‘पोखरेली फुटबलका सफल कप्तान’ डम्बरलाल माकाजूको निधन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


खेलाडी न्युज(पोखरा)-पोखरेली फुटबलका सफल कप्तान डम्बरलाल माकाजूको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको आज दिउँसो आफनै निवास पोखरा–३ नदीपुरमा निधन भएको हो । माकाजू पोखराका सफल फुटबल कप्तान हुन् । उनको निधनले पोखेरली फुटबल स्तब्ध भएको छ ।

पोखरामा फुटबल शुरुवात भएकै २००९ सालदेखि हो । २०१२ सालमा माकाजू विजय टिमका कप्तान थिए । उनी पोखरेली फुटबलका सबैभन्दा सफल कप्तानको रुपमा परिचित समेत थिए । ‘विजय टिमका कप्तान थिए । राम्रो मिडफिल्ड हुन् ।’ फुटबल प्रशिक्षक शम्भु केसीले सम्झिए–‘फुटबलका राम्रा खेलाडी थिए । उनको निधनले फुटबलको अभिभावकत्व नै गुम्यो ।’

२०१२ सालमा विजय टिम बनाएपछि त्यसको कप्तानी भने माकाजूले गरेका थिए । पोखरामा केवल पाँच टिम मात्रै प्रभावशाली थिए । त्यो पनि ठाँउ अनुसार मात्रै । दुई टिम विभागीय थिए । एउटा रानीपौवा, अर्को वियज टिम र त्यसपछि धौलागिरी । मोहरिया टोलको धौलागिरी टिम थियो । हाम्रो भने महेन्द्रपुलको । रानीपौवाका उतै थियो । पुलिस फोर्स र मिलिटरीको छुट्टै टिम थियो ।

‘हारेपछि छिमेकी पनि शत्रु बन्थे ।’ फुटबलको इतिहास कोट्याउँदै माकाजूले चारवर्ष अघि यसै संवाददातासँग भनेका थिए–‘हारेपछि बोल्दै बोल्थेनन् । मिलेर खेल्दा पनि विजय टिमलाई जित्ने आँट कसैसँग थिएन् ।’ उनले कप्तानी सम्हालेको विजय टिमको हार कहिल्यै भएन् । हारेपछि कोही गौडां कुरेर थर्काउन समेत बस्थे । ‘एक पटक जितेको शिल्ड पनि जर्वजस्ती खोसेरै लगे । तर फेरी खेल्दा हारेपछि शिल्ड फर्काए ।’

त्यतिबेला पोखरा भन्दा बाहिर जाने सम्भावना थिएन् । पोखरामै प्रतिस्पर्धा हुन्थ्यो । मुश्किलले एक पटक काठमाडौं जाने अवसर जुरेको थियो । तर त्यो पनि पाल्पाको टिम विजयटिमसँग पराजित भएपछि पाल्पाका बडाहाकिमले क्यान्सिल गरिदिएका थिए । उनको फुटबलको सबैभन्दा तितो क्षण थियो । जुक्ता थिएन । खाली खुट्टा खेल्नु पथ्र्यो । पुलिस फोर्स र मिलिटरी फोर्ससँग खेल्न खुट्टा जोगाउनु पथ्र्यो । खेल्दा कतिपटक खुट्टा रक्ताम्य भयो भनिसाध्य नै छैन् । तर पनि विजय टिमलाई जित्ने आँट भने कसैसँग पनि थिएन् । ‘धौलागिरी टिम हाम्रो विरोधी थियो ।’उनी भन्ने गर्थे– ‘तर कहिल्यै जित्न सकेन् ।’ रानीपौवाको टिम पछि आएर विजय टिममा समाहित भयो । टिम अझ बलियो बन्यो । त्यतिबेला लोकबहादुर रन्जित, राधेश्याम रन्जित, कुलमान साई लगायतका खेलाडी थिए ।

उतिवेला बगरस्थित पुरानो टुडिखेल र नेपाली सेनाको फुलबारी व्यारेकको मैदानमा मात्रै फुटबल खेलिन्थ्यो । ‘विजय टिमको खेल हेर्न रुपाताल किनारको देउरालीबाट समेत दर्शक आउँथे ।’ माकाजू भन्ने गर्थे– । जितेपछि पाँचसय रुपैयाँ दिन्थे । जसबाट फुटबल किनिन्थ्यो । किनिएको फुटबल कप्तानले नै सम्हालेर राख्न पथ्र्यो ।

२०१३ सालमा गण्डकी कप प्रतियोगिता आयोजना गरिएको थियो । त्यतिबेला घनविक्रम राणाले आयोजना गरेका थिए । त्यो कपको उपाधि विजय टिमले जित्यो । राणाहरुको समर्थनमा हुने विभागीय टोली पुलिस फोर्स र मिलिटरी टिमलाई पराजित गरियो । हारेपछि खेल नै उल्ट्याएर शिल्ड बोकेर जान्थे । फेरी खेल्नुपथ्र्यो । ‘फेरी खेल्दा पनि हारेपछि शिल्ड फिर्ता दिए ।’ माकाजू सम्झने गर्थे ।

त्यसपछि विस्तारै नयाँ टिमहरु आए । रामकृष्ण टोलमा जागृति क्लब, आर्मीको टिम, अम्मरसिंह माविको टिम, भैरव टोलको बालमन्दिर क्लब, पीएन क्याम्पसको टिम, मोहरिया टोलको धौलागिरी टिम फुटवलका चर्चित टिम थिए । उतिवेला नै लिग च्याम्पियनसिप, नकआउट च्याम्पियनसिप र फाइनल च्याम्पियनसिप जस्ता प्रतियोगिता गरिन्थ्यो । आयोजक धन शम्सेर जवरा र उनका परिवार बन्थे । पहिला सौखका रुपमा खेलिने फुटवल क्षेत्रले भने अहिले का“चुली फेरिसकेको छ । माकाजूको पार्थिव शरीरलाई शुक्रबार दिउँसो रामघाटस्थित सेतीनदीमा दाहसंस्कार गर्ने परिवारिक स्रोतले जनाएको छ । ३ छोरा र २ छोरी छन् ।