कराँते प्रतियोगितामा पुरुष तर्फ धनुषा र महिला तर्फ कास्की च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा, २ माघ – १७ औं राष्ट्रिय माछापुच्छरे क्योकुशिन बुदोकाई कराँते प्रतियोगितामा खुल्ला तौल समूहमा पुरुष तर्फ नेपाली सेनाका शनिसिंह सुनार र महिला तर्फ कस्कीकी पवित्रा चौधरीले उपाधि जितेका छन् । माघे संक्रान्तिको अवसरमा ढुंगेसाँघुको मेलामा आयोजित प्रतियोगितामा गोविन्द रोका र गणेश अधिकारी क्रमश द्धितीय र तृतीय भए । महिला खुल्ला तौलमा काठमाडौंकी अन्जना ढुंगेल र कास्कीकी दिक्षा गुरुङले रजत र कास्यपदकमा चित्त बुझाए ।
६०केजी तौल समूह पुरुष तर्फको प्रतिस्पर्धामा कास्कीका दिपक आचार्यले स्वर्ण, कास्कीकै सनम भुजेलले रजत र बाग्लुङ र काठमाडौंका नविन सुवेदी र विक्रम विसीले कास्य पदक जिते । त्यस्तै ५५ केजी तौलमा सर्लाहीका विश्व लामाले स्वर्ण जित्दा धनुषाका मोहम्मद नेहाल स्वाफीले रजत पदक जिते । कास्कीका सौगात शर्म र सोमबहादुर बुढाले कास्यमा चिक्त बुझाए ।
५० केजी तौल समूहकै पुरुष तर्फको प्रतिस्पर्धामा सर्लाहीका प्रवीण माझीले स्वर्ण पदक जिते । धनुषाका रन्जित राठौरले रजत पदक तथा कास्कीका धिरज परियार र विनोद नेगीले कास्य पदकमा नाम लेखाए । ४५ केजी तौलमा नेपाली सेनाका राजुकमार यादव प्रथम, धनुषाका ध्रुव मण्डल दोस्रो र कास्कीका मनोज कुमाल तेस्रो भए । ४० केजी तौलको भिडन्तमा धनुषाका मोहम्मद अफताब खाँले स्वर्ण जिते । पर्साका श्रवणकुमार यादवको नाममा भने रजत लेखियो । ३५ र ३० केजी तौल समूहमा पनि धनुषाका खेलाडीले स्वर्ण पदक जितेका छन् ।
यसैगरी महिला तर्फको प्रतिस्पर्धामा ५० केजी तौलमा मनिषा तामाङले स्वर्ण, कास्कीकै सुनिता तामाङले रजत र सर्लाहीका अप्सरा विक र वितिसा शर्माले कास्य पदक जिते । ४० केजीमा कास्कीकी सगरम कुमाल, सविना गुरुङ, सविता पौडेल र सदिक्षा कुमालले स्वर्ण, रजत र कास्य पदक जित्न सफल भए । प्रतियोगितामा पुरुष तर्फ धुनषाका मोहम्मद अफताब खाँ र महिला तर्फ सविता पौडेल उत्कृष्ठ खेलाडी घोषित भए । विजेता खेलाडीहरुलाई नेपाल क्योकुशिन बुदोकाई कराँतेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदी, आईएनएफ प्रतिनिधि दिपेन्द्र पहारी, पानारोमा टुर्स एण्ड ट्राभल्सका विजय क्षत्री, क्योकुशिन बुदोकाई कराँतेका केन्द्रीय अध्यक्ष कपिल लोहनी, क्योकुशिन बुदोकाई कराँतेका प्रश्चिमाञ्चल प्रमुख दिपकबहादुर गोदार, पुर्व राष्ट्रिय राष्ट्रिय निर्मल पहारी, तथा नुवाकोट क्योकुशिन बुदोकाई कराँतेका अध्यक्ष डिबी तामाङ लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।