समृद्ध क्रिकेट, पूर्वाधारमा कमजोर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १४ गते २०८३ मा प्रकाशित


धन बस्नेत/पोखरा

सरकारले आर्थिक वर्ष २०८३÷०८४ बजेट सार्वजनिक गर्यो । बजेटले खास गरी क्रिकेटलाई न आशा न उत्साह बनायो । त्यसमा पनि अझ पोखराको क्रिकेट मैदान भने सधैको ओझेलमा झै पर्यो । क्रिकेट पूर्वाधारमा सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । एक पटक आउँछ त्यसपछि बेवास्ता हुन्छ । त्यसैले त भन्ने गरिन्छ पूर्वाधार विकासमा सरकारी काम कहिले जाला घाम ।

खेलकुद अहिले पर्यटनको पर्याय हो । खेल पर्यटनबाटै समृद्धिको परिकल्पना गर्न सकिन्छ । लगानी विना परिकल्पना केवल पुरा नहुने सपना मात्रै हो । कल्पना र सपनालाई साकार रुप दिन सरकारले पूर्वाधारमा लगानी गर्नै पर्छ । लगानी गरेपछि प्रतिफल प्राप्त हुन्छ । तर अहिले लगानी विना प्रतिफलको अपेक्षामा दौडिने हावी बढ्दै गएको छ । खेल पर्यटनको हब बनाउने केन्द्रीय तह मात्रै नभई स्थानीय तहले पनि भन्दै आएको छ । तर लगानी गर्ने तर्फ भने हाम्रो स्वामित्वमा छैन् भन्दै पन्छिने प्रवृत्तिले खेल पर्यटनको हब भने केवल उदघोषमा समेटिएको छ ।

पोखराको क्रिकेटः
पोखराका क्रिकेट जति समृद्धि छ त्यति पूर्वाधारको अभावमा रुमलिएको छ । जतिबेला पोखरा रंगशाला बनेकै थिएन्, त्यो भन्दा अघि नै पोखराका क्रिकेट खेल्न शुरु भईसकेको थियो । अर्थात २०३२ सालमा पोखरा रंगशालाको जमिन अधिग्रहण गरियो । ४३२ रोपनी क्षेत्रफल । सेती नदीले कटान गरेपछि अहिले घटेर ४१५ रोपनीमा छ । रंगशालाको जमिन अधिग्रहण अघि नै क्रिकेट थाल्न शुरु भएको इतिहास छ ।
हो, पोखराको पृथ्वीनारायण क्याम्पस परिसरको अन्नपूर्ण रंगशाला नेपाली खेलकुदको जग बसाल्ने आधार शिला थियो । तत्कालिन क्याम्पस प्रमुखहरु महेन्द्रसिंह थापा(स्व.) डा.बीरेन्द्रसिंह गुरुङको समयमै खेलकुदको जग बसिसकेको थियो । फुटबल, हक्की, टेनिस, भलिबल लगायतका पूर्वाधार तयार थियो । त्यही पूर्वाधारमा क्रिकेटको प्रारम्भ भएको अग्रह खेलाडी तथा पोखरेली खेलकुदका अभिभावक खड्ग रानाभाट सुनाउँछन् । नुहुन्छ । भन्छन् “२०२८ सालमा हामीले अन्नपूर्ण रंगशालामा क्रिकेट खेल्थ्यौं । हामी सिक्थ्यौं, डा बीरेन्द्र सर, महेन्द्रसिंह थापा सरले सिकाउनुहुन्थ्यो ।”

तत्कालिन समयमा भूपी शेरचन, चन्द्रसिंह घले, पृथ्वीबहादुर घले, हर्षगोविन्दसिंह प्रधान लगायत क्रिकेट थिए । २०३२ सालमा बर्तमान भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले आफुहरु अन्तर सदन क्रिकेट प्रतियोगिता नै क्याम्पसको रंगशालामा खेलेको स्मरण गर्छन् । “पीच थिएन् । ग्रासमा प्रारम्भिक रुपमा खेलियो ।” उनी बताउँछन् । पृथ्वीनारायण क्याम्पससँगै पुरानो टुँडिखेलको खुला चौरमा समेत क्रिकेट खेलिन्थ्यो । त्यतिबेला भारतीय राजदूताबासको टोली, तत्कालिन सोल्जर्स बोर्ड स्कुल(हालको अमरसिंह मावि)मा अध्ययन गराउन आएका शिक्षक लगायतले खेलेको सुनिन्छ ।

क्रिकेट पीच नै बनाएर क्रिकेट खेलिएको भने २०३५ सालमा हो । गण्डकी बोर्डिङ स्कुल भित्र क्रिकेट पीच बनाइएपछि क्रिकेटले गति लिएको हो । यद्यपी प्रतियोगिता लगायतका गतिविधि भने दोस्रे राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदाँ खेलियो । २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी आयो । अधिग्रहण गरिएको पोखरा रंगशालामा क्रिकेट मैदान भने थिएन् । मैदान नहुदाँ क्रिकेट प्रतियोगिता भने पोखराकै अमरसिंह माविको खेल मैदानमा आयोजना गरियो ।

दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितापछि क्रिकेटको माहोल केही राम्रो बन्यो । खुला चौरमा क्रिकेट खेल्न युवा पुस्ता जम्मा हुन थाले । पुरानो टुँडिखेल, पृथ्वीनारायण क्याम्पस, अमरसिंह माविको खेल मैदान लगायतका ठाँउहरुमा क्रिकेट खेल्न थालियो । पृथ्वीनारायण क्याम्पस परिसरभित्रको अन्नपूर्ण रंगशालामा सन १९९८ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण गरिएको थियो । त्यही बन्द प्रशिक्षणले क्रिकेट गुल्जार बन्यो । युवापुस्ता क्रिकेटप्रति लगाव र झुकाव भए । “१९९८ मा पोखरामा राष्ट्रिय टोलीको क्लोज क्याम्प बस्यो ।” प्रशिक्षक जगत टमना सुनाउँछन् ।

संघ दर्ताः
दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको डेढदशकपछि (२०५५ सालमा) कास्की जिल्ला क्रिकेट संघ दर्ता भएको थियो । संघ भन्दा अघि पोखरा क्रिकेट क्लबले क्रिकेटको गतिविधि गर्दै आएको थियो । पोखराको अमरसिंह चौरमा अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा २०६० सालमा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । जहाँ सिदार्थ क्लबले उपाधि उचालेको थियो । त्यसपछि पोखराकै अन्नपूर्ण रंगशालामा क्लबस्तरीय प्रतियोगिता आयोजना भएको थियो । पोखराको मालेपाटन खेल मैदान समेत पोखरा पिस क्लबले क्रिकेट प्रतियोगिता सञ्चालन गरेको थियो ।

संघ दर्तासँगै आधिकारिकता पाएपछि पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनाउने पहल कदमी शुरु भएको थियो । तत्कालिन नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले डा.बीरेन्द्रसिंह गुरुङलाई कास्की जिल्ला क्रिकेट संघको जिम्मेवारी सुम्पिएपछि रंगशालाभित्र क्रिकेट मैदान बनाउने अभियान शुरु भएको थियो ।

रंगशालाभित्र होम अफ पोखरा क्रिकेटः
ढुं
गे क्रिकेट मैदानबाट अन्तराष्ट्रिय अवार्ड जितेको पोखरा रंगशालास्थित क्रिकेट मैदान झण्डै तीन दशकमा आईपुग्दा आकार लियो तर रुप खासै फेरिएन् । मैदान बन्यो तर केवल आकारमा मात्रै समेटियो । अन्य पूर्वाधारमा पभेलियनसहितको भौतिक संरचना अलपत्र अबस्थामा छ । २०६४ सालमा निर्माण शुरु गरिएको मैदान अन्तराष्ट्रियस्तरको आकार लिएर पनि उस्तै दयनीय अवस्थामै छ । हाल आर्चरी मैदान भएको स्थानमा क्रिकेट मैदानको लािग छनोट गरिएको थियो । तर पछि क्रिकेट मैदान र्आचरी मैदान भन्दा माथि सर्यो । गुरुयोजना अन्तर्गत माथि सरेपछि क्रिकेट मैदान संरक्षणसँगै निर्माण कार्य अघि बढेको थियो । कीर्तिपुरस्थिति टियु अन्तराष्ट्रिय क्रिकेट मैदानपछि सबैभन्दा बढी अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्ने अवसर पोखराकै मैदानले पाएको छ । अन्तराष्ट्रिय प्रतिस्पर्धा आयोजना गरिदैं आएपनि पूर्वाधार भने स्थानीयस्तरकै भन्दा पनि गएगुज्रेको छ ।

तीन तहको सरकार छ । स्थानीय, प्रदेश र संघीय सरकार बीच समन्वयको अभावले पनि खेलकुद पूर्वाधार रुमलिएको छ । पूर्वाधामा स्थानीय, प्रदेश र संघीय सरकार बीच समन्वयको खाँचो छ । एउटाको योजनालाई अर्कोले सपोर्ट नगर्ने परिपाटी छ । खेलकुदमा राजनीतिक नियुक्तिले पनि पूर्वाधार विकासमा प्रभाव पारेको ठम्याई छ । सरकार र कर्मचारी बीच समन्वय नहुदाँको पीडा योजनामा परेको प्रष्टै देखिन्छ ।
‘राजनीतिक पहँुचको अभाव, कर्मचारी र सरकार बीच समन्वयको कमजोरीले खेलकुद पूर्वाधार लगानी हुन सकेको छैन् ।’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा (२०६८—२०७२) बताउँछन् । आईसिसीले पोखरामा सेन्ट्रल क्रिकेट एकेडेमी बनाउन चासो दिएको थियो । तर केन्द्रीकृत मानसिकताले बन्न सकेन् । हाम्रो लागि दुर्भाग्य हो ।’ बजेट फ्रिज हुने समस्या छ । दुईवर्ष पोखरा क्रिकेट मैदानको लागि एक करोड रुपैयाँ छुट्टाइएको थियो । तर अन्त्यमा बजेट फ्रिज हुन पुग्यो । ‘मैदानको एक्सपोज अन्तराष्ट्रिय जगतमा पुग्यो तर मैदानको अवस्था उस्तै छ ।’

पोखरा रंगशालाको क्रिकेट मैदान बनाउन सरकारले १९ वर्षको अवधिसम्म आईपुग्दा एक करोड रुपैयाँ खर्चिएको छैन् । रंगशालाभित्र अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले चासो दिएसँगै काम शुरु गरिएको थियो । तर सरकारले पूर्वाधारमा भने खास ध्यान दिएको छैन् । दुई करोड रुपैयाँ भन्दा बढी प्यारापिटसहितको पूर्वाधार अहिले खण्डहरमा परिणतमा हुने अवस्थामा देखिन्छ ।

राष्ट्रिय खेलकुद परिषदले २०५९ साल मंसिर १३ गते नेपाल क्रिकेट संघलाई पत्राचार गर्दै मैदान निर्माणको स्वीकृति दिएको थियो । पत्रमा दक्षिणतर्फ एसओएस जानको बाटो, उत्तरपोखरा रंगशाला फुटबल मैदानको सिमानासम्म, पूर्व खेलकुद मैदानको माथिल्लो डिल र पश्चिम सेती नदीसम्म चारकिल्लाका जग्गाभित्र अन्य खेल प्रतियोगितालाई बाधा नपर्ने गरी क्रिकेट रंडशाला निर्माणको लागि स्वीकृति प्रदान गरिएको छ । त्यो स्वीकृतिपछि आवश्यक जग्गा छुट्टाइएको थियो । छुट्टाइएको जग्गामा नेपाल क्रिकेट संघले २०६४ सालमा तत्कालिन कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष डा. बीरेन्द्रसिंह गुरुङको अध्यक्षतामा समिति गठन गर्दै निर्माणको काम अघि बढाएको थियो । तत्कालिन समितिमा संघका सचिव देवेनसन प्रजु, शिक्षासेवी अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लालचन लगायतको सक्रियतामा बर्तमान क्रिकेट मैदानले आकार लिएको हो । शुरुवातमा मैदान बनाउन नेपाल क्रिकेट संघले २७ लाख रुपैयाँ खर्चिएको थियो । केही श्रमदान रह्यो । समिति अहिले पनि सक्रिय छ । समितिको खातामा केही रकम अझै मौज्दात छ ।

२०६८ सालमै निर्माणकै क्रममा राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाईएको थियो । २०७० सालमा अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन जाने राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प पोखरामै शुरु गरिएको थियो । अन्तराष्ट्रिय प्रतिस्पर्धा गराउने भेन्युको अवस्था विडम्बनायुक्त छ । ‘राज्यले छुट्टाएको बजेटले एउटै खेलमैदानमा लगानी गर्नुपर्छ । अर्को वर्ष अर्को ठाँउमा लगानी गरेर पूर्वाधार विकास हुन्छ नत्र थोरै बजेट दिदाँ काम सबैजसो आधाआधीमै रहन्छ’ तत्कालिन नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमटा सम्झन्छन्–‘लगानी भएका मैदान मर्मत सम्भार नै हुदैन् । त्यसले गर्दा लगानी गरेको खासै प्रभावकारी देखिदैन् ।’

परिषदले मैदानको लागि २०६८ देखि २०७२ सम्म तत्कालिन जिल्ला खेलकुद विकास समितिमा सुमन देवकोटा र तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोईरालाको अगुवाईमा उपलब्ध गराईएको १३ लाख रुपैयाँ सम्याउने काम गरिएको थियो । माटो भरियो । फेरी १० लाख रुपैयाँ क्रिकेट मैदानलाई बजेट छुट्टियो । त्यो १० लाखले पानीको पाईप जडान गरिएको थियो । त्यस लगत्तै आर्थिक वर्षको असार मसान्तभित्र काम गर्ने गरी २५ लाख रुपैयाँ उपलब्ध गरायो । जसले तारजाली(फेन्सिङ)लगाउने काम भएको थियो । परिषद बाहेक क्यान र स्थानीयस्तरमै जुटाइएको सहयोगबाट मैदान निर्माण गरिएको थियो । ‘स्थानीय तहले समेत खेलकुद पूर्वाधार मर्मत सम्भार गर्ने तर्फ चासो र ध्यान पुर्याउनुपर्छ’ । ‘लगानी मात्रै होईन मर्मत सम्भार निरन्तर भईराख्नुपर्छ । त्यसको लागि स्थानीय तहले व्यवस्थापन गर्नुपर्छ ।’ क्रिकेटप्रेमीको साझा गुनासो छ ।

मैदानमा २०७५ सालमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आयोजना गरियो । जुन आयोजनासँगै केही कीर्तिमान बने । सन २०१५, ०१७ र ०१९ मा लगातार तीन वर्ष बेलायती मेलिब्रोन क्रिकेट क्लबसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण प्रतिस्पर्धा खेलिसकिएको छ । मलेसियाको राष्ट्रिय टोलीसँग नेपाली राष्ट्रिय क्रिकेट टोली र स्थानीय टोलीले दुई दिन मैत्रीपूर्ण खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमै खेलिएको थियो । ‘व्यस्त रहने मैदान भएपनि सरकारको लगानी भने उदेकलाग्दो छ’ क्रिकेटप्रेमीको गुनासो छ ।

१९ वर्षको अवधिमा मैदानमा खासै परिवर्तन भएको छैन् । ‘हिजो मैदान जस्तो थियो । अहिले पनि त्यस्तै छ । बाउण्ड्री बढाईयो । त्यो बाहेक उपलब्धी छैन् । साग आयोजना हुदाँ मेशिनरी सामान थपियो । त्यो नै उपलब्धी हो ।’ छ वटा पीच छन् । प्राक्टिसको लागि सागमा नेट्स थपियो । परिषदले दिएको २५ लाखले इनर फेन्सिङ शुरु गरिएको छ त्यो नै सबैभन्दा उपलब्धी मान्नुपर्छ । फेन्सिङ लगाउने कामको संयोजकको भूमिका भने क्रिकेट संघकै सदस्य कमल थापा र टिमले निभाएको थियो । आईसिसीको डेभलपमेन्ट प्रोजेक्ट गुमेसँगै पोखरा रंगशाला क्रिकेट मैदानले विकासको फड्को मार्न सकेन् । नेपालले क्रिकेटमा एकदिवसीय मान्यता पाएसँगै मैदान निर्माणले गति लिएको हो । यद्यपी पोखराको मैदानले अपेक्षाकृत परिवर्तन पाउन सकेको छैन् ।

प्रदेशको चासोः
देशमा संघीयता आयो । संघीयतासँगै प्रदेश सरकारले आफनै अन्तराष्ट्रियस्तरका रंगशाला निर्माण गर्ने अभियानको घोषणा गर्यो । पोखरामा पनि गण्डकी प्रदेश सरकारले अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने लक्ष्य लियो । लक्ष्य अनुसार प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको समयमा खाका कोर्र्दे आफनो नीति तथा कार्यक्रम हुदैं बजेटमा समावेश गर्यो । केवल बजेटमा मात्रै समेटियो । मैदान निर्माणले भने पूर्णता पाएन् ।

प्रदेश सरकारले क्रिकेट मैदान बनाउन मैदानको लागि सरकारी जग्गा खोज्न शुरु गर्यो । प्रदेशका एघारवटै जिल्लामा टोलीले अध्ययन गर्यो । अध्ययन पछि पोखरा ३३ स्थित पशुपतिघाट स्थित सार्वजनिक जग्गा प्राप्त गर्यो । १७५ रोपनी क्षेत्रफलको जग्गा भोगाधिकार हुने गरी सम्पूर्ण व्यवस्था मिलाईयो ।

भोगाधिकार प्राप्त जग्गामा क्रिकेट मैदान बनाउन सामाजिक विकास मन्त्रालय अन्तर्गतको विज्ञ टोलीले अध्ययन अनुगमन गरेको थियो । मैदान बनाउन आवश्यक डिपिआर समेत तयार गरियो । डिपिआर बनेपछि लगानी गर्ने तयारी रहँदा सेतीको कटानले समस्या सृजना गर्यो । “डिपिआर तयार गरियो । तर नदी कटानले समस्या देखिएपछि मैदान निर्माण काम बन्द हुन पुग्यो ।” सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखा प्रमुख प्रकाश देवकोटा बताउँछन् । डिपिआको लागि प्रदेश सरकारले २० लाख रुपैयाँ खर्च गर्यो ।

पशुपतिघाटमा क्रिकेट मैदान बनाउन मन्त्रालयले नै च्याप्टर क्लोज गरेपछि नयाँ ठाँउमा जग्गा खोजी अभियान फेरी शुरु गरियो । तनहुँको शुक्ला गण्डकी नगरपालिकामा बनाउने तयारी भएपनि जग्गा विवादले ठोस काम हुन सकेन् । विद्यालयको जग्गामा मैदान बनाउने विषयमा देखिएको विवादले छुट्टाइएको बजेट समेत कार्यान्वयन नभएको उनको भनाई थियो । त्यहाँ पनि प्रदेश सरकारले झण्डै १० लाख रुपैयाँ खर्च गरिसकेको छ । “नगरपालिकाले ४० लाख र प्रदेश सरकारले पनि ४० लाख रुपैयाँ छुट्टाएका थियौं ।” उनी सुनाउँछन—“तर जग्गा विवादले समस्या सृजना भयो ।” अन्य ठाँउमा जग्गा प्राप्तीको समस्याले पनि क्रिकेट मैदान बनाउन असहज भएको हो ।

प्रदेश सरकारले प्रदेश सभास्थल नबन्दासम्म पोखराको नदीपुरस्थित नगरप्रशिक्षण केन्द्रको मैदानलाई क्रिकेट मैदानको रुपमा उपयोग गरिएको थियो । आवश्यक क्रिकेट पीच निर्माण गरी महिला तथा पुरुषका राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । प्रदेश सभास्थल बनाईपछि क्रिकेटका गतिविधि पूर्णरुपमा बन्द हुन पुग्यो । प्रदेश सरकारले अन्य विकल्प नपाएको अवस्थामा प्रशिक्षण केन्द्रको मैदानलाई क्रिकेट मैदान बनाउन उपयुक्त ठहर हुने विश्वास क्रिकेटप्रेमीले गरेका छन् ।