कास्की जिल्ला फुटबल संघमाथि एन्फाको छानविन शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १७ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघभित्र आर्थिक पारदर्शीता नभएपछि अखिल नेपाल फुटबल संघ(एन्फा)ले छानविन शुरु गरेको छ । छानविनको लागि तीन सदस्यीय टोली गठन गर्दै बुधबारदेखि छानविनको काम अघि बढाएको छ । बुधबार पहिलो दिन छानविन समितिले फुटबल संघका पदाधिकारी एवं सदस्यहरुसँग आवश्यक छलफल गर्दै समितिको बारेमा जानकारी दिई सहयोगको अपिल गरेको छ ।

एन्फाका उपाध्यक्ष विरबहादुर खड्काको संयोजकत्वमा गठित छानविन टोलीमा विष्णुप्रसाद पराजुली(चाटर्ड एकाउन्टेण्ट) र आनन्द रन्जित(पूर्व अध्यक्ष कास्की जिल्ला फुटबल संघ) छन् । छानविन समितिले पछिल्लो दुई वर्षको कास्की जिल्ला फुटबल संघको गतिविधिसहित आयव्यय तथा एन्फाले उपलब्ध गराएको पैसाको खर्चको विवरण छानविन गर्ने जनाएको छ । छानविन समितिका सदस्य आनन्द रन्जितका अनुसार कास्की जिल्ला फुटबल संघले आयोजना गरेको मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छैन् । क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

ग्रास रुट कार्यक्रम अन्तगर्त कास्की जिल्ला फुटबल संघले एकेडेमी नै शुरु गरेको थियो । एकेडेमीमा शुल्क लिएर प्रशिक्षण गराउँदै आएको थियो । त्यसको आयव्यय समेत छानविन समितिले आफनो रिपोर्टमा पेश गर्ने छ । ‘मनकामना केवलकार पोखरा कपदेखि ग्रास रुट कार्यक्रम सबैको आयव्यय विवरण सबै हरहिसाब हेर्ने छौं’– सदस्य रन्जितले भने–‘बुधबार केवल कास्की जिल्ला फुटबल संघका पदाधिकारी तथा सदस्यसँग सामान्य छलफल गरेर सहयोगको लागि आग्रह गर्यौं ।’

कास्की जिल्ला फुटबल संघले मनकामना केवलकार पोखरा कपको दुई संस्करणको आयव्यय सार्वजनिक गरेको छैन् । व्यानरबाट प्राप्त रकम समेत देखाइएको छैन् । गेट टिकट देखि अन्य स्रोतको आम्दानीलाई पारदर्शी ढंगले सार्वजनिक गरिएको छैन् । क्लबस्तरीय बलराम स्मृति लिग समेत आयोजना हुदाँको खर्चको विवरण समेत प्रस्तुत नहुदाँ बाध्य भएर अखिल नेपाल फुटबल संघले छानविन शुरु गरेको हो ।

एन्फाले कास्की जिल्ला फुटबल संघलाई दुईवर्षमा १२ लाख रुपैयाँ खातामा पठाईदिएको थियो । पठाईदिएको रकम पनि पारदर्शी ढंगले खर्च नभएको गुनासो रहदैं आएको थियो । ‘ कास्की जिल्ला फुटबल संघसँग खर्चको विवरणसहित कागजपत्र मागेका छौं’ उनले भने–‘त्यो सँगै एन्फाबाट आएको पैसा कहाँ खर्च भयो । क कसलाई दिइयो, सबै बैंकको स्टेटमेन्ट मगाइएको छ ।’ उनले कागजपत्रको लागि छानविन समितिले पत्रचार गरिसकेको छ ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ केही महिना अघि मात्रै फर्जी (बाउन्स)चेकको अभियोगमा पक्राउ परेका थिए । संघको आयव्यय संघकै अन्य पदाधिकारी र सदस्यलाई थाहै नहुने समेत गुनासो गर्दै आएका छन् । ‘फुटबल संघ संस्थागत भन्दा पनि व्यक्तिवादी सोंचले चल्दै आएको छ  ।’ फुटबल संघ स्रोतले भन्यो–‘व्यक्तिवादी सोंच र एकल निर्णयले संस्थाको आँचमा ठेस पुग्यो ।’

केही समय अघि कास्की जिल्ला फुटबल संघ विरुद्ध नै उजुरी परेको थियो । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले फुटबल संघलाई जानकारीको लागि पत्र पठाएको थियो । पत्र अनुसार कास्की जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता कतिऔं सस्करण सम्पन्न भए? मनकामना केवलकार पोखरा कपको आम्दानी विवरण(प्रवेश शुल्क÷टिकट विक्री÷प्रायोजक÷उपप्रयोजक÷व्यापारी तथा व्यवसायसँग विज्ञापन वापतको शुल्क के कति आएको ?विभिन्न प्रतियोगिताका विजेतालाई  पुरस्कार राशी उपलब्ध भईसकेको छ ÷छैन ?, खर्चको रकममा टि.डि.एस कट्टा गरी दाखिला भए नभएको विवरण पेश गर्न आग्रह गरेको छ ।

प्रशासनले २०७४ माघ २ गते भएको निर्वाचनपछि गठित समितिले कुन कुन संस्करणको के कस्ता स्तरका प्रतियोगिता सञ्चालन भए, मिलन गुरुङ अध्यक्ष भएपछि कुन कुन स्तरका कति खेलहरु सम्पन्न गरिए सो को आयव्यय सहितको सम्पूर्ण विवरण खुलाउने विषयमा परिपत्र गरेको छ । त्यही परिपत्रकै आधारमा अखिल नेपाल फुटबल संघ(एन्फा)ले छानविन थालेको हो । प्रशासनको पत्रमा मिलन गुरुङले कास्की जिल्ला फुटबल संघसँग सम्बन्धित खेल प्रतियोगित लगायतका आम्दानी खर्चको विवरण कार्यालयको खाता माफृत कारोबार नगरी व्यक्तिगत रुपमा कारोबार गर्ने गरेको हो÷होईन भन्ने बारेमा समेत खुलाउन कास्की जिल्ला फुटबल संघलाई निर्देशन गरेको छ ।