बहुउद्देश्यीय कभर्ड हलमा सिट जडान गर्न टेण्डर आह्वान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ४ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलको लागि सिट जडान गर्न टेण्डर आह्वान गरेको छ । बिहीबार टेण्डरको लागि सार्वजनिक सूचना निकालेको हो । निर्माण पुरा भएको झण्डै तीन वर्षपछि परिषदले कभर्ड हलमा सिट जडान गर्ने योजनासहित टेण्डर निकालेको हो ।

दर्शक क्षमताले नेपालकै ठूलो कभर्डहलमा दुई हजार सिट जडान गरिने छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै समयमा सिट जडान तथा साउण्ड व्यवस्थापन गर्ने योजना भएपनि ढिलाई भएको थियो । विना र साउण्ड सिष्टम व्यवस्थापन नगरिकनै गत मंसिरमा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता सम्पन्न गरिएको थियो ।

सागकै समयमा ह्याण्डबल प्रतियोगिताको लागि म्याट व्यवस्थापन गरिएको थियो । म्याटसहित हल मर्मत सम्भार तथा सरसफाई गर्नुपर्ने खाँचो छ । हललाई व्यवासायिक प्रयोजनमा ल्याईएपनि सरसफाई तथा मर्मत सम्भार गर्ने तर्फ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले खासै ध्यान दिएको छैन् । क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीका अनुसार यो आर्थिक वर्षमा हलको लागि ५करोड रुपैयाँ छुट्टिएको छ । छुट्टिएको बजेटबाट सिट जडान, साउण्ड सिष्टम व्यवस्थापन तथा अन्य डोकोरेशनका कामहरु गरिने उनले बताए ।

परिषदले सिट जडानको लागि टेण्डरको अन्तिमम्याद आगामी मे १७ तारिख तोकेको छ । सिट जडानको लागि झण्डै दुई करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सिट व्यवस्थापन पछि दर्शकले खाली सिमेण्टमा बसेर प्रतियोगिता हेर्नुपर्ने बाध्यताको भने अन्त्य हुने छ । निकालिएको टेण्डरमा कम्पनीले पछिल्लो दशवर्षदेखि काम गर्दै आएको छ तीन वर्षमा ३३.२ मिलियनको टर्न ओभर गरेको हुनुपर्ने प्रावधान छ ।

१५ महिनमा निर्माण पुरा गर्ने लक्ष्यसहित रंगशालामा बहुउद्देश्यीय कभर्डको शिलान्यास गरिएको थियो । तत्कालिन सदस्य सचिव युवराज लामाले २०७१ बैशाख दोस्रो साता शिलान्यास गरेका थिए । २०७२ को विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीकै कारण निर्माणमा ढिलाई भएको थियो । १४ करोड ३० लाख रुपैयाको लागता निर्माण सक्ने लक्ष्य रहेपनि पटक पटक म्याद थपिदैं टुंग्याउँदा १५ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । पोखरा रंगशालामा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल नेपालकै ठूलो रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जनाए । प्राविधिकका अनुसार २१५६ सिट क्षमताको छ । कभर्ड हलको ७७ मिटर लम्बाई र ५० मिटर चौडाईको छ । उनका अनुसार हल डाँफे, मुन्ना एण्ड आचार्य प्रतिष्ठा(ज्वाईन्ट भेन्चर) कम्पनीले निर्माण गरेका हुन् । file pic