नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७, पूर्वाधारको लागि ४३ करोड ७० लाख रुपैयाँ माग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १५ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-यसै वर्षको फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत सम्बोधन गरिएको छ । संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले आवश्यक बजेट विनियोजन गरेको छु भने पछि अन्यौलमा परेको खेलकुद प्रतियोगिता हुने सम्भावना बढेको हो । यस अघि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भने समावेश नगरेपछि ३७ वर्ष पछि आयोजनाको संघारमा रहेको राष्ट्रिय प्रतियोगिताको अन्यौल बढेको थियो ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सरकारसँग खेल पूर्वाधार निर्माण एवं मर्मत सम्भारको लागि ४३ करोड ७० लाख रुपैयाँ माग गरेको थियो । गण्डकी प्रदेशका विभिन्न ११ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जनाउँदै जिल्लामा भएका पूर्वाधारको मर्मतसम्भार एवं स्तरोन्नतिको लागि बजेट माग गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । उनका अनुसार युवा तथा खेलकुद मन्त्रालय मार्फत बैशाखको पहिलो साता बजेट माग गरिएको थियो ।
नवौं राष्ट्रिय खेलुकद प्रतियोगिताको पुर्वाधार तयार पार्न अन्य विभिन्न जिल्लामा समेत बजेट माग गरिएको छ । पोखरा रंगशालामा एथलेटिक्स र फुटबल प्रतियोगिता सञ्चालन गरिने छ । पोखरामै आयोजना हुने बक्सिङको लागि ४० लाख, तेक्वान्दो महिला तथा पुरुष(बाग्लुङ)मा प्रस्ताव गर्दै ३० लाख रुपैयाँ माग गरिएको छ । कराँते महिला तथा पुरुष(पर्वत) ४० लाख, भारोत्तोलन बाग्लुङमा गरिने भन्दै समितिले ३५ लाख रुपैयाँ माग गरेको कार्यलय प्रमुख योगीले बताए ।
पोखरामै भलिबल आयोजना गरिने छ । २५ लाख माग गरिएको छ । मुस्ताङमा टेबलटेनिस आयोजन ागर्ने योजना सहित कभर्ड हलको लागि १ करोड रुपैयाँ माग गरिएको छ । नवलपुरमा कबड्डीको लागि २० लाख, व्याडमिन्टन(लम्जुङ) एक करोड रुपैयाँ, नवलपुरमा कुस्तीको लागि २५ लाख, पोखरामा उसुको लागि २० लाख, जुडो(गोरखा)लाई २५ लाख, बास्केटबल(तनहुँ) २० लाख, बुद्धिचाल(मनाङ) ५० लाख, ह्याण्डबल(पोखरा) ४० लाख म्याटको लागि माग गरिएको छ ।
आईटिएफ तेक्वान्दो(स्याङजा) ५० लाख, फुलकन्ट्याक्ट कराँते(म्याग्दी) ३५ लाख, ह्क्की(पोखरा)२५ लाख, स्क्वास(पोखरा) ३५ लाख, सुटिङ(पोखरा) ९ करोड ५० लाख, जिम्न्याष्टिक(पोखरा) २५ लाख, लन टेनिस(पोखरा) २० लाख, सफ्ट टेनिस(पोखरा), क्रिकेट(पोखरा) ७० लाख, साईक्लिङ(पोखरा)१५ लाख, आर्चरी (पोखरा) १५ लाख, सेपाक ताक्रो(पोखरा) ३० लाख, खो खो(नवलपुर) ३५ लाख, फेन्सिङ(पोखरा)२० लाख, पौडी(पोखरा) २० करोड, गल्फ(पोखरा) ३५ लाख, शारीरिक सुगठन(पोखरा) २० लाख, प्याराग्लाईडिङ(पोखरा) २० लाख, ट्रायथोलन(पोखरा) ३० लाख रुपैयाँ रहेको छ । यसैगरी दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना हुदाँ राखिएको दोहोरी गीत प्रतियोगितालाई राख्न प्रस्ताव समेत गरिएको छ । दोहोरी गीत प्रतियोगिताको लागि पनि २० लाख रुपैयाँ बजेट माग गरिएको छ ।
पूर्वाधारसहित पोखरा रंगशाला प्राक्टिस मैदान, खानेपानी डिप बोरिङ, मिडिया सेन्टर, मेडिकल सेन्टर निर्माण लगायतलाई १ करोड ५० लाख रुपैयाँ माग गरिएको समितिले जनाएको छ ।
‘प्रदेश सरकारसँग पनि २ करोड ८८ लाख रुपैयाँ माग गरिएको छ ।’ कार्यालय प्रमुख योगीले भने–‘प्रदेशले पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बजेट छुट्टाउने अपेक्षा छ ।’ उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको गौरव भएको उल्लेख गर्दै सबै तह र तप्का एवं प्रदेश सरकारबाट सहयोग हुने विश्वास छ । प्रदेश सरकारसँग खेल सामाग्रीको लागि २० लाख, खेलस्तर ग्रिनरी एवं सजावटको लागि ५० लाख, गण्डकी प्रदेशबाट छनौट भएका खेलाडीहरुलाई २० दिने बन्द प्रशिक्षणको लागि १ करोड ७५ लाख, खेलाडी तथा अफिसियललाई मायाको चिनो प्रदान गर्न १८ लाख, स्वागत गेट निर्माण गर्न १५ लाख, प्रचार प्रसारको ला,िग १० लाख रुपैयाँ माग गरिएको कार्यालय प्रमुख योगीले बताए ।