जेरेभ पहिलो ग्राण्डस्लाम नजिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २७ गते २०७७ मा प्रकाशित


एजेन्सी-अलेक्जेण्डर जेरेभ आफनो पहिलो ग्राण्डस्लाम उपाधिको निकट पुगेका छन् । गएराती भएको सेमिफाईनल प्रतिस्पर्धामा उनले पाँच सेट खेल्दै स्पेनका पाब्लो कारिनो बुष्टालाई पराजित गर्दै युएस ओपनको फाईनल प्रवेश गरेका हुन् ।

उनको फाईनल यात्रा अविष्मरणीय रह्यो । दुई सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै धैर्यतापूर्ण खेल खेल्दै जित आत्मसात गरे । पहिलो र दोस्रो सेट गुमाएपनि हतास नभएका जेरेभले तेस्रो, चौथो र पाँचौ सेटमा भने लय कायम राख्दै जितको हकदार बने । विश्व बरियताका पाँचौ नम्बरका जेरेभले २० औं नम्बर बरियताका बुष्टमाथिको जितले उपाधि उचाल्ने सम्भावनालाई अझ दरिलो बनाएका हुन् ।

पहिलो सेट ३-६ ले गुमाएका जेरेभले दोस्रो सेटमा पनि उस्तै अझ कमजोर प्रस्तुत भए । उनले दोस्रो सेट २-६ मा गुमाउँदा खेल आफनो पक्षमा पार्ने सम्भावना दर्शकले कमजोर देखेका थिए । अर्थर एसे स्टेडियमा भएको प्रतिस्पर्धामा तेस्रो सेट ६-३ ले लिदैं कमब्याक गरे । चौथो सेट पनि ६-४ ले लिएपछि सेट बराबरी गर्दै निर्णायक मोडमा पुर्याए । अन्तिम तथा निर्णायक सेटमा भने आफनो लयलाई उत्कृष्ठ राख्दै ६-३ ले लिए । बुष्टाको निराश यात्रा कोर्टबाट पाईला बाहिर निस्कियो ।