मुम्बईद्वारा चेन्नई दश विकेटले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित


व्याटिङ गर्ने क्रममा सट खेल्दै इशान किसन ।

सारजहा(एजेन्सी-क्विन्टन डिकक र ईशान किसनको ओपनिङ जोडीले मुम्बईका लागि महत्वपूर्ण साझेदारी गरेपछि चेन्नईले दिएको ११५ रनको चुनौति सजिलै पार लगाएको छ । सारजहास्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार आईपिएल अन्तर्गत ४१ औं खेलमा चेन्नईलाई दश विकेटले पराजित गरेको हो । हारसँगै चेन्नईको प्ले अफ खेल्ने सम्भावना लगभग सकिएको छ ।

डि-कक र किसनको जोडीले ११६ रनको साझेदारी गरे । १२.२ ओभरमा लक्ष्य पुरा गरेका थिए । किसनले अर्धशतकीय पारी खेले । ६८ रनको इनिंग्स खेले । ३७ बल खेल्दै किसनले छ चौका र पाँच छक्का हिर्काए । डि-ककले ४६ रन बनाए । डिककले पनि ३७ बल नै खेले । सर्दुल ठाकुरको ओभरमा चौका हिर्काउँदै जित पक्का गरेका थिए । रविन्द्र जडेजाले एकै ओभरमा १५ रन खर्चिए । उनको बलिङमा किसनले दुई छक्का हिर्काएका थिए । सर्दुल ठाकुरको दुई दशमल दुई ओभर बलिङमा पनि २६ रन दिएका थिए ।

यसअघि टस हारेर व्याटिङ शुरु गरेको चेन्नईका व्याट्सम्यान जम्नै सकेनन् । मुम्बई इण्डियन्सका बलरले चेन्नईका व्याट्सम्यानलाई सस्तैमा पभेलियनको बाटो देखाएपछि चेन्नई ९ विकेटको क्षतिमा ११४ रनमा समेटिएको थियो । कप्तान महेन्द्रसिंह धोनीले दोहोरो अंकको रन बनाउने क्रममा १६ रन बनाए । उनीभन्दा अघिका व्याट्सम्यान भने सस्तैमा आउट भएपछि दबावमा रहेको चेन्नईलाई धोनीले सम्हाल्ने सम्भावनालाई पनि राहुल चाहरको बलमा आउट भएपछि कमजोर हुन पग्यो ।

निकै कमजोरस्थितिबाट चेन्नईलाई केही माथि उठाए साम कुरुनले । अर्धशतकीय पारी खेले । ५२ रन बनाए । चार चौका र दुई छक्का हिर्काए । ४७ बल खेले । सार्दुल ठाकुरले पनि ११ रन बनाए । इमरान ताहिरले पनि १३ रन बनाए । दुई चौका उनको व्याटबाट निस्कियो । अर्धशतकीय पारी खेलेका कुरुनलाई अन्तिम ओभरको अन्तिम बलमा ट्रेन्ट बोल्टले आउट गरेपछि चेन्नई ९ विकेटको क्षतिमा ११४ रन बनाउन क्रममा पुरै ओभर खेलेको थियो ।

मुम्बईका बलर ट्रेन्ट बोल्टले रितुराज गाइकवाडलाई शून्य रनमै एलबीडब्लुको धरापमा पारे । फाफडु फ्लेसिस पनि उनकै बलमा क्विन्टन डिककको हातबाट पभेलियनको बाटो समाए । अम्बाती रायादु जसप्रित बुमराहको बलमा आउट भए । नारायण जगदिशन पनि शून्य रनमै बुमराहकै बलमा आउट हुदैं क्रिज छाडे । ३ ओभर चल्दै गर्दा चेन्नई चार विकेट गुमाईसकेको थियो । रविन्द्र जडेजा पनि बोल्टकै बलमा आउट भएपछि चेन्नई निकै धरासायी बनेको थियो ।