नेपाली क्रिकेट टोलीको प्रशिक्षण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित


पारस खड्का नेटमा प्राक्टिस गर्दै ।

पोखरा-कोभिड-१९ ले लकडाउनसँगै बन्द रहेको नेपाली खेलकुद क्षेत्र चलमलाउन थालेको छ । फुटबलले बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर फर्किएसँगै नेपाली क्रिकेटको राष्ट्रिय टोलीले पनि प्रशिक्षण पुन शुरु हुने छ ।

आठ महिनापछि नेपाली क्रिकेट टोलीले प्रशिक्षण पुनः शुरु गरिने नेपाल क्रिकेट संघले जनाएको छ । खेलाडीहरुले प्रशिक्षणको लागि आवाज उठाईरहेपनि राष्ट्रिय खेलकुद परिषदले स्वीकृति दिएको थिएन् । खेलकुद लगायतका क्षेत्र सञ्चालन गर्ने सरकारी निर्णयसँगै क्यानले प्रशिक्षण नोभेम्बरको तेस्रो सातादेखि शुरु गर्ने तयारी गरेको हो ।

छठ पर्व लगत्तै प्रशिक्षण शुरु गरिने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए । मंसिर १० गतेदेखि प्रशिक्षण शुरु हुने छ । प्रशिक्षणमा अहिले २४ जना खेलाडीहरु छन् । काठमाडौं वरिपरी रहेका खेलाडीहरु प्रशिक्षणमा रहने छन् । क्यान प्राविधिक कमिटिको निर्णय अनुसार सबैलाई प्रशिक्षणमा सामेल गरिने छ ।

क्यान अध्यक्ष चन्दका अनुसार प्रशिक्षणमा सहभागि हुनु सबै खेलाडीको कोरोना परीक्षण गरिने छ । प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षक होटल वा होस्टेलमा रहने छन् । गत अगष्ट १७ देखि नै प्रशिक्षण गर्ने योजना रहेपनि कोरोना संक्रमित संख्या बढ्दै गएपछि प्रशिक्षण योजना स्थगित गरिएको थियो ।