्लाइडिङ वल्र्ड कप– एसियन टुर २०२० तथा १९ औं नेपाल ओपन प्याराग्लाईडिङ च्याम्पियनसिप आयोजना गरियो । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र नेपाल प्याराग्लाईडिङ पाईल्टस क्लबको सहयोगमा पोखरामा पहिलो पटक प्याराग्लाईडिङको वल्र्डकप आयोजना गरिएको थियो । प्याराग्लाईडिङ वल्र्डकपमा ९४ जना विदेशी पाईलटले(महिला तथा पुरुष)क्रसकन्ट्री इभेण्टमा प्रतिस्पर्धा गरेका थिए ।

आईटिएफ टेनिस जुनियर प्रतियोगिता –पोखरामै माघको अन्तिम सातादेखि आईटिएफ विश्व बरियता जुनियर यु–१८ टेनिस प्रतियोगिता आयोजना गरिएको थियो । अघिल्लो वर्ष नै आईटिएफ जुनियर टेनिस सर्किट १ र २ आयोजना गरिएको थियो । आईटिएफको यो संस्करणमा विभिन्न १९ देशका विभिन्न उमेर समूहका खेलाडीहरु पोखरा आईपुगेको थिए । झण्डै एकसाता लामो प्रतियोगिता चल्यो । त्यसभन्दा अघि पोखरामै राष्ट्रियस्तरको ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आयोजना गरिएको थियो ।

महिला राष्ट्रिय हक्की–पोखरामा पहिलो पटक महिला राष्ट्रिय हक्की प्रतियोगिता(सहाना स्मृति दोस्रो राष्ट्रिय महिला हक्की) आयोजना गरियो । गत फागुन १७ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा आयोजना गरिएको थियो । सातै प्रदेशसहित नेपाली सेनाको टोलीले उपाधिको लागि प्रतिस्पर्धा गरेको थियो । उपाधि प्रदेश नं ५ ले जितेको थियो ।

राष्ट्रिय पारा टेवल टेनिस– पोखरामा माघको पहिलो साता पोखरामा राष्ट्रिय पारा टेबल टेनिस प्रतियोगता आयोजना गरियो । शारीरिक अपांग टेवल टेनिस संघको आयोजना तथा कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा आयोजित प्रतिस्पर्धामा ६ जिल्लाका ९० खेलाडी सहभागि थिए । दुईदिनसम्म चलेको प्रतियोगितामा  विभिन्न पाँच इभेण्टमा प्रतिस्पर्धा गराईको थियो  प्रतियोगितामा कास्की, दाङ, रोल्पा, विराटनगर, धनगढी र काठमाडौंका खेलाडीहरुको सहभागिता रहेको कास्की जिल्ला टेबल संघले जनाएको छ ।

पदकको उपलब्धी–दक्षिण एशियाली खेलकुदमा गण्डकी प्रदेशले एक स्वर्ण जित्यो । बाग्लुङका नविन रसाईलीले सितेरियो कराँतेमा स्वर्ण पदक जित्दै इतिहास लेखाए । तनहुँको अनु गुरुङले पनि रजत पदक जितिन् । स पोखरेली जमुना थापाले डाउनहिल साईक्लिङमा रजत पदक जितिन् । जुन अर्को ऐतिहासिक पदक पोखराको लागि थियो । मूहगत खेलमा पनि गण्डकी प्रदेशले पदकको उपलब्धी हासिल गरेको छ । महिला भलिबल(अरुणा शाही) महिला ह्याण्डबल, महिला फुटबल(सावित्रा भण्डारी)मा गण्डकी प्रदेशले पदक जितेको थियो । आर्चरीमा पनि कास्य पदक जितेर सन्तोष मान्नुपर्ने अवस्था रह्यो ।

मुख्यमन्त्री कप फुटबलको शुरुवात-गण्डकी प्रदेशको आर्थिक सहयोग, कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोग र प्रदेश लिग कमिटिको आयोजनामा पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको शुरुवात हुन पुग्यो । ५  लाख नगदराशीको पुरस्कार थियो । पहिलो उपाधि लमजुङको त्रिवेणी क्लबले उचाल्यो । यद्यपी विवादको घेराबाट माथि उठ्न सकेन् । प्रतियोगिताको शुरुवातदेखि नै विवादमा रुमलिएको प्रतियोगिता उपाधि विजेताले पुरस्कार वापतको रकम नपाएको अवस्थासम्म विवादमै अल्झियो ।

नियमित रुपमा आयोजना हुने प्रतियोगिता मध्ये आहा रारा गोल्डकप, पोखरा अन्तराष्ट्रिय म्याराथन, सुर्य नेपाल वेष्टर्न ओपन गल्फ र फ्रेन्चाईज क्रिकेट लिग पोखरा प्रिमियर लिग प्रतियोगिता आयोजना गरिएका थिए । 

file pic