रंगशाला खुल्ने प्रतीक्षामा खेलाडी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १३ गते २०७७ मा प्रकाशित


पोखरा रंगशाला प्रशिक्षणको लागि खुलिसकेको छैन् । खेलाडी फिटनेस घरमै बसेर गर्नुपर्ने बाध्यता छ । रंगशाला खुल्छ र प्रशिक्षण गरमला भन्ने प्रतिक्षा गर्दा गर्दै लामै समय वितिसक्यो । कोरोनाले सात महिनामासम्म विना प्रशिक्षण खेलाडी पूर्ण रुपमै घरमै छन् । खेलाडीको लागि फिजिकिल फिटनेस अनिवार्य हुन्छ । तर फिटनेसको लागि रंगशाला भित्र प्रवेश गर्न पाइएको छैन् । राष्ट्रिय खेलकुद परिषदले खेलकुद खुलाउन विषयमा कुनै निर्णय गरेको छैन् । आधिकारिक सूचना नहुदाँ जिल्ला खेलकुद विकास समिति कास्कीले रंगशाला प्रवेशद्वार खुलाउन सकेको छैन् ।

‘खेलकुद बन्द छ । प्रशिक्षण गर्न पाएका छैनौं’ गण्डकी प्रदेश हक्की टोलीकी सदस्य मनिता रानामगरले भनिन–‘फिटनेस मात्रै गर्दै आएका छौं ।’ उनका अनुसार फिटनेसको लागि अमरसिंह चौरमा गएर फिटनेस टे«निङ गर्दै आइएको छ । समूहमा प्रशिक्षण तथा फिटनेस सम्भव समेत छैन् । समूहमा खेल्न र प्रशिक्षण गर्न सरकारले नै प्रतिबन्ध लगाएको छ । यसले गर्दा थोरै साथीहरुसँग फिटनेस गर्दै आएको उनी सुनाउँछिन् । हक्कीको लागि छुट्टै मैदान छैन् । रंगशालाभित्र प्रशिक्षणस्थल नभएपनि सानो क्षेत्रमा जेनतेन प्रशिक्षण गर्दै आएका छन् । त्यही प्रशिक्षणबाटै पोखरामै आयोजित राष्ट्रिय महिला हक्की प्रतियोगितामा सहभागिता जनाएका थिए ।

रंगशालाकै नखुलाउँदा केही खेलका खेलाडी भने व्यक्तिगत रुपमा प्रशिक्षण गर्दै आएका छन् । ‘प्रशिक्षण छैन् । केवल फिटनेसको लागि आफैं ट्रेनिङ गर्नुपर्छ’ क्योकुशिन कान कराँतेका प्रशिक्षक सुवास खड्काले भने–‘खेलकुद पूर्ण रुपमा नखुलाउँदा प्रशिक्षण गर्न र गराउन पाइएको छैन् ।’ मार्शल आटर्सको प्रशिक्षण समूह गर्नुपर्ने हुदाँ समस्या भएको उनले सुनाए । समूहमा खेलिने खेल सबैजसो ठप्पै छन् । कोभिड–१९ कै कारण शारीरिक सुगठनका प्रतियोगिता समेत रोकिन पुगे । मिष्टर पोखरा आयोजना गर्ने वार्षिक योजना कोभिडले निमिट्यान्न बनायो । ‘तत्कालै जिमहल खुलेपनि प्रतियोगिता गर्ने सम्भावना तत्कालै देखिदैन्’ कास्की बडिविल्डिङ एण्ड फिटनेस एशोसियसनका अध्यक्ष राजुकुमार थापाले भने–‘कम्तीमा पनि चार÷पाँच महिनाको समय लाग्छ । यो वर्ष प्रतियोगिताको सम्भावना कमै छ ।’

कास्की जिल्ला खेलकुद विकास समितिले पनि राखेपबाट आधिकारिक सूचना नहुदाँ रंगशाला सबैको लागि खुलाउन नसकिएको जनाएको छ । ‘परिषदबाट रंगशाला खुलाउने विषयमा आधिकारिक सूचना आएको छैन्’–जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘एकाध खेलाडी रंगशालाभित्र प्रवेश गरेर प्रशिक्षण गर्नुभएको होला तथा आधिकारिक रुपमा सूचना छैन् ।’ उनका अनुसार रंगशाला भित्र प्रशिक्षण भएको छैन् ।