आर्थिक वर्षभित्र सक्ने गरी घान्द्रुक फुटबल मैदानलाई ५० लाख

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २४ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आर्थिक वर्ष सकिन केवल दुई महिना मात्रै बाँकी रहँदा घान्द्रुकमा फुटबल मैदान बनाउन ५० लाख रुपैयाँ निकासा भएको छ । राष्ट्रिय खेलकुद परिषदले पर्यटकीय गाँउ घान्द्रुकस्थित मेश्रम बराह माविको खेल मैदान निर्माण गर्न बजेट निकासा गरिदिएको हो । निकासा गरिएको बजेटले असार मसान्तसम्ममा काम टुग्याउनुपर्ने बाध्यता छ ।

विद्यालयको फुटबल मैदान बनाउन यस अघि १५ लाख रुपैयाँ निकासा भएको थियो । निकासा भएको रकमले सर्भेसहित काम शुरु गरिएको थियो । भिरालो जमिनको ओरालो भागमा ग्याभिन लगाइएको छ । अहिले निकासा भएको रकमले मैदानलाई पूर्णता दिईने छ ।

‘यो आर्थिक वर्षभित्रमा काम सक्नुपर्ने दायित्व र जिम्मेवारीसहित बजेट आएको छ । मैदान निर्माण पुरा गर्नुपर्ने छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्बतमान अध्यक्ष सम्पन्न श्रेष्ठले भने–‘निकासा भएको बजेटसँगै मैदानको अनुगमन गर्यौं । निर्माणलाई प्राथमिकतामा राखेर काम टुग्याउन समेत स्थानीयलाई आग्रह गरेका छौं ।’ उनले ग्रामीण भेगमा निर्माण हुने खेलकुद पूर्वाधारले युवापुस्तालाई खेलकुदमा आकर्षित र प्रेरित गर्ने विश्वास लिइएको सुनाए ।

मैदानको लागि डाडाँ खारेर माटो फिलिङ गर्नुपर्ने उनले बताए । ‘माटो फिलिङ गर्ने र मैदानमा रहेको कुलोलाई काटेर अन्यत्र निकास गराउनुपर्ने आवश्यकता छ’–उनले भने–‘त्यो नै महत्वपूर्ण काम हो । ड्रेनेज बनाएर पानी बाहिर निकाल्नुपर्छ ।’ मैदान १०० मिटर लम्बाई र ६४ मिटर चौडाईको निर्माण हुने छ । मैदान तयार भएपछि यो नै कास्कीको सबैभन्दा उचाईको फुटबल मैदान हुने छ ।

यसैगरी कास्कीकै अन्नपूर्ण गाँउपालिकाले ढिकुरपोखरीको खेल मैदानलाई ५० लाख रुपैयाँ थप गरेर निर्माण गर्ने जनाएको छ । प्यारापिट तथा चेन्जिङ रुम निर्माण गर्ने लक्ष्य रहेको छ । ढिकुरपोखरीको खेल मैदान पोखरादेखि झण्डै २६ किलोमिटरको दुरीमा पर्छ ।