कोरोनाले रोकिए प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


खेलाडी न्युज(पोखरा)-चैतमा लकडाउन भएपछि असारमा कोरोनाको अन्त्य हुने विश्वास धेरैले गरेका थिए । तर असारपछि नै कोरोनाले विस्तारित रुप लियो । एकपछि अर्को गतिविधि ठप्प हुदैं गए ।

प्रशिक्षणमा फर्किएको राष्ट्रिय टोली पनि कोरोनाको बढ्दो संक्रमणसँगै फेरी स्थगित हुन पुग्यो । व्याडमिन्टन, तथा फुटबल एवं अन्य खेलका खेलाडीहरु प्रशिक्षणमा थिए । स्थागित भएपछि खेलाडी घरायसी कामकाजीमा व्यस्त हुन पुगे । कोरोनाकै कारण पोखराको दुईवटा महत्वपूर्ण खेलकुद इभेण्टलाई थाँती राखिएको छ । बैशाख १ गतेदेखि आयोजना गरिने नववर्ष शुभकामना नकाउट फुटबल प्रतियोगिता रोकियो । एकातिर कोरोनाको कहर रह्यो भने अर्कोतिर मैदान मर्मत सम्भारले । खेलकुदका लामो इतिहास कोरेको नवआदर्श सामुदायिक विकास समाजले पनि कोरोनाकै कारण राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई वर्षदिनको लागि थाँती राख्यो ।

बाँचौं र बचाऔं भन्ने अभिप्रायले महिलाहरुको महानपर्व हरितालिका तीजकै अवसरमा नवआदर्शले राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । ‘आठौं सस्करण निरन्तर आयोजना गरियो । नवौंको संघारमा रहँदा कोरोनाले रोकिन पुग्यो ।’ नवआदर्श क्लबका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्रीक्षत्रीले भने–‘नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगितासँगै अन्य प्रतियोगितालाई रोकियो ।’ नवआदर्शले राष्ट्रिय महिला भलिबल प्रतियोगिता ६५ सालबाट आयोजना गरिएको थियो ।

राष्ट्रिय महिला भलिबल प्रतियोगिता भन्दा अघिदेखि नै विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता तथा सितेरियो कराँते प्रतियोगिता आयोजना गर्दै आएको थियो । २०५४ सालदेखि विद्यालयस्तरीय छात्रा भलिबल र कराँते प्रतियोगिता २०७७ सालमा आईपुग्दा कोरोना कहरले रोकिन पुग्यो । महिलाहरुको वर्षदिनको चाडमा तीजे भाकामा रमाउने काम पनि यो वर्षलाई पूर्णरुपमा बन्द हुन पुग्यो । महिला राष्ट्रिय भलिबल प्रतियोगिता मोफसलकै सर्वाधिक चर्चित हो ।

तीजमा आयोजना गरिने राष्ट्रिय महिला भलिबल प्रतियोगिताले गण्डकी प्रदेशको राजधानी पोखराको लामाचौरलाई खेलकुदप्रेमी माझ चिनाईदिएको छ । ‘महिला भलिबल लामाचौरको ब्राण्ड बनिसकेको छ’ नवआदर्श क्लबका अध्यक्ष कमल थापाले भने–‘ब्राण्डलाई यो वर्ष कोरोनाले रोकियो । अर्को वर्ष भव्य गर्ने छौं ।’ उनका अनुसार क्लब सामाजिक दायित्व र जिम्मेवारी पुरा गर्न फुटबल मैदान निर्माणमा खटिएको हो ।

महिला भलिबल प्रतियोगिता मार्फत राष्ट्रिय पहिचान बनाएको समाजले २०७१ बाट भने फुटबल मैदान बनाउन कस्सियो । ‘२०७१ सालदेखि फुटबल मैदान बनाउने तर्फ जुट्यौं’ उनले भने–‘कोरोनाको कहरको अन्त्यपछि फुटबलको गन्तव्य बनाउने योजना छ ।’ पोखरा–१९ लामाचौरस्थित गोस्तेघाटमा क्लबले झण्डै चार करोडको लगानीमा फुटबल मैदान, प्यारापिट तथा भिआईपी एवं चेन्जिङ रुम बनाइएको छ । राष्ट्रिय खेलकुद परिषदबाट २ करोड ६० लाख, पोखरा महानगरपालिकाबाट ८० लाख, संसद विकास कोषबाट १५ लाख रुपैयाँ र बाँकी स्थानीयले जुटाएका लामाचौर खेल मैदान निर्माण समितिका अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारीले जनाए । file pic