लकडाउनले रोकिएन अभ्यास फुटबल मैदान निर्माणको काम

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १७ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-झण्डै एक महिना भयो काम निरन्तर भईरहेको छ । लकडाउन भएपनि पोखरा रंगशालाभित्रको काम भने रोकिएको छैन् । नियमित रुपमा पोखरा रंगशालाभित्रको काम काज एवं मर्मत सम्भार भईरहेको छ ।

समय पनि केवल १० महिना मात्रै छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी पनि पोखराकै काँधमा छ । आयोजना गर्ने दायित्वसँगै भौतिक पूर्वाधारको खाँचो छ । अभ्यास फुटबल मैदान बनाउन महिनादिनदेखि काम भईरहेको छ । केही ठाँउमा पार्किङको लागि खाली ठाँउ बनाईएको छ । ‘अभ्यास फुटबल मैदानसहित केही ठाँउमा पार्किङको लागि काम गरिरहेका छौं’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने–‘लकडाउनमा समेत मजदुर राखेर काम गराईरहेका छौं ।’ उनका अनुसार अभ्यास फुटबल मैदान बनाउन ३५ जना भन्दा कमादारले काम गरिरहेका छन् ।

अभ्यास फुटबल मैदान बनाउने काम रोकिएपछि फेरी शुरु गरिएको हो । नेतृत्व र जिम्मेवारी बोर्ड सदस्य गुरुङले लिएका छन् । उपभोक्ता समिति मार्फत काम भईरहेको छ । अनुगमन र निर्देशन भने बोर्ड सदस्य गुरुङले गरिरहेका छन् । मैदान सम्याई सकिएको छ । अब दुवो रोप्ने काम पछि गोलपोष्ट राखिने उनले सुनाए । रंगशालाभित्रका सडकको किनारमा हरियालीको लागि बृक्षारोपण गरिएको छ भने केही ठाँउलाई पार्किङ बनाईने योजना रहेको उनको भनाई थियो । एक अर्ब २८ करोडमा निर्माणाधिन पोखरा रंगशालाा फुटबल मैदानसहितको प्यारापिट निर्माणको काम भने रोकिएको छ ।

क्रिकेट मैदानको लागि टेण्डर आह्वान भईसकेको छ । तीन करोड रुपैयाँको बजेट छ । बजेटले मैदानमा पीच मर्मत, बाउण्ड्री लाईन भन्दा बाहिर तारबारको फेन्सिङ, नाली निर्माण, दक्षिण तर्फ पभेलियन बनाउने योजनासहित टेण्डर आव्हान गरिएको हो । यद्यपी लकडाउनकै कारण दोस्रो पटक सूचना निकालिएको छ ।

‘नवौंलाई राष्ट्रिय खेलकुदलाई तयारीको लागि टेण्डर आह्वान भईसकेको छ । सम्भवत लकडाउन लगत्तै काम शुरु हुन्छ’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘प्रदेश सरकारको पनि बजेट छ । त्यसलाई भने पशुपतिघाटमा अर्को क्रिकेट मैदान बनाउन लगानी गरिने छ ।’ पशुपतिघाटमा भने प्रदेश सरकारले दिने एक करोडबाट जमिन सम्याई क्रिकेट पीच बनाउने योजना छ ।

राष्ट्रिय खेलकुद परिषदले पनि बहुउद्देश्यीय कभर्ड हलमा सिट राख्नको लागि पनि टेण्डर आह्वान गरिसकेको छ । दुई हजार सिट राख्ने योजनासहित टेण्डर आह्वान गरिएको हो । सिट लगायन अन्य व्यवस्थापनको लागि परिषदले पाँच करोड रुपैयाँ विनियोजन गरिएको थियो । pic by-E.Pranish