पोखरामा जिमन्याष्टिकको गतिविधि शून्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ५ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरामा जिमन्याष्टिकको राष्ट्रिय प्रतियोगिता नभएको ३१ वर्ष बित्यो । जिमन्याष्टिक संघ कास्कीको अनुसार २०४६ सालपछि पोखरामा राष्ट्रिय जिमन्याष्टिक प्रतियोगिता भएको छैन् ।

सामान छैनन् । प्रशिक्षण हुदैन् । भएका केही सामान जीर्ण छन् । स्टोरकै अभावले व्यवस्थापन हुनै सकेन् । सामान, प्रशिक्षणकै अभाव छ । अभावकै अभावले पोखरामा वर्षैदेखि जिमन्याष्टिकका गतिविधि ठप्पै छ । शून्य प्राय नै छ । ‘सामान पनि छैन् । भएका सामान जीर्ण भएर काम लाग्ने अवस्थामा छैनन्,’ कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘पछिल्लो समय प्रशिक्षक पनि छैनन् । जिमन्याष्टिकको गतिविधि शून्य छ ।’

हिजोको अवस्था भन्दा विल्कुल फरक छ । हिजो सामान थिए । तर पूर्वाधार थिएन् । आज पोखरा रंगशालामा पूर्वाधार बन्दै गएका छन् । तर आवश्यक खेलकुद सामाग्री छैन् । पूर्वाधार नहुदाँ भए गरेको सामानबाटै जेनतेन प्रशिक्षण हुन्थ्यो । तर अहिले सामान पनि छैन् । खेलाडी पनि छैनन् । प्रशिक्षणको टुंगो हुन्न । प्रशिक्षक नै नहुदाँ प्रशिक्षण हुनै सक्ने अवस्था नभएको उनको भनाई थियो । कास्कीमा जिमन्याष्टिक प्रशिक्षक कृष्ण तिमिल्सिना थिए । प्रशिक्षक तिमिल्सिना पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा प्रशिक्षण विभागमा सरुवा भएका छन् ।

कास्की जिल्ला जिमन्याष्टिक संघ सक्रिय नै छ । यद्यपी प्रशिक्षण गराउने तर्फ ध्यान दिएपनि प्रशिक्षकको अभावमा अडकिएको छ । ‘प्रशिक्षक छैन् । सामान पनि उपलब्ध छैनन्’–कास्की जिल्ला जिमन्याष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङले भने–‘हिजो भएका प्रशिक्षकले पनि प्रशिक्षण नगराउँदाको दुर्दशा अहिले देखिएको छ ।’ प्रशिक्षणनै नहुदाँ खेलाडी उत्पादन हुने सम्भावना नै भएको उनको ठम्याई छ । पोखरा रंगशालामा भन्दा पनि बाहिर प्रशिक्षण गराउन ध्यान केन्द्रीत हुदाँ कास्कीको जिमन्याष्टिक शून्य भन्दा तल माईनसमा झरेको दावी अध्यक्ष गुरुङले गरे ।

राष्ट्रिय खेलकुद परिषदले पनि जिमन्याष्टिकको लागि आवश्यक सामान उपलब्ध नगराईदिदाँको पीडा संघले भोग्दै आएको छ । ‘परिषदसँग सामान माग्दै आएका हौं । हिजो अरुले मागे । अहिले मैले पनि मागेको छु’– अध्यक्ष गुरुङले थपे–‘माग्ने काम गरियो । तर पहलकदमी हुनै सकेन् ।’ उनका अनुसार संघको ध्यानसँगै प्रशिक्षकको समेत सामान माग्ने तर्फ ध्यान जानुपर्छ । अध्यक्ष गुरुङ आफैं जिमन्याष्टिकका राष्ट्रिय च्याम्पियन हुन् । ७ औंदेखि ११ औं राष्ट्रिय जिमन्याष्टिक च्याम्पियन खेलेको अनुभव छ । जिमन्याष्टिक संघको केन्द्रीय सदस्य समेत रहेका गुरुङले जिमन्याष्टिकको विकास र विस्तारको लागि आफनो भिजन तयार पारेको बताए ।

‘मैले भिजन बनाएको छु । मेरो भिजन अनुसार काम गर्ने हो भने जिमन्याष्टिकको विकास हुन्छ । तर सबैले साथ र सहयोग दिनुपर्छ ।’ उनको भनाई थियो । उनका अनुसार संघको नेतृत्व सम्हाल्नेपछि जिमन्याष्टिक खेलको विकास नचाहनेहरुको जमातले समस्या बनाएका छन् । निर्णायक समेत भईसकेका गुरुङ जिमन्याष्टिकको अनुगमनकर्ता समेत भएर काम गरिसकेको बताँउँछन् ।

कोभिड–१९ कै कारण प्रशिक्षक प्रशिक्षण गर्ने योजनालाई थाँती राखिएको उनले बताए । ‘कास्कीमा प्रशिक्षक छैन् । प्रशिक्षक प्रशिक्षण गराएर प्रशिक्षक व्यवस्था गर्ने योजना थियो । कोभिड–१९ ले रोकिएको छ’, उनले भने–‘प्रशिक्षक प्रशिक्षण मार्फत नभए राष्ट्रिय खेलकुद परिषद मार्फत प्रशिक्षक बोलाउने छौं ।’ उनले सामानको लागि जापानबाट सहयोग आउने प्रस्ताव भएपनि संघभित्रको आन्तरिक किचलोले सहयोग दिने सामान रोकिएको दुखेसो पोखे । ‘जापानबाट सहयोग दिन्छु भन्दा पनि केहीले सामान ल्याउन रोकिदिए ।’ उनको भनाई थियो । अध्यक्ष गुरुङले सामानको जोहो गरेरै कास्कीको जिमन्याष्टिक खेल उकास्ने तर्फ आफु दत्तचित्त भएर लाग्ने दृढ संकल्प गरे ।