चेन्जिङ रुमले मैदान छेकिने, पूनर्निर्माण गरिदाँ गाँउपालिकालाई व्ययभार थपिने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


खेलाडी न्युज(पोखरा)-खेल क्षेत्रकै प्राविधिकले नहेर्दा कास्कीको अन्नपूर्ण गाँउपालिकामा निर्माणाधिन माछापुच्छ«े खेल मैदानको लागत बढ्ने देखिएको छ । चेन्जिङ रुम निर्माणमा प्राविधिक त्रुटी छ । निर्माण गरिएको चेन्जिङ रुमले मैदानको दुवै कर्नरको केही भाग देखिदैन् । कर्नर नै नदेखिने गरी प्यारापिटकै बीचमा मैदान नै छेकिने गरी चेन्जिङ रुम निर्माण गरिएको छ । चेन्जिङ रुमकै कारण मैदान छेकिएपछि अन्नपूर्ण गाँउपालिकाले चेन्जिङ रुमको पून डिजाईन गर्ने तयारी गरेको छ । यसले खर्च बढाएको छ ।

ढिकुरपोखरीको नियमित फुटबल प्रतियोगिता आयोजना गरिने मैदान हो । स्थानीय एपेक्स युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । मैदान केही सानो थियो । एक पालिका एक खेलमैदानको संघीय सरकारको नीति अनुसार गत आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो । विनियोजित रकमबाट खेलमैदानको स्तरोन्नति गरिएको थियो । मैदानसँगै बाटो तर्फ प्यारापिट निर्माण कार्य शुरु गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषदले पनि मैदानको लागि विभिन्न चरणमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । तीन वर्षअघि तत्कालिन पश्चिमञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको समयमा मैदानको परिषदबाट १० लाख रुपैयाँ परेको थियो । त्यस बजेटले खेल मैदान चक्ल्याउँदै चारैतिर बर्खेपानीको निकासको लागि नाली बनाइएको थियो । त्यसपछि पनि परिषदले मैदानको थप ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

मैदानको लम्बाई एकसय मिटर छ । चौडाई ६० मिटर छ । निर्माणाधिन प्यारापिटको लम्बाई ७८ मिटर रहेको गाँउपालिका अध्यक्ष युवराज कुँवरले बताए । ‘सामान्य प्राविधिक त्रुटी देखियो । त्यसलाई हामीले मोडिफाई गर्छौ’ उनले भने–‘९ फिटको उचाईमा बनाउनुपर्ने थियो तर ११ फिट अग्लो बनाईदा त्रुटी हुन पुग्यो । अग्लो बनाइएकै कारण मैदानको दुवै कर्नर छेउको केही भाग छेकिने उनले प्रष्ट्याए । ‘गुनासो बढेपछि हामीले पनि हेरौं । गल्ती भयो । यसलाई हामीले पाठ सिकेर बनाँउछौ’ उनले थपे–‘त्यसको व्ययभार गाँउपालिकाले नै व्यहोर्ने छ ।’ प्यारापिट दुई हजार दर्शक क्षमताको हुने उनले बताए । मोडिफाई गरेर बनाउन झण्डै ५ लाख रुपैयाँ अतिरिक्त खर्च थपिने गाँउपालिका अध्यक्ष कुँवरले सुनाए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनियर प्रनिश ताम्राकार सहितको टोलीले निर्माणाधीन खेलमैदानको अवलोकनपछि चेन्जिङ रुमको उचाई घटाउने निर्णय समिति गरिएको छ ।