शारीरिक सुगठन संघका सचिव सिकेद्वारा राजीनामा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


खेलाडी न्युज(पोखरा)-शारीरिक सुगठन खेलको विकास र विस्तारको लागि महत्वपूर्ण योगदान दिएका कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका सचिव उमेश सिकेले सचिवको पदबाट राजीनामा दिएका छन् । उनले संघका अध्यक्ष शंकरमान उदास एवं बोधार्थ जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । उनले आफनो पेशा र व्यवसायकै कारण समय दिन नसक्ने भन्दै राजीनामा दिएको खुलासा गरेका छन् ।

सिके लामो समयदेखि शारीरिक सुगठन संघको सचिवमा रहेर जिम्मेवारी पुरा गर्दै आएका थिए । मिष्टर माछापुच्छ«े, मिष्टर पोखरा लगायतका प्रतियोगिता सञ्चालन हुदैं आएपनि पछिल्लो समय शारीरिक सुगठन खेलको विकास र विस्तार हुन सकेको छैन् । एक दशक अघि भएका प्रतियोगिताले जिमखाना एवं क्लबहरुको स्थापना हुदैं आएका थिए ।

सिके केबल शारीरिक सुगठनमा मात्रै आवद्ध छैनन् । तत्कालिन समयमा पोखरामा कुनैपनि फुटबल प्रतियोगिता आयोजना नहुदाँ उनकै समयमा नरकाजी स्मृति राष्ट्रियस्तरको फुटबल प्रतियोगिता शुरु भएको थियो । यद्यपी अहिले केवल इतिहासमा मात्रै छ । लनटेनिस खेलको विकासमा योगदान गरेको उनको दावी थियो । ‘शारीरिक सुगठनलाई जिल्लादेखि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पुर्याउने भूमिका खेलें ।’ उनको राजीनामाको पत्रमा उल्लेख गरेका छन् ।

पोखरामा खेलकुदको विकासलाई अझ फराकिलो बनाउने धुनमा जुटेका सिकेले भलिबल, क्रिकेट, बक्सिङ खेलको विकास र विस्तारमा समेत सक्रियता रहेका थिए । खेलकुदमा झण्डै उनले २५ वर्षको समय विताए । यद्यपी अझै उनी खेलकुदमै सक्रिय छन् । भारोत्तोलन संघमा समेत आवद्ध सिकेकै सक्रियतामा पोखरा उद्योग वाणिज्य संघमा पोखरामा राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता आयोजना भएको थियो ।