छानविनलाई सघाउन राजीनामा माग्ने र दिने विषयमा छलफल गरिदैं

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २२ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) -आर्थिक अनियमिताको विषयमा कास्की जिल्ला फुटबल संघमाथि भईरहेको छानविनलाई सहजीकरण गर्न फुटबल संघका पदाधिकारीले अध्यक्ष मिलन गुरुङको राजीनामा माग्ने निर्णयमा पुगेका छन् । छानविन समितिलाई सहजीकरण गर्न अध्यक्ष गुरुङले राजीनामा नदिए संघका पदाधिकारी तथा सदस्य भने सामूहिक राजीनामा दिएर निकास खोज्ने मनस्थितिमा छन् । सामूहिक राजीनामा दिने विषयमा आन्तरिक छलफलमा भईरहेको संघ स्रोतले जानकारी दिएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले गएको सातादेखि कास्की जिल्ला फुटबल संघको आर्थिक अनियमितता भएको व्यापक गुनासोको लामो समयपछि छानविन शुरु गरेको थियो । छानविन समितिले २०७५ माघ १४ मा आयोजित छैटौं सस्करणका मनकामना केवलकार पोखरा कपको आयव्यय विवरण संघसँग मागिसकेको छ । त्यति मात्रै नभई फुटबल प्रतियोगिताको दौरानमा बनाइएको विभिन्न समिति तथा उपसमिति संयोजकसहतिको नामावली समेत संघबाट छानविन समितिले माग गरेको छ । ‘आवश्यकता अनुसार संघको माइन्युट माग्दै छानविन शुरु गरिरहेका छन् । हामीले त्यो दिदैं आएका छौं’ स्रोतले भन्यो–‘छानविनलाई सहजीकरण मागेका आवश्यक कागजपत्र बुझाइएको छ ।’

मनकामना केवलकार कप पोखरा कप आयोजना हुदाँ संयोजक एवं बनाइएको विभिन्न समितिको संयोजक तोकिएको विषयमा भने माईन्युट गरिएको छ । तर खर्चको विवरणको माईन्युट भने छैन् । कतिपय खर्च अध्यक्षकै एकल निर्णयमा खर्च भएको छ । अध्यक्षकै एकल निर्णयले गर्दा खर्चको माइन्युट लेखिएको छैन् । विभिन्न संघसंस्थालाई कामको जिम्मेवारी दिने निर्णयको समेत माइन्युट नभएको संघ स्रोतले बनायो ।

संघको माईन्युट विना एकल निर्णयले गरेको परिणाम अहिले छानविन शुरु भएको पदाधिकारी स्वीकार्छन् । ‘संघले संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा काम गर्दाको परिणाम अहिले प्रष्टिएको छ ’–स्रोतले भन्यो ‘त्यही भएर छानविन समितिलाई सहजीकरण गर्न अध्यक्षको राजीनामा मागेर सहयोगको लागि आग्रह गर्छौ । अध्यक्षले राजीनामा नदिए संघकै अन्य पदाधिकारी तथा सदस्यले राजीनामा दिएर निकास खोज्न सघाउ पुर्याउँछौं ।’

छानविन समितिले संघको दुईवर्षे कार्यकालको आयव्यय विवरण सबै अनुसन्धान गर्ने छ । मनकामना केवलकार कप पोखरा कपको समयमा प्रायोजनबाट आएको रकम, टिकटबाट उठाएको रकम, व्यानरबाट उठाएको रकम सबै हिसाबकिताब हेरिने समितिले जनाएको छ । संघले विभिन्न संघसंस्थालाई चेक मार्फत भुक्तानी गरिएको विषयमा समेत संघकै कोषाध्यक्षसँग छुट्टै सोधपुछ गरिने समितिले जनाएको छ । क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता, छात्रा तथा छात्र विद्यालयस्तरीय एवं महिला फुटबल प्रतियोगिता, ग्रास रुट कार्यक्रम अन्तर्गत एकेडेमीको आम्दानी खर्च समेत छानविन समितिले छानविन गरेपछि रिपोर्ट अखिल नेपाल फुटबल संघ(एन्फा)मा पेश गर्ने छ । रिपोर्ट आधारमा एन्फाले कारवाही गर्ने नगर्ने निर्णय लिने छ । एन्फाका उपाध्यक्ष विरबहादुर खड्काको संयोजकत्वमा गठित छानविन टोलीमा विष्णुप्रसाद पराजुली(चाटर्ड एकाउन्टेण्ट) र आनन्द रन्जित(पूर्व अध्यक्ष कास्की जिल्ला फुटबल संघ) छन् ।