लेखनाथ-आदर्श क्लबले तनहुँ फुटबल संघलाई १—० गोलले पराजित गर्दै २५ औं आदर्श कपको सेमिफाईनल प्रवेश गरेको छ । घरेलु मैदानमा सुखद शुरुवात गराउँदै अन्तिम चारमा स्थान पक्का गर्न सजिन मगरको गोल निर्णायक रह्यो । उनले खेलको ४१ औं मिनेटमा पेनाल्टी बक्स नजिकैबाट हानेको बलले पोष्टभित्र जाली चुमेपछि आदर्श क्लब जितको खुशीसँगै अन्तिम चारमा प्रवेश गर्यो ।
खेलको दोस्रो हाफमा पनि दुवै समुहको प्रतिष्पर्धात्मक खेलले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो । सुरुवाती देखि नै अग्रता लिएको आदर्श युवा क्लवले खेलको दोस्रो हाफमा पनि रक्षात्मक रुपमा खेल्दै जित आत्मसात गर्यो । शनिवार भएको खेलको म्यान अफ दी म्याच आदर्शका सजिन मगर घोषित भएका छन् । उनलाई वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले नगद पाँच हजार पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत आईतबार नेपाल आर्मी सिद्धिदल गण र शसस्त्र प्रहरी बल गण्डकी मुख्यालय विच प्रतिष्पर्धा हुनेछ ।
निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैया सिल्ड,मेड र प्रमाण पत्र प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने छ ।
यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले विभिन्न खेल गतिविधिहरुलाई पर्यटनसँग जोडेदै समग्र प्रदेशको विकास गरिने वताएका हुन ।
मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको वताउँदै खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको यहाँको कर्भड हल र रंगशालाको स्तरोन्नतिको लागि प्रदेश सरकारले केही न केही सहयोग गर्ने बताएका थिए । ओलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टु ओलम्पियन’ कार्यक्रम गरिरहेको र प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरूलाई आर्थिक सहयोग पनि गरिरहेको उनले जानकारी दिएका थिए ।