सागमा बनाइएका पूर्वाधारको खर्च र खेल सामाग्रीको छानविन गरिने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित


खेलाडी न्युज(पोखरा)-गएको मंसिर १५ गते देखि २४ सम्म १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गरियो । दक्षिण एशियाली खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता भएको गुनासो छ । त्यही गुनासो निवारण गर्न राष्ट्रिय खेलकुद परिषदले बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा छानविन गर्न समिति गठन गरिएको छ । भट्टराईको संयोजकत्वमा गठित समितिले व्याडमिन्टनको मात्रै छानविन गर्ने छ । पोखरामा ८ वटा खेल सम्पन्न भएको थियो । आठ खेलको लागि भएको पूर्वाधार निर्माण तथा सामाग्रीको समेत परिषदले छानविन गर्दै छ । बोर्ड सदस्य सम्पन्न श्रेष्ठले पोखरामा आयोजना गरिएको आठवटा खेलको सम्पूर्ण भौतिक पूर्वाधारमा खर्च गरिएको विवरण तथा परिषदबाट प्राप्त खेल सामाग्रीको बस्तुस्थिति बारे छानविन गर्ने बताएका छन् ।

‘१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पोखरामा निर्माण गरिएको भौतिक पूर्वाधारको अवस्था र आएका सामानको स्थिति के कस्तो छ बुझ्नुपर्ने छ’ उनले भने–‘सामानको केकस्तो अवस्थामा छन् सबैको रिपोर्ट परिषदमा पठाईने छ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष समेत रहेको श्रेष्ठले पोखरामा आयोजना गरिएको प्रतियोगिता सबै छानविन गर्ने उल्लेख गरे । आवश्यक भौतिक पूर्वाधार निर्माण उपभोक्ता समिति मार्फत गरिएको थियो । टेण्डर आह्वान गरेर भौतिक पूर्वाधारको काम ढिला हुने देखिएपछि फाष्ट ट्रयाकका काम गर्नुपर्ने भन्दै जिम्मेवारी उपभोक्ता समितिलाई दिइएको थियो । उपभोक्ता समिति मार्फत काम हुदाँ अनियमितता भएको गुनासो परिषदसमक्ष पुगेपछि छानविन शुरु गरिएको हो ।

बोर्ड सदस्यका अनुसार कास्कीमा भएको निशेधज्ञाकै कारण छानविन शुरु गर्ने केही कठिनाइ भएको छ । पोखरामा विशेष गरी विच भलिबल, महिला क्रिकेट प्रतियोगिताको तयारी, महिला फुटबल प्रतियोगिताको लागि चेन्जिङ रुम निर्माण तथा व्युटिफिकेशन लगायतका कामहरु गरिएको थियो । ‘लकडाउनले खुलेर छानविन गर्न पाइएको छैन्’ उनले भने–‘सबैको स्पष्ट र निष्पक्ष छानविन हुनुपर्छ÷हुन्छ ।’ उनका अनुसार छानविन विच भलिबलबाट शुरु गरिने छ । ‘सामान के के आएको हो । के के फिर्ता भए । के के हुनुपर्ने हो त्यो सबै खोजी नीति गरिन्छ ।’ उनले भने–‘त्यसपछि क्रिकेटको छानविन गरिने छ ।’ क्रिकेट, बिच भलिबल तथा भारोत्तोलनको आवश्यक सामान परिषदले पठाएको थियो । विच भलिबल कोर्ट संरक्षण विहीन छ । क्रिकेटका सामान केही पोखरा रंगशालाभित्रैको क्रिकेट मैदानमा अलपत्र छ । भारोत्तोलनका सामान संघकै हलभित्र राखिएको छ ।

उपभोक्ता समितिले भने काम गरेको बजेट नपाएका गुनासो छ । ‘पछिल्लो समय अपुग रकम एक करोड ५८ लाख रुपैयाँ आयो’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डि.बी नेपालीले भने–‘अझै पुग्दैन् । माग गरेका छौं ।’ विजुली, खानेपानी, सिसी क्यामेरा लगायतका भौतिक पूर्वाधारको लागि पैसा आएपनि अझै अपुग हुन्छ । ‘दुई करोड माग गरिएको छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘दुई करोड आए बाँकीरहेकालाई तिरनतारन गर्न पुग्छ ।’ साग अन्तर्गत पोखरामा व्याडमिन्टन, ह्याण्डबल, भारोत्तोलन, महिला क्रिकेट, महिला फुटबल, विच भलिबल, ट्रायथोलन तथा आर्चरीका खेलहरु आयोजना गरिएको थियो ।

pic by sudershan ranjit