परिषदको लगानीमा छ वटा बैकल्पिक फुटबल मैदान तयार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १७ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा र आसपासमा छ वटा फुटबल मैदान निर्माण गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले विभिन्न चरणमा गरी फुटबल मैदान बनाउन बजेट उपलब्ध गराउँदै आएको छ ।

एक अर्ब २८ करोडको लागतका पोखरा फुटबल मैदान एवं प्यारापिट बाहेक परिषदले ६ वटा बैकल्पिक फुटबल मैदान बनाएको हो । तीन वर्ष यता राष्ट्रिय खेलकुद परिषदले फुटबल मैदानको पूर्वाधार बनाउन झण्डै पाँच करोड रुपैयाँ खर्चिएको छ ।

परिषदले पोखरा रंगशालाभित्र बैकल्पिक(प्रशिक्षण) फुटबल मैदान निर्माण गरेको छ । त्यो फुटबल मैदान निर्माण गर्न दुईवटा निर्माण समिति गठन गरिएको थियो । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै समयमा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्षको नेतृत्वमा समिति गठन गरी निर्माणको जिम्मेवारी दिइएको थियो । निर्माण शुरुभयो तर बीचैमा अलपत्र पर्यो । त्यसपछि परिषद आफैंले निर्माण गर्यो । निर्माण गरिएको मैदानमा गोलपोष्ट राख्ने काम बाँकी छ ।

रंगशालाभित्रको बैकल्पिक फुटबल मैदान बनाउन पहिलो पटक ३० लाख रुपैयाँ खर्च गरिएको थियो । दोस्रो चरणमा ३५ लाख रुपैयाँमा सम्झौता गरिदैं काम फत्ते गरियो । ‘६५ लाख रुपैयाँको लागतमा मैदान बनाईयो ।’ खेलकुद विकास समितिका पदाधिकारी सुनाउँछन् । परिषदकै लगानीमा पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदान निर्माण गरेको छ । त्यसलाई पनि बैकल्पिक फुटबल मैदानको रुपमा विकास गरिएको छ ।

भिआईपी प्यारापिटसहितको चेन्जिङ रुम केही दिन अघि मात्रै ढलान गरिएको छ । दर्शकको लागि प्यारपिट समेत बनाइएको छ । परिषदले त्यस मैदानको लागि २ करोड ८० लाख रुपैयाँ खर्चिएको क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक(ई.) प्रनिस ताम्राकारले सुनाए । ‘तीन वर्ष अघि काम शुरु गरिएको थियो । अहिले मैदानले पूर्णता पाउँदै छ ।’ गोस्ते खेलमैदान निर्माण समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले बताए ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै दौरानमा महिला फुटबलको लागि बैकल्पिक फुटबल मैदानको रुपमा पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानको स्तरोन्नति गरिएको छ । मापदण्ड अनुसार स्तरोन्नति गरिएको छ । मैदानको चारैतिर नाली निर्माण गरी तारजाली(फेन्सिङ) लगाइएको छ । परिषदले गौरीशंकर खेल मैदानको लागि १ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ ।

‘मैदानको निर्माण अन्तिम चरणमा थियौं । कोभिड–१९ कोरोना भाइरसकै कारण लगाइएको लकडाउन (घरबन्दी)ले काम रोकियो ’ –गौरीशंकर खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुँवरले भने–‘प्यारापिट बनाईसकिएको छ । भीआईपी र चेन्जिङ रुम एवं शौचालयलाई फिनिसिङ टच दिन बाँकी छ ।’ पोखराकै पुरानो टुँडिखेललाई संरक्षण गर्दै फुटबल मैदानको रुपमा विकास गर्ने लक्ष्य र उद्देश्यसहित गतवर्ष १५ लाख रुपैयाँ खर्चिएर मैदान संरक्षणको काम गरिएको छ । टुँडिखेलमा स्थानीय बगरभाइ खलकले नियमित रुपमा भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता गर्दै आएको छ ।

शहरमा मात्रै केन्द्रीत नभई परिषदले एक स्थानीय तह एक खेल मैदानको नीति अनुसार अन्नपूर्ण गाँउपालिकास्थित ढिकुरपोखरीमा स्थानीय माछापुच्छ«े माविको खेल मैदानलाई स्तरोन्नति गरिएको छ । परिषदले १२ लाख रुपैयाँ स्तरोन्नति गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालय मार्फत सिधै गाउँपालिकको खातामा यसै वर्ष ५० लाख रुपैयाँ पठाईदिएको छ । पर्यटकीय गाँउ घान्द्रुकमा समेत फुटबल मैदान बनाउने लक्ष्य र योजनासहित ६५ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ । गतवर्ष १५ लाख रुपैयाँबाट काम शुरु गरिएको मेश्रम बराह माविको मैदानलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।