एकदशकपछि क्लबस्तरीय टी—२० पिसिसी कप हुने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २८ गते २०७४ मा प्रकाशित


पोखरा, २८ पुस- लामो समयपछि पोखरामा क्लबस्तरीय टी—२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा क्रिकेट क्लबले एक दशकपछि क्लबस्तरीय क्रिकेट प्रतियोगिता गर्ने जमर्को गरेको हो । आगामी माघ २३ गतेदेखि पोखरा रंगशालामा लेदरबल(ड्युज) टी—२० प्रतियोगिता गर्ने जनाएको छ । अघिल्लो वर्षमात्रै क्लबले विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरेको थियो ।

क्लबस्तरीय प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीलाई समेत टिममा समावेश गर्न पाउने क्लबका सदस्य चन्दप्रकाश गुरुङ(जिम्मी)ले बताए । उनका अनुसार नकाउटको आधारमा खेलाईने प्रतियोगितामा केवल आठ टिमको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको लागि आवश्यक आन्तरिक तयारी शुरु गरिएको छ । पोखरा क्रिकेट क्लब २०५१ सालमा स्थापित भएको हो । स्थापनाको २३ वर्ष पछि पोखराको क्रिकेटलाई उत्थान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको उनको भनाई थियोे । माघ २३ गतेदेखि २७ गतेसम्म पाँच दिन सञ्चालन हुने छ ।

प्रतियोगितामा विजेता र उपविजेतालाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनुका साथै उत्कृष्ठ खेलाडी, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने उनले बताए । क्लबले उपाध्यक्ष उत्सव शाक्यको संयोजकत्वमा प्रशिक्षक समेत रहेका रिजन प्रजु, प्रदीप रावत, गोविन्द प्रधान, चन्द्रबहादुर गुरुङ सदस्य रहेको आयोजक कमिटि गठन पनि गरेको छ । २०६० मा धरानमा सम्पन्न दर्शन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि पिसिसी क्लबले नै जितेको थियो । क्लब चारवर्ष अघि जनकपुरमा आयोजित टी—२० प्रतियोगितामा समेत सहभागिता जनाएको छ ।