महानगरपालिका योजना-अन्तराष्ट्रियस्तरको पोखरा साईकल दौड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित


खेलाडी न्युज(पोखरा)-खेलकुदको शहर बनाउने ध्येयमा लागेको पोखरा महानगरपालिकाले यसै बर्षदेखि महानगरस्तरीय मेयर कप आयोजना गर्ने योजना बनाएको छ । महानगरपालिकाले रातो किताबमै मेयर कप आयोजना गर्ने उद्देश्य राख्दै १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

विभिन्न नगरपालिकाले मेयर कप आयोजना गर्दै आएका छन् । दुईवर्षदेखि बाग्लुङ नगरपालिकाले अन्तर नगरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । पोखरा महानगरपालिकाले पनि मेयर कप आयोजना गर्ने योजनासहित बजेट छुट्टाएको हो । बजेट छुट्टाएपनि कोरोना कहरले खेलकुद गतिविधि सबैठप्प भएका छन् । विद्यालय समेत पूर्ण रुपमा बन्द छन् ।

‘महानगरले खेलकुद समिति गठन गर्ने तयारीमा छ । समिति गठन गरेपछि समितिले बनाएको क्यालेण्डर अनुसार मेयर कप आयोजना गर्छौ’ पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले भने–‘मेयर कपमा यही नै खेल आयोजना गर्ने भन्ने निक्र्यौल छैन् । तर फुटबल नै आयोजना गरिने छ ।’ विद्यालयस्तरीय देखि नै खेलकुदको जग बसाल्नुपर्ने भन्दै उनले महानगरपालिकाले पनि विद्यालयस्तरीय मेयर कपको योजना बनाएको प्रष्टयाए ।

फुटबल लगायतका अन्य खेलकुद गतिविधि कमजोर बन्दै गएको छ । महानगरपालिकाले विद्यालयस्तरीय प्रतियोगिताको नाममा राष्ट्रपति रनिङशिल्ड आयोजना गर्दै आएको छ । निजी शैक्षिक संस्थाको छाता संगठन प्याब्सन तथा एन प्याब्सन एवं हिसानले पनि खेलकुद गतिविधि आयोजना गर्दै आएका छन् । यद्यपी सरकारीस्तरबाट भने खेलकुदको गतिविधि आयोजना हुन सकेको छैन् । खेलकुद गतिविधिलाई बढाउन महानगरपालिकाले मेयर कप सहित अन्य खेलकुदजन्य कार्यक्रम गर्ने योजना बनाएको छ ।

महानगपालिकाले विविध खेलकुद कार्यक्रमको लागि १५ लाख रुपैयाँ छुट्टाएको छ । ‘मेयर कप आगामी माघ फागुन नभए नयाँ वर्षमा आयोजना गर्ने छौं । किनकि कोरोनाको विषम परिस्थिति त्यतिबेलासम्म केही सहज हुने विश्वास छ ।’ उनको भनाई थियो । महानगर खेलकुद समिति गठन पछि खेलकुदको गतिविधि बढ्नेमा विश्वस्त रहेको उनको भनाई थियो । महानगरपालिकाले खेलुकदलाई पर्यटनसँग जोड्दै खेल–पर्यटन प्रवद्र्धन गर्ने अभिप्राय समेत लिएको छ ।

पोखरालाई अन्तराष्ट्रियबजारमा परिचय दिने उद्देश्यसहित अन्तराष्ट्रियस्तरको पोखरा साईकल दौडको समेत आयोजना गरिने छ । साईकल दौडको लागि १० लाख रुपैयाँ छुट्टाइएको छ । ‘दशलाख रुपैयाँले अन्तराष्ट्रियस्तरको प्रतियोगिता गर्न सकिन्छ’ पोखरा साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने–‘कोरोना कहर सकिएपछि आयोजना गर्ने छौं ।’ उनका अनुसार प्रतियोगिता आयोजना तयारी गरिएको थियो । कोरोना कहरले रोकियो । साईक्लिङ संघ कास्कीका अध्यक्ष भण्डारीले पोखरा १३ आर्वामा ‘इण्डुरो’ गर्ने योजना बनाइएको बताए । २ किलोमिटर डाउनहिल र त्यसपछि अपहिल गरी एकै ठाँउमा भेट हुने गरी ठाँउ तयर गरिएको थियो । पोखरामा साईक्लिङ आईभी(चौथो) आयोजना गरिएको थियो ।

त्यसैगरी पोखरा म्याराथन प्रवद्र्धन गर्न महानगरपालिकाले १० लाख रुपैयाँ छुट्टाइएको छ । वर्षेनी क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको सहारा क्लबलाई समेत महानगरपालिकाले सहारा दिने प्रयास गरेको छ । मोफसलकै गर्विलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकपलाई यसै वर्षदेखि २ लाख रुपैयाँ महानगरले छुट्टाईदिएको छ ।

file pic