पोखरा रंगशालाको कभर्ड हल ‘होल्डिङ सेन्टर’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २० गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कोरोना भाइरस (कोभिड–१९)कै महामारीमा विदेशबाट फर्किने नेपालीको संख्या बढ्दै गएको छ । विदेशबाट आएका सर्वसाधारणलाई सुरक्षित रुपमा काठमाडौंबाट सम्बन्धित गृहजिल्ला पुग्न सहजताको लागि होल्डिङ सेन्टर स्थापित गरिएको छ । गण्डकी प्रदेश सरकारले पनि ११ जिल्लालाई लक्षित गर्दै पोखरा रंगशालालाई होल्डिङ सेन्टर बनाउने निर्णय गरेकोछ । गण्डकी प्रदेश सरकार, नेपाली सेना, नेपाल प्रहरी तथा खेलकुदका व्यक्तित्वहरुसँग छलफलबाट शनिबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हललाई होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको छ । ‘ ठाँउकै अभावले समस्या थियो । अन्य ठाँउ भन्दा सुरक्षित र उपयुक्त रंगशाला देखियो ।’ गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक योजना तथा निर्माण मन्त्री रामशरण बस्नेतले भने–‘विदेशबाट आएकालाई केहीघण्टा होल्ड मात्रै गर्ने हो । केहीबर आरामपछि सम्बन्धित जिल्लामा पठाउँछौं ।’

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हललाई होल्डिङ सेन्टर बनाउन आवश्यक खर्च प्रदेश सरकारले नै व्यहोर्ने छ । विदेशबाट आएका सर्वसाधारणलाई केही समय आराम गर्न म्याट एवं सिरानी लगायत सामानको व्यवस्था गरिने मन्त्री बस्नेतले सुनाए । उनका अनुसार रंगशाला अन्य ठाँउभन्दा उपयुक्त र सुरक्षित छ । होल्डिङ सेन्टर बनाउन प्रदेश मन्त्री बस्नेतसहित सुरक्षा निकाय, पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङ, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्मा , नेपाली सेना पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारी, राष्ट्रिय खेलकुद परिषदका निवर्तमान बोर्ड सदस्य राजेश गुरुङ, तथा खेलकुदकर्मीले अनुगमन तथा निरिक्षण गरेका थिए । विदेशबाट फर्किने क्रम बढ्दै गएको छ । फर्किएको नेपालीको स्वास्थ्य परीक्षण विमानस्थलमै गरिने छ । त्यसपछि पोखरा रंगशालास्थित होल्डिङ सेन्टरमा राख्नु अघि पनि सर्वसाधारणको सामान्य ज्वरो नापिने मन्त्री एवं प्रवक्ता बस्नेतको भनाई थियो । ‘सवैको ज्वरो नापेरै राख्छौं । बढीमा तीन चार घण्टा आरामपछि गाडीको व्यवस्था गरेर सम्बन्धित जिल्लामा पठाइन्छ ।’ उनले भने ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएपछि विदेशबाट आएका नेपालीलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म ल्याउने छ । प्रदेश सरकारले बाग्लुङ, म्याग्दी र मुस्ताङ जाने सर्वसाधारणको लागि बाग्लुङसम्मको बसको व्यवस्था गर्ने छ । स्याङजाको हकमा भने स्याङजाकै स्थानीय तहले गाडीको व्यवस्था गरेको समेत मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले एकै दिन बढीमा ८० जनासम्म होल्डिङ हुने बताए । ‘बढीमा ८० जनासम्म राख्छौं । नत्र सामान्यत ३० देखि ५० जनासम्म हुन्छन् ।’ उनको भनाई थियो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले राज्यको सम्पति राज्यलाई आवश्यकता परेको अवस्थामा उपयोग गर्न सक्ने बताए । ‘यो विषम परिस्थितिमा सरकारलाई सहयोगी गर्नुपर्ने दायित्व र जिम्मेवारी हो’ उनले भने–‘खेलकुद गतिविधि ठप्प प्राय रहेको अवस्थामा होल्डिङ सेन्टर बनाउँदा असर हुदैन् ।’ होल्डिङ सेन्टर कोरोना महामारीको अन्त्य नहुदाँसम्म एवं विदेशबाट नेपाली फर्किने क्रमसम्म रहने छ । पोखरा रंगशालामा गत चैत ५ गतेदेखि खेलकुद गतिविधि नगर्न जिल्ला खेलकुद विकास समितिले सूचित गरेको थियो । असार लगत्तै रंगशालाभित्र खेलकुदको गतिविधि विस्तारै बढ्दै गएको थियो । होल्डिङ सेन्टर बनाउँदा खेल क्षेत्रमा केही असर पर्नेमा खेलकुदसँग सम्बन्धित खेलकर्मीहरु सुनाउँछन् ।